नेपालीहरुको महान चाड शुभ दीपावलीको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापती समुदाय पाला बनाउन व्यस्त भएका छन् ।
तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापती समुदाय व्यस्त भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापती समुदायलाई फुर्सद छैन ।
परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग आएपछि सो समुदायलाई अहिले भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतीले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले माटोका भाँडा बनाउन व्यस्त छन् ।
भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भएपनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा धेरै मानिसहरू पुग्ने गर्छन् । तिहारका लागि अधिक माग हुने दियो र पालाको माग बाहिरि जिल्लाहरुबाट पनि अत्याधिक आइरहेको स्थानीयहरुले बताए ।
अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढेको उनीहरुको भनाइ छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् ।