अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् ।
नेपालमा आएका पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आएकै हुन्छन् । पोखरा त्यतिकै पोखरा भएको होइन । पोखराको ट्रेडमार्क नै हो फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ । हिमाली शृंखला, हिमाल र पोखरासँग धेरैथरी विशेषता जोडिएका छन् । पोखराबाट माछापुच्छे« हिमालसम्मको हवाई दुरी ३३ किलोमिटर मात्रै छ ।
यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ । संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ वटा पोखराबाटै देख्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला चुचुरा हुन् । पोखरामा फरक—फरक स्वादमा घुन्न पाइने ठाउँ छन् ।
पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ्रे हिमालको प्रतिविम्ब तालमै पौडी खेलेको देख्न सकिन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन । डुङ्गा चढेर तालवराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । पोखरामा फेवाताल मात्रै नभएर अर्को सुन्दर ताल बेगनास पनि छ । त्यसैगरी पोखरा उपत्यकामा अरु ताल पनि छन्—कमल, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी । यी तालका आआफ्नै विशेषता छन् ।