कास्की। कास्कीको पर्यटकीय क्षेत्र हो मर्दी हिमाल। आँखै अगाडि ठोक्किने गरी हिमाल हेर्न यहाँ मानिसहरुको ओइरो लाग्ने गर्छ। घाम लाग्दा बादल माथिको मर्दीको रुप झनै मनमोहक देखिन्छ।
मर्दीको काखैमा रहेको आधार शिविरबाट वरपर हेर्दा त्यहाँ पुग्दाको थकाई मेटिन्छ। यहाँ पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा ९ वटा, बादल डाँडामा ६ वटा होटेल संचालनमा छन्।
पाँच हजार ५८७ मिटरको मर्दी हेर्न पुग्दा त्यहाँबाट माछापुछ्रे हिमाल पनि मजाले हेर्न सकिन्छ।
छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ। छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ। कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृश्यावलोकन गरी त्यहीँबाट फर्कने गर्दछन्।
हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छेसँगैको मर्र्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गका रुपमा विकास गरिएको छ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ। त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ।
कात्तिकको अन्तिम हप्तामा मर्दी क्षेत्रमा देखिएको दृश्य यस्तो थियो।
सबै तस्बिरहरू- चित्रबहादुर गुरुङ