हिमालको उज्यालोमा झलमल्ल एउटा गाउँ–ताङतिङ। गण्डकी प्रदेशको मादी गाउँपालिका–२, कास्कीको पहाडी गाउँ (१,६६० मिटर)। यसको पूर्वमा लमजुङ जिल्लाको क्होलासोंथर र मस्र्याङ्दी गाउँपालिका पर्छन्।
पश्चिममा सिक्लेस, पार्चे, खिलाङ र तप्राङ गाउँ छन्। उत्तरमा मनाङ जिल्लाका चामे र निस्याङ भ्याली पर्छन् भने दक्षिणमा कास्कीका याङ्जाकोट, सैमराङ लगायत गाउँ।
ताङतिङमा २०० घर छन्। ढुंगा र टिनका छाना भएका चिटिक्क घर। झुरुप्प सुन्दर बस्ती। गाउँपालिकाको २०७४ तथ्याङ्कअनुसार यहाँको जनसंख्या ९५३ छ। तिनमा ९५ प्रतिशत गुरूङ हुन् भने बाँकी दलित समुदाय। सबै मिलेर बसेका छन्।
प्रकृति र संस्कृतिको संगम ताङतिङ आकर्षक छ। ताङतिङको फेदीबाट मादी नदी बग्छिन्। गाउँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। हिमालको हिमपहिरो पनि देख्न सकिन्छ। पारिपट्टि सिक्लेस गाउँको सिरानीमा हिमाल मुस्कुराउँछन्। ताङतिङमा बसेर त्यो दृश्यमा रमाउँदा आनन्द मिल्छ।
हिमालजस्तै उज्याला, फरासिला र सहयोगी गाउँले। स्वच्छ हावापानी र ग्रामीण जीवनशैलीले मोहनी लगाउँछ। अर्को कुरा, ताङतिङ आफैंमा ग्रामीण पर्यटनको नमुना गन्तव्य त हुँदै हो, यसलाई केन्द्र मानेर धेरैतिर पदयात्रा गर्न समेत गर्न सकिन्छ।
हेर्नुहोस् मनसुनमा ताङतिङ
















