‘मुन्दुम पदमार्ग’ नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ।
पूर्वी नेपालका खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्यले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ स्थापित भएको हो। विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइँमा पर्ने पर्यटकीय गन्तव्य हो, ‘मुन्दुम पदमार्ग’।
यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरू भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ। जुन बाटो गयो त्यही बाटो फर्किंदा जम्मा ९ दिन पदयात्रा हुन्छ।
र्फकने बेला मैयुङबाट सुन्तले हुँदै भोजपुर बजार पुगिन्छ। पदमार्गका चखेवा भञ्ज्याङ, धोत्रे र साल्पा भञ्ज्याङमा सामान्य खाना र बास सुविधा छ। त्यसैले हालका लागि यो क्षेत्रमा क्याम्पिङ ट्रेक गर्नुपर्ने देखिन्छ। पदयात्रा सुरु गरेर अघि बढ्दा बास बस्नका लागि चखेवा भञ्ज्याङ, धोत्रे भञ्ज्याङ, सातदोबाटे, रावाधामप, साल्पा भञ्ज्याङ उपयुक्त ठाउँ हुन्। त्यस्तै र्फकने बेला हयाकुले, मैयुङ डाँडा र भोजपुर बजारमा बास बस्नुपर्छ।
अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटका मनोरमदृश्य अवलोकन गर्दै यात्रागर्नु यस पदमार्गको एउटा विशेषता हो। उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनङघा, कुम्भकणर्लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ।
त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडिगोठ, लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ। यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातीको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने आर्गानिक खानेकुरा, विभिन्न किसिमका वन वनस्पति, जडीबुटीलगायत स्वाद लिन सकिन्छ। नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो, यो।
किराँत राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ। नेपाल सरकारले छनोट गरेको घुम्नै पर्ने १०० पर्यटकीय क्षेत्रमा सूचीकृत पर्यटकीय क्षेत्र पनि हो।
प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक आउने गरेका छन्। यो पदमार्गमा आन्तरिकसँगै जापानीज, अमेरिकन, स्वीसलगायतका देशका पर्यटकले यात्रा गरिसकेको टेम्केमैयुङ गाउँपालिकाका मुन्दुम पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिए।
यहाँको पयर्टकीय क्षेत्रको सम्भावनाको अध्यन गर्न पर्यटक विज्ञहरुलेसमेत यात्रा गरिसकेको अध्यक्ष राईले बताए। उनले भने, ‘यो पदमार्ग नेपालको एउटा प्राकृतिक सौदर्यताले भरिएको पदमार्ग हो। देशमा यति धेरै प्राकृतिक विशेषताले भरिपूणर् यस्ता भर्जिन पदमार्ग कमै छन्। प्राकृतिक सुन्दरमा रमाउँदै यात्रा गर्नेको लागि यो मार्ग पहिलो रोजाइँमा पर्दछ।’ उनका अनुसार विभिन्न देशबाट पनि पर्यटक आउने क्रम जारी छ। कोरोना भाइरस सङ्क्रमणका कारण धेरै पर्यटक आउन सकेका छैनन्। अवस्था सामान्य बन्नासाथ यहाँ धेरै पर्यटक आउने तयारीमा छन्। यसले नेपालसँगै अन्तर्राष्ट्रियस्तरमा समेत छवि बनाएको छ।
नेपालको प्राकृतिक सम्पदाको रुपमा विकास गर्न सरकार लागि परेको अध्यक्ष राईले जानकारी दिए। नेपालमा विदेशी पर्यटक पैदलयात्राका लागि आउने भएकाले यस्ता पदमार्गलाई सडक विस्तारले असर गरेको उनको भनाइ छ। ‘यसलाई प्राकृतिक सम्पदाका रुपमा विकास गर्न सरकारसँगै हामी लागेका छौँ। नेपालमा आउने पर्यटक पैदलयात्रा गर्नका लागि आउने हो, तर यस्ता पदमार्गलाई सडक विस्तारले ठूलो असर पुर्याउने अवस्था छ। यो एउटा चुनौतीको रुपमा थपिएको छ’, उनले भने। यो पदमार्गलाई सप्तकोशीदेखि सगरमाथाको वेस क्याम्पसम्ममा विस्तार गर्न सकिने उनको भनाइ छ।
पर्यटकीय हिसाबले पैदलयात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्बन्धित विज्ञहरुको भनाइ छ। प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र विश्वमै कम दृश्यावलोकन गर्न सकिने भएकोले प्रमुख पदस्थलका रुपमा स्थापित हुने गाउँपालिकाको भनाइ छ।
पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइ’ आकारमा निर्माण भइरहेको छ। यो पदमार्ग भोजपुर र खोटाङको सिमाना तावा भञ्याङ- चखेवा भञ्याङ- धोद्रे-हाँस पोखरी-तारा खसको -बलौटे भञ्याङ- लौरी भञ्याङ- निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते- पखुवा भञ्याङ- बाघखोर- सुन्तले- बाघखोर हुँदै भोजपुर नगरपालिका- १० भैँसीपङखाको साम्पाङ चोकमा आएर टुङगिन्छ।
हेर्नुहोस् तस्बिरहरू