बादलुको घुम्टोभित्र लुकेर बसेको छ, बराहताल र निस्कोट गाउँ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँ आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ । वसन्तुु ऋतुसँगै पालुवा पलाएर हरियाली बढ्दै गएको छ । भिरालो, अग्ला डाँडा र पहाड तथा खोँचमा छरिएर बसेको निस्कोट गाउँको शिरमा बराहताल पर्दछ ।
घना वन जङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । हेर्दा निकै आकर्षक, सुन्दर अनि मनमोहक लाग्ने बराहतालले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ ।
पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखा नै अगाडि सेताम्मे हिमाल देखिने निस्कोटको बराहताल पर्यटकहरुको पर्खाइमा छ । मौसम खुलेको समयमा देखिने हिमालको दृश्यसँगै बराहतालमा पौडी खेल्न मिल्ने यसको थप आकर्षण हो ।
झन्डै २ रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।
बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गूर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने सकिन्छ ।
बराहतालमा वन जङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब समेत आकर्षक अनि मनमोहक देखिन्छ । हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई रोमाञ्चित बनाउँछ ।