कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकास्थित मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको उत्कृष्ट क्षेत्र हो।
यो कालीकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारण पनि चर्चामा छ।
समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषता हुन् ।
त्रिवेणी पाटनलाई यहाँ त्रिवेणी धाम नै मानिन्छ। हजारौँ भक्तजन वर्षेनी त्रिवेणी पाटन हुँदै बडिमालीका दर्शनमा जान्छन्। कालिकोट र बाजुराको सीमा क्षेत्रमा रहेको बडिमालिका मन्दिर दर्शन गर्न भक्तजनहरू एक दिन एक रात त्रिवेण धाममा बास बसेर जाने गरेका छन्।
पाटनबाट तीनवटा मुहान फुटेर तीनवटा खोला बनेपछि तीन खोलाको संगम हुँदा यसको नाम त्रिवेणी रहन गएको स्थानीयहरू बताउँछन्। यहाँ स्नान गरेपछि बढीमालिकाको दर्शन गर्न जाने चलन छ।
त्रिवेणी पाटन प्राकृतिक रुपले भन्दा धार्मिक रुपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।
त्रिवेणी पाटन झलक्क हेर्दा बगैँचाजस्तो देखिन्छ। यहाँ विभिन्न प्रजातिका वनस्पति चराचुरुङ्गी छन्।
त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला लाग्ने गर्छ। मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गर्छन्।
त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन्। यस क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट क्षेत्रमा र २० वटा बाजुरा क्षेत्रमा पर्छन्।
यस पाटनको आकर्षण भनेको जङ्गली जनावर पनि हुन् । कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु पाइन्छन्।
जडिबुटीका लागि समेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ। यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ। त्रिवेणी पाटन,आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन नसक्दा यस क्षेत्र ओझेलमा छ।