विश्वको आठौं अग्लो र नेपालको सातौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन्। यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो ।
पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर) सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण अनुमति लिएका छन्। यसमा सबैभन्दा बढी आरोही मनास्लु आरोहणमा आएका छन्।
विभागको पर्वतारोहण शाखाको भदौ २३ गतेसम्मको विवरणमा मनास्लु आरोहणका लागि मात्रै ३५ आरोही समूहका ९१ महिला र २९२ पुरूषसहित कूल ३ सय ८३ आरोहीले आरोहण अनुमति लिएका छन्।
शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ।
शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन्।
सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ। सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए।
विस २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो। उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्व बजारमा थप प्रवद्र्धन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
पर्यटन विभागले जारी गरेको पछिल्लो आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ अनुसार सगरमाथा, धौलागिरि (८,१६७ मिटर) लगायत हिमाल र पिक आरोहण गर्न हालसम्म ४५ मुलुकका ५४ महिला तथा एक सय ८३ पुरुष गरी कूल दुई सय ३७ आरोही नेपाल आएका हुन्।
सबै तस्बिरः कामिरिता शेर्पा