सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन ।
यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेहरूको चहलपहल हिजोआज बढेको पाइन्छ । परापूर्वकालमा यो क्षेत्रमा बाघ पाइने गरेका कारण यसको नाम बाघझोडा सिमसार रहन गएको स्थानीयवासीहरूको मत रहेको छ ।
बार्है महिना पानीको दुःख नहुने तथा कहिल्यै नसुक्ने सिमसार क्षेत्र भएकोले अहिले यहाँ ठूलाठूला पोखरीसमेत निर्माण भएका छन् । यसबाट खेती किसानका लागि सिँचाइमा पनि मद्दत पुगेको छ । यस क्षेत्रलाई अझै राम्रो विकास गरेर निर्माण भएको ताल जस्तै सुन्दर पोखरीमा डुङ्गा सयरको व्यवस्था गर्न सके राम्रो आम्दानी गर्ने सकिने स्थानीयवासीहरू बताउँछन् ।
बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको खोर्साने बजारबाट करिब एक किलोमिटर उत्तर लागेपछि पुगिन्छ । व्यवस्थित सडकमा साना सवारीसाधन प्रशस्तै पाइने भएकाले यहाँ सजिलै पुग्न सकिन्छ । यहाँ बस्नका लागि आरामदायी पुरानो कला र सीपद्वारा निर्माण भएका काठका फलैँचासमेत बनाइएको छ ।
यस स्थानमा किराँत राई यायोक्खा साकेला थानसमेत रहेको छ । यो थान २०५३ सालदेखि स्थापित छ । यहाँ दुर्लभ माछा, कछुवा, चराचुरूङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् । सिमसारमा अहिले दुरूस्त बाघको प्रतिमा निर्माण भएसँगै यहाँ रमाउनेको लागि आकर्षण थपेको छ ।
बाघझोडामा हात्ती, डाइनोसरको विशाल प्रतिमालगायत विविध खेल समाग्री निर्माण भएका छन् भने अहिले कटेजहरु समेत बनेको देख्न सकिन्छ ।
हरेक वर्ष विभिन्न स्थानबाट मान्छेहरु वैशाख महिनामा मेला भर्न पनि बाघझोडा आउँछन् । बाघझोडा पुगेर जङ्गल, सिमसार र पोखरीको एकै साथ आकर्षक दृश्य देख्न सकिन्छ ।
विविध कारणले पछि परेको यो सिमसारको अहिले भने केही विकास र सुधार भएको अवस्था छ । यहाँ अहिले बाघझोडा पोखरी संरक्षण एवं सम्वद्र्धन समितिले विविध काम गरिरहेको छ । सिमसारलाई अझै व्यवस्थित र विकास गर्न स्थानीय र प्रदेश सरकारले केही राम्रो बजेट छुट्ट्याउनुपर्ने सिमसार संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए ।
बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको पहिचान तथा गहना भएकाले यसको विकासका लागि राम्रो गुरुयोजना बनाएर राज्यको समेत ध्यानाकर्षण गरी सिमसारलगायत अन्य पर्यटकीय क्षेत्रको हित तथा सुधारका पहल भइरहेको सराेकारवाला निकायहरु बताउँछन्।