बाक्ला मिलेर बनेको मगर बस्ती । आफ्नै छुट्टै कला, संस्कृति, रहनसहन एवम् खाम मातृभाषा बोकेको पृथक् समुदाय । सयौँ वर्षअघि निर्मित ढुङ्गा र माटाका घर । एउटै घर जस्तो देखिने मगर जातिको बाहुल्यता रहेको यी मगर बस्ती । एउटा घरको छत माथिल्लो घरको आँगन । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिलकुल ‘अर्ग्यानिक’ । रुकुमपूर्वक मगर जातिको बाहुल्यता रहेको उत्तर पूर्वी भेग बस्ती । यी बस्तीलाई हेरेर आँखा थाक्दैन, डुलेर मन अघाउँदैन ।
जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा मगर जातिको बाहुल्यता रहेको छ । यी गाउँपालिकाका प्राकृतिक सुन्दरता पनि उतिकै छ र साथसाथै बस्तीहरू समेत मनमोहक छन् । यी प्राकृतिक र बस्ती सुन्दरतालाई पर्यटकीय गन्तव्य रूपमा विकास गर्नका लागि पालिका र प्रदेश सरकारको समन्वयमा पुथाउत्तरगङ्गा गाउँपालिका–१०, ११, १२ र १३ नम्बर वडाका बाक्ला बस्तीमा ‘तक सेरा पर्यटन गन्तव्य विकास कार्यक्रम’ शीर्षकमा विभिन्न लगानी हुँदै आएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि हरेक आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले एक करोडदेखि माथिको बजेट विनियोजनअनुसार विभिन्न भौतिक संरचनाका कामसँगै स्थानीयको आय आर्जनलाई सहयोग पुग्ने खालका कृषि अनुदान कार्यक्रममा प्रदेश सरकारले लगानी गर्दै आएको प्रदेशसभा सदस्य तेजबहादुर ओली (प्रतीक)ले बताउनुभयो । ‘तक सेरा पर्यटन गन्तव्य विकास कार्यक्रम’ शीर्षक अन्तर्गतको कर्मागत रूपमा बहु वर्षीय योजनामा उक्त काम भइरहेको प्रदेशसभा सदस्य ओलीले जानकारी दिनुभयो ।
पुथाउत्तरगङ्गा–१० को तक, बाछिगाउँ, ११ को माथिल्लो सेरा र तल्लो सेरा, १२ को कोल र १३ को बिर्गुम गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकासका लागि प्रदेश सरकारले ‘तक सेरा पर्यटन गन्तव्य विकास कार्यक्रम’मार्फत बहु वर्षीय योजनाअनुसार काम गरिराखेको छ ।
तक सेरा वरिपरिका पर्यटकीय स्थल तथा गाउँलाई संरक्षण र प्रवर्द्धन गरेर पर्यटक भित्र्याउने उद्देश्यले ‘तक सेरा पर्यटन गन्तव्य विकास कार्यक्रम’ नाम दिएर पालिका र प्रदेश सरकारको लगानीमा उक्त योजनाको काम भइरहेको उहाँको भनाइ छ ।
“तक सेरा मगर खाम भाषीको बाक्लो बस्ती प्रख्यात रहेको छ” प्रदेशसभाका सदस्य ओलीले भन्नुभयो– “त्यसको साथै वरिपरिका ठाउँ, गाउँ पनि उत्तिकै मनोरम एवम् सुन्दर रहेका छन् ।” बाहिरी देश तथा देशभित्रका जिल्लाबाट भ्रमणका साथै मगर खाम भाषा र मगर समुदायको रहनसहनबारे अध्ययनका लागि समाज शास्त्री र मानवशास्त्रीहरु आउने गरेकाले पनि यसलाई थप विकास गर्न आवश्यक रहेको ओलीले बताउनुभयो ।
तयार गरिएको संरचनाहरू
‘तक सेरा पर्यटन गन्तव्य विकास’को पूर्वाधार विकासले पूर्णता पायो भयो भने आफूहरूलाई लाभ पुग्ने भन्दै स्थानीय खुसी छन् । हालसम्म पुथाउत्तरगङ्गा–११ को दिखियोमा गेट निर्माण, पुथाउत्तरगङ्गा–१३ को बिर्गुम गाउँमा हिल पार्क निर्माण, पुथाउत्तरगङ्गा–१० को तक गाउँमा पाहुना घर, तकमै मगर सङ्ग्रहालय र पुथाउत्तरगङ्गा–१२ को कोलमा रहेको अनौठो गुफा संरक्षण तथा प्रवर्द्धनको काम भएको ओलीले बताउनुभयो । यी पर्यटकीय क्षेत्रको लगानीले दीर्घकालीनसम्म जिल्लाको मौलिकता झल्काउने एक ऐतिहासिक गन्तव्यका रूपमा परिचित भइराख्ने प्रदेश सांसद ओलीले बताउनुभयो ।
‘तक सेरा पर्यटक गन्तव्य विकास कार्यक्रम’ले विभिन्न संरचना निर्माण भइरहेको अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेको पाहुना घर सञ्चालक कर्मटेक बुढा मगरले बताउनुभयो । प्रदेश सरकारले पाहुना घर तयार बनाएपछि गत वैशाख महिनादेखि कर्म टेक र रामलीला बुढा मगरले संयुक्त रूपमा पाहुना घर तथा अर्ग्यानिक होटल सञ्चालन गरिराख्नुभएको छ । पाहुना घर सञ्चालन गरे बापत होटेल सञ्चालकबाट पालिकाले मासिक १५ हजार रुपियाँ राजस्व उठाउने गरेको छ ।
“पाहुना घरमा ग्राहककै मागअनुसार स्थानीय खानाका परिकार मकै, जौँ, गहुँ, कोदोका ढिँडो तयार गरिन्छ” पाहुना घर सञ्चालक बुढाले भन्नुभयो – “खाजाको परिकारमा आलु, रोटीलगायतको तयार हुन्छ । जेलोस् स्थानीय अर्ग्यानिक खाना, नास्ताकै परिकार तयार गर्ने गरेका छौँ।”
पुरानो बस्ती हेर्ने र हाल यसको विकास र विस्तारका लागि सरकारले गरिराखेको पर्यटक स्थललाई अवलोकनका लागि पर्यटकहरू बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन् । जसले गर्दा स्थानीय होटेल व्यवसाय फस्टाउँदै गएको पनि व्यवसायीको भनाइ रहेको छ ।
जयमान बुढा मगर/गोरखापत्र