दिउँसो करिब १ बजेतिर म आइपुगेको छु भरतपुर महानगरपालिका, वडा नम्बर–१८ गुञ्जनगरमा।
भरतपुर–मेघौली सडकको मिलनचोकबाट उत्तर लागेर रेसुंगा कृषि फार्म हुँदै अघि बढ्दा मेरो नजर मेवाबारीमा पुग्यो। कालोपत्रे सडकसँगै जोडिएको खेतमा लटरम्म मेवा फलेको देख्दा भित्र नपसी अघि बढ्न मनै मानेन।
गाडी रोकेर मेवाबारी पुग्दा दुई युवा मेवासँग सेल्फी खिच्दै थिए। दुईमध्ये एक थिए, सुसनसिंह केसी।
सुसन र अन्य चार जना युवा मिलेर सञ्चालनमा ल्याएको मेवाबारी रहेछ यो। सुसन वन विज्ञानका विद्यार्थी हुन्। उनले हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानबाट स्नातक गरेका रहेछन्।
मैले सोधेँ, ‘यो त पढाइ एकातिर, व्यवसाय अर्कोतिर भएन र?’
उनले वन विज्ञान पढे पनि एक जना आफन्तले गरेको मेवा खेतीबाट प्रभावित भएर समूहमा खेती सुरू गरेको बताए।
‘सानैदेखि नयाँ केही गरौं भन्ने सोच थियो, मामा गणेश भुसालले पश्चिम चितवनमा सुरू गरेको मेवा खेतीले मलाई प्रभावित बनायो। वन विज्ञान पढेर के भयो त, मेवा खेतीमा राम्रो सम्भावना छ भने यसैमा हात हाल्छु भन्ने लाग्यो,’ उनले भने, ‘सरकारी जागिर बुबा, दिदीहरूले पनि गरे। त्योभन्दा नयाँ गरौं जसले युवालाई प्रेरित गरोस् भनेर यता लागेँ।’

सुसन अहिले २५ वर्ष पुगेका छन्। उनीसँग सहकार्य गर्ने अरू पनि ३२ वर्षभन्दा तलकै छन्। कोही बैंकर, कोही चार्टर एकाउन्टेन्ट, कोही सूचना प्रविधिका विज्ञ छन्। सुसनले खेत हेर्छन्, अरूले बजार।
उनीहरू सबै गुल्मीको मदाने गाउँपालिका–७ का हुन्। मेवाका लागि घाम र उच्च तापक्रम चाहिने भएकाले उनीहरूले मेवा खेतीका लागि चितवन उपयुक्त ठाने।
गुञ्जनगरमा तीन बिघा जमिन भाडामा लिएर २०७७ फागुनबाट उनीहरूले मेवा खेती सुरू गरेका थिए। ताइवानी बीउ ल्याएर मेवा खेती सुरू गरेको सुसनले बताए।
‘बीउ ल्याएर जमायौं, बिरूवालाई ड्याङमा मिलाएर रोप्यौं,’ उनले भने, ‘दसैंपछि त उत्पादन बेच्न पनि थालिसक्यौं।’
उनका अनुसार बीउ जमाएको ४० देखि ५५ दिनभित्र बिरूवा रोप्न योग्य हुन्छन्। रोपेको ५ देखि ६ महिनामा उत्पादन दिन सुरू हुन्छ। ‘यस वर्ष ठूलो वर्षा भयो, त्यसैले स्तरीय मेवा टिपेर बजार पुर्याउन ढिलो भयो,’ सुसनले भने, ‘दसैंपछि मात्र बजार पठाउन थालेका छौं। अहिलेसम्म चार लट मेवा बजार पुग्यो।’
चारपटकमा ६ टन मेवा बजार पुगेको उनले बताए।
उनीहरूको लक्ष्य अबको चैतसम्म २० हजारवटा मेवा तयार गरेर बिक्री गर्ने छ। ‘हाम्रोमा एउटै मेवा ४ केजीसम्मको पनि फलेको छ। औसतमा प्रतिगोटा २ केजी मान्दा ४० हजार केजी मेवा हामी यो वर्ष बजार पठाउँछौं,’ उनले भने।
बजारमा मेवाको मूल्य केही समय अघिसम्म प्रतिकिलो ८० रूपैयाँसम्म थियो। अहिले केही घटेको छ।
‘हालकै मूल्य आसपासमा बिक्री भए पहिलो वर्षमै लगानी उठ्छ,’ उनले भने। पाँच जनाको समूहले २५ लाख रूपैयाँ जुटाएर व्यावसायिक मेवा खेती सुरू गरेको थियो।
एकपटक रोपेको बिरूवाले दुई वर्षसम्म फल दिन्छ। त्यसपछि फेरि बीउ जमाएर नयाँ बिरूवा रोप्नुपर्छ। धेरै वर्षा भयो भने मेवामा ढुसी लाग्ने समस्या हुन्छ। यसपालिको वर्षाले मेवा रोपिएको पाँचवटा प्लटमध्ये एक प्लटको ५० प्रतिशतमा क्षति पुगेको सुसनले सुनाए।
यसबाहेक पपैया मोजाइक भाइरस, रिङस्पट भाइरस लगायतले पनि खेतीमा समस्या निम्त्याउन सक्ने भएकाले सधैं सजग बन्नुपर्छ।

मेवा खेतीको विषयमा कुराकानी गर्दै सुसनले आफ्नो बगान डुलाए, खेती गर्ने तरिका बताए, मेवा खेतीबाट हुने फाइदाबारे सुनाए अनि यसमा देखिएका चुनौतीबारे बताउन थाले।
‘नेपालमा अहिले भारतबाट आयात हुने मेवाले बजार कब्जा गरेको छ। व्यापारीहरू हामीले उत्पादन गरेको मेवा सकेसम्म किन्नै चाहँदैनन्,’ उनले भने, ‘उनीहरूलाई भारतकै मेवा बेच्ने बानी परिसकेको छ।’
भारतबाट आउने मेवा झट्ट हेर्दा राम्रो देखिने र सस्तो पनि पर्ने भएकाले व्यापारीदेखि उपभोक्तासम्मले त्यही मेवा मन पराउने गरेका छन्। ‘तर भारतबाट मेवा कसरी आउँछ भन्ने उनीहरू ख्याल गर्दैनन्,’ उनले भने, ‘भारतबाट काँचो मेवामा इथालिन नामको औषधि हालेर पठाइन्छ। राम्रो देखिए पनि त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन।’
नेपाली मेवामा त्यस्ता हानिकारक औषधि प्रयोग नगरिने भएकाले फाइदाजनक रहेको सुसन बताउँछन्।
मेवालाई बजार लैजाने क्रममा बिचौलियाले सताउने गरेको उनले बताए। ‘हामीले कति लागत लगाएर उत्पादन गर्यौं भन्ने मतलब हुँदैन, बिचौलियाहरू आफूखुसी रेट लगाउँछन्,’ उनी भन्छन्, ‘भारतीय मेवा सस्तोमा पर्याप्त आइरहेको छ भन्दै त्यहीअनुसार रेट तोक्छन्।’
बोटहरूमा लटरम्म मेवा फल्न थालेपछि बजार पुग्दा उनीहरूलाई व्यापारीले वास्ता गरेनन्। पछि उनीहरूले यहाँ खेती सुरू गरेदेखि उत्पादन हुँदासम्मको फोटो र भिडिओ व्यापारीलाई देखाए। सायद ती फोटो र भिडिओले उनीहरूको मन पग्लियो। बिक्री भएपछि पैसा दिने भनेर मेवा मगाए।
‘त्यसपछि हामीले उत्पादन भएको मेवा पठाउँदै आएका छौं। उपभोक्ताको माग भएरै त होला अर्डर पनि आइरहेको छ,’ सुसनले भने।
मेवाको माग होटलमा सलादका लागि धेरै हुने गरेको छ। घर–घरमा पनि मेवा खपत हुन्छ।

खेती सुरू गरेको दिनदेखि खेतमै खट्दै आएका सुसन नेपाली मेवाको बजार बनाउन सरकारको सहयोग आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, ‘हामी उत्पादन बढाएर मेवामा आत्मनिर्भर बन्न सक्छौं तर बजार सुनिश्चितताका लागि सरकारको सहयोग चाहियो। हामीलाई अनुदान चाहिँदैन, बिचौलियालाई कम खेल्ने ठाउँ दिनुपर्यो।’
नेपाली उत्पादनको न्यूनतम र अधिकतम मूल्य तोकेर किसानलाई घाटा लाग्नबाट बचाउन सरकारको सहयोग आवश्यक पर्ने उनले बताए।
सुसनका धेरै साथीहरू पढाइ सकेर विदेशिएका छन्। उनलाई भने विदेशिन मन लागेन। यहीँ बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउने रहर भयो।
‘अबको हाम्रो लक्ष्य भनेको नेपालमै उत्पादन बढाएर भारतीय मेवालाई विस्थापित गरौं भन्ने छ,’ उनले भने, ‘सानैदेखि भारतीय मेवा खाएर बस्यौं, अब सारा नेपालीलाई स्वदेशी उत्पादन खुवाउनुपर्छ भन्ने अभियान हाम्रो छ।’
कुराकानीको बिट मार्दै सुसनले मेवा काटे। स्वादिलो मेवा खाएपछि मलाई केही घर लैजान मन लाग्यो।
प्रतिकिलो ८० रुपैयाँमा दुई किलो मेवा किनेर विदा भएँ।
सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी
.jpg)