अग्लो र भिरालो पहाड। पहाडको टुप्पोबाट बग्ने झरना। त्यहीँ भिर तथा पहराको सहारामा बगेको झरनाको चिसो पानी।
पहरोमा लडीबुडी खेल्दै बगेको झरना हेर्दा र त्यसको आवाजले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउँछ।
झरनाको फेदीबाट माथि हेर्दा सिरमा लगाएको टोपी र ओढेको पछ्यौरी भुइँमा खसेको पत्तो हुँदैन। यस्तो आकर्षण बोकेको झरना उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्छ। यसलाई स्थानीयवासीले नारच्याङ झरना भनेर नामाकरण गरेका छन्।
पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ।
समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ। नारच्याङ गाउँमा मानव बस्तीभन्दा धेरै पहिलेदेखि नै त्यस ठाउँमा झरना रहेको स्थानीयहरुको अनुमान छ।
आफ्नै खालको विशेषता बोकेको यस झरनामा म्याग्दी, बागलुङ, मुस्ताङ र पोखरासहित देशका विभिन्न स्थान र विदेशबाट पर्यटकहरु आउने गरेका छन् । बेनी–जोमसोम–कोरला राजमार्गबाट पनि सहजै देखिने तथा नजिकमा पर्ने भएकाले अधिकांश पर्यटकहरु नारच्याङ झरनामा पुगेर रमाउने गर्दछन्।
पर्यटकलाई लक्षित गरेर नारच्याङ गाउँमा होमस्टे समेत सञ्चालन गरिएको छ। नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर बनाइएको छ।
झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप रौनकता थपिदिएको छ। वर्षको एकपटक भुमेथानको मन्दिरमा पूजा गर्ने गरिन्छ। यो मन्दिरमा बोका र कुखुराको भालेको बलि दिइन्छ। मन्दिरमा भाकल तथा पूजा गरेमा मनोकामना समेत पूरा हुने जनविश्वास रहिआएको छ।
नारच्याङको बेंसी गाउँको शिरमा अवस्थित नारच्याङ झरनाको महत्व र विशेषताहरु छुट्टै खालका छन्। यसले बेँसी गाउँलाई सितलता प्रदान गर्नुका साथै सिँचाई र खानेपानीको आपूर्तिमा सहयोग पुर्याइरहेको छ। त्यस्तै ‘साइटसिन’को पनि मज्जा लिन सकिन्छ ।
हेर्नुहोस् तस्बिरहरू