प्रिय शताब्दी घर,
‘कालिगण्डकी बचाऊ’ अभियानका एकल अभियन्ता आरके अदिप्त गिरिको फेसबुकमा ‘सभ्यता, संस्कृति र कलाको अनुपम संगम, शताब्दी घरमा सबैलाई हृदयदेखि स्वागतम्।’
८ साउन २०७९ मा यस्तो लेखेसँगै तिमीलाई भेट्न, तिम्रो सुन्दर कलात्मक ढंगले कुँदिएका झ्याल, ढोकाबाट चियाएर हेर्न उत्साहित थिएँ।
त्यहीँ तिम्रो सुन्दर काखमा बसेर केही दिन खेल्न मन लागिरहेको थियो। हो, तिम्रो आँगनमा लुकामारी खेल्दै कलात्मक बुट्टाले भरिएको बरन्डामा बसेर चियाको चुस्कीसँगै गीत गुनगुनाउने रहर जागिरहेको थियो।
मन मस्तिस्कमा तिमीलाई यति धेरै राख्नपुगेछु सताब्दी घर तिमीले मलाई प्रायः सपनामा पनि जिस्काइरहेकी थियौ। मलाई निम्तो दिइरहेकी थियौ।
करिब ३०० सय वर्षदेखि पर्वतकै विभिन्न सांस्कृतिक, परम्परा, भौतिक विकासका परिवर्तन र रूपान्तरणको एक्लो साक्षी बनेर आजसम्म जीवन्त रहेछौ शताब्दी घर तिमी। त्यसैले आतुर भईरहेँ तिमीलाई भेट्न। कुश्मा कला परियोजनाले तिम्रो मौलिकता झल्काउन झमर्को गर्दैछ। तिमीसम्म पुग्न समय मिलाउने प्रयास गर्दै थिएँ। नभन्दै संयोग मिल्यो।
सुरेन्द्र राना दाइले रोल्पाबाट योजना बनाउनुभयो। अमृत भादगाउँले दाइ पोखरा हुनुहुँदो रहेछ। म पनि हुत्तिए पोखरा हुँदै तिम्रो सुन्दर आँगनमा पुग्न।
उफ कस्तो गर्मी, काठमाडौंभन्दा पोखरा मलाई धेरै नै गर्मी लाग्यो। ३-४ घण्टा पोखरामा बिताउनुपर्ने थियो। गर्मी छल्न केही सोच्दै थिएँ गाडी लेकसाइड पुगिसकेछ।
लेकसाइडको मनोरम दृश्य नियाल्दै गर्मी छल्न प्रयासरत थिएँ तर सकिनँ। त्यसपछि हल्लनचोकस्थित ‘पोर्क स्टेशन’ गएर च्वाँचेको सेकुवासँग वियरको चुश्कि लगाएँ।
केही समयपछि भादगाउँले दाइको फोन आयो। उहाँ कुश्मा जान ट्याक्सी लिएर हल्लन चोकमै कुरिरहनु भएको रहेछ। त्यसपछि सुरू भयो हाम्रो कुश्मा यात्रा।
हाम्रो यात्रालाई कालीगण्डकी बचाउ अभियानका एकल अभियन्ता आरके दाइले सहजता गर्नुभएको थियो। नेपालकै सुन्दर पर्यटकीय नगरी पोखराबाट मध्य पहाडी लोकमार्गहुँदै पश्चिमतिर ट्याक्सी गुडिरह्यो। म थप उत्साहित थिएँ किनकि, शताब्दी घर तिमीलाई भेट्ने मेरो दूरी नजिकिँदै थियो।
अमृत दाइले पर्वत, बाग्लुङ, म्याग्दीलगायत ठाउँको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्वबारे जानकारी दिदै जानुभयो, म पनि एक जिज्ञासु बालक झै प्रश्न गर्दै गएँ।
बाहिर सिमसिम पानी परिरहेको थियो। दिन ढल्कदै थियो। कता पुग्यौ भनेर सुरेन्द्र दाइले तारन्तार मोबाइलमा फोन गरिरहनु भएको थियो। उता आरके दाइको पनि फोन आइरहेको थियो।
त्यतिखेर शताब्दी घर तिमीले पनि मलाई एउटा मायालुले आफ्नो प्रेमिकालाई बाटो कुरेर बसेझैं बसेकी होउली भन्ने भान भइरहेको थियो। मन गदगद थियो। त्यो तिम्रो आँखी झ्यालका नयनले पनि म आउने बाटो तिरै हेरिरहेकी होउली भनेर कल्पनामा थिएँ।
कुश्मा पुग्नै लाग्दा पानी झन बेस्सरी दर्कियो। कुश्माको मुख्य चोकबाट दायाँतिर अलि अगाडि गएर ट्याक्सी रोकियो। झरेर मेनरोडको थोरै अगाडि बढ्दा हामी तिम्रो बँगनमा पुगिसकेछौं।
तिम्रो आँगनमा पुग्ने बित्तिकै मनमा आनन्द छाइरहेको थियो। वर्षौको सपना पुरा भएजस्तो लाग्यो। त्यो अधेँरी रातमा तिमीले कुना काप्चाका चिम्न्नीबाट मधुरो उजालोले मलाई स्वागत गरिरहेकी थियौं। हो, त्यो जुनेली रातमा तिमी धपक्कै बलेकी थियौ शताब्दी घर। तिम्रो त्यो सुन्दरताले मलाई मोहनी लगाइदियो।
कलात्मक तिम्रो रूप, परम्परागत झ्यालढोका र आकृति अगाडि झुस्स दारी पालेको आरके दाइले हामीलाई मन्द मुस्कानका साथ गाउँले परिवेशमा स्वागत गर्नुभयो। म तिम्रो दलिन, थाम, निदाल हेरिरहेँ।
अनायसै मैले सम्झिन पुगेछु- जिरीको मेरो पुरानो घर जहाँ म जन्मिएँ, हुर्किएँ र आज तिम्रो सामू उभिन सक्षम भएँ।
तिमीलाई देखेर मैले मेरो घरको दलिन, थाम, निदाल झल्झली सम्झिएँ। जहाँ धुँवाले ढाकिएर कालो भएका थिए। तिमी पनि त्यस्तै रहेछौ। केही बेर आफ्नै गाउँघरको सम्झनामा हराएँ।
पल्ला घरको ठूलोबुबाकोमा जाँदा होस् या तल्लाघरे साँहिला काकाकोमा जाँदा वा पुरै गाउँमा, ढुंगाले छाएका धुरी, टाउको नै ठोकिने दलिन, पिरामा बसेर अढेस लगाउने थाम, अगेनोमाथि हालेको सारंगको यादले मनमा चिसो पस्यो। अब ती केबल सम्झनामा मात्र सिमित भए। आधुनिक पुस्ताले यो सबै बिर्सिसकेँ।
तर तिमी ३०० वर्षअघि कुश्मा पर्वत साथै नेपालकै लामो इतिहासको साक्षी बनेर आफ्नो पुरानो बास्तुकला, शिल्पकला, चित्रकला जोगाइरहेको छौ।
शताब्दी घर, तिमी तिरै एकोहोरिदै थिएँ। रातको ९ बजेछ। सुरेन्द्र दाइ पनि रोल्पाबाट आइपुग्नु भयो। अब थकाई मेटाउने बहाना सुरू भयो।
खानपिन सकाएर केही रमाइला कुरा गरि सुत्ने तरखरमा लाग्यौ। ‘शताब्दी घर' तिम्रो न्यानो, सितल छहारीमा मिठो निन्द्रामा देखेको सुन्दर सपना कुनै दिन तिमीलाई सुनाउनेनै छु। एकदम रमाइलो छ सपना। हो शताब्दी त्यो सपनाले मलाई जीवनभर झस्काईरहने छ।
बिहानै ५ बजेतिर आँखी झ्यालबाट यसो बाहिर हेर्दा सुन्दर चारपाटे आँगन, अहो! कति राम्रो सँग ढुंगाले छापिएको।
हतार हतार झरिहालेँ। कलात्मक बुट्टाले भरिएको बरन्डा, पिँढी र आँटी साथै ढुंगा र माटोबाट निर्मित तिमीलाई देख्दा म बालापनमा पुगेँ। आफ्नो बालापन, तिहारमा देउसी भैलीमा छमछम नाँचेको। सम्झनामा रमाउँदै थिएँ। त्यसै बेला सुरेन्द्र दाइले
‘कुश्मा बजार काटेर पारि
हरभरा मायाको फुल बारी
कति राम्रो पर्बतको सिम्ले
मेरो माया नभुले तिम्ले '
मीठो लोक भाका घन्काउँदै कम्मर मर्काउँदै आइपुगिहाल्नु भो।
बिहानी पखमा ‘शताब्दी घर’ तिम्रो चौडा पिँढीमा बसेर प्रेम केसी भाइले बनाएको मिठो चिया पिउँदै आरके दाइबाट तिम्रो ३०० वर्ष अघिदेखिको ऐतिहासिक कहानी सुन्दा तिमीप्रति थप माया उजगार भइरहेको थियो।
कुश्माको प्रकृतिसँग लोभिएर धन राज गिरिले ३०० वर्ष भन्दा अगाडिनै तिम्रो जग बसालेको रहेछन्।
परापूर्वमा त २२ जना गिरि परिवारका सदस्य समेत तिम्रै छहारीमा हुर्किएका थिए रे।
कुश्माको विकासहुँदै गर्दा २०२३ सालमा भूमि सुधार कार्यालयलाई तिमिलेनै राखेकी रहिछौं। कुरा सुन्दै जादा कुश्मा पर्वतकै सामाजिक, राजनीतिक साथै प्रसासनिक परिवर्तनको साक्षी बनेर बसेको छौ तिमी।
तसर्थ तिमी हिजो मात्र होइन वर्तमान अनि भविश्यमा पनि जोगिनु जरूरि छ। तिम्रो अस्तित्व जोगाइराख्न कुश्मा, पर्वतकै ठूलो जिम्मेवारी छ।
तिमीलाई जिवन्त तुलाइराख्न, तिमीजस्तै कुश्मा-पर्वतमा रहेको ऐतिहासिक कला संस्कृति, सांस्कृतिक, धार्मिक सम्पदाको संरक्षण र संवर्द्धन गर्न ‘कुश्मा कला परियोजना’ स्थापना भएको रहेछ।
आरके अदिप्तको अगुवाइमा रहेको यस संस्थाले तिमीलाई ‘शताब्दी घर - हेरिटेज होम’ उपमा दिएर तिम्रो संरक्षण र प्रवर्द्धनमा लागिपरेको छ। तिमीमा सुन्यता नछाओस् भनेर तिम्रो वरिपरी सांस्कृतिक संग्रहालय, पुस्तकालय, थिएटर, ग्यालरी बनाउने योजना रहेको अदिप्त दाइले सुनाउनु भयो। यो थाहा पाउँदा म एकदम हर्षित भएको छु।
तिम्रो संरक्षण र प्रवर्द्धन गर्न अहोरात्र खटिरहनुभएका आरके अदिप्त दाइ प्रति सलाम सुनाइदिनू है। कुश्मा कला परियोजना मार्फत कुश्माको तिमीलगाएत विविध ऐतिहासिक कलासंस्कृति, सांस्कृतिक, धार्मिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गर्न उहाँ लगायत सम्पूर्ण टिमलाई शुभकामना भनिदिनू।
तिमीले सधै शितल छहारी प्रधान गरिराख्नु उहाँहरूलाई। तिम्रो काखमा बगिरहने कालिगण्डकी नदीलाई पनि बचाउन एक्लै मैदानमा हुनुहुन्छ आरके अदिप्त दाइ। थकाई लाग्नसक्छ तर तिमी सधै मुस्कुराई राख्नु, तिम्रो मुस्कानले पनि उहाँलाई थप उर्जा मिल्नेछ। आशा छ तिम्रो इतिहासलाई जोगाउन अदिप्त दाइ लागिपरिरहनु हुनेछ, दौडिरहनुहुनेछ।
अन्त्यमा
ऐतिहासिक महत्व बोकेको तिमी जस्तै नेपालको विभिन्न ठाउँमा रहेका पुरातात्विक संरचनालाई जोगाउनु आजको आवश्यकता हो। 'शताब्दी घर' तिमी त एक पात्र हौ जसले नेपालकै ऐतिहासिक घरहरूको कला र संस्कृतिको कथा बोकेको छौ।
'कुश्मा कला परियोजना' जस्ता परियोजना नेपालको दूर दरजामा बनाउनुपर्ने छ, जहाँ तिमी जस्तै महत्व बोकेको सम्पदाको संरक्षण र प्रवर्धनमा टेवा पुगोस्। सम्पूर्ण साथीसंगीलाइ तिम्रो आँगनमा पाईला पुर्याउन अनुरोध गर्छु।
भौतिक विलासका नाममा मासिँदै गएका ऐतिहासिक धरोहर जोगाउन आरकेजस्ता युवामा जागरुकता चाहिने रहेछ, जसले कुश्मा मात्रै होइन अन्य ठाउँका यस्ता ऐतिहासिक सम्पदा नमेटियोस् भन्ने सन्देश दिन्छ ।
म पनि चाडै शितलताको उजागार लिन ‘शताब्दी घर’ तिमीलाई भेट्न आउनेनै छु।
अहिलेलाई यति। बाँकी भेटमा।
उही तिम्रो प्यारो मान्छे....
हेर्नुहोस् थप तस्बिरहरू