शैलुङ। हरियो अग्ला– अग्ला पहाडहरु। थरीथरीका फुलहरू। यहाँ पुग्ने हरकोही शैलुङको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन्। सयौ वर्ष पहिले ऋषिमुनीहरु तपस्यामा थिए। कलि युगसँगै ऋषिमुनी पाप देख्न नपरोस् भनेर त्यहीँ ठाउँमा बिलिन भए।
तीनै ऋषिमुनी बिलिन भएका प्रत्येक ठाउँमा थुम्का निस्किए र तामाङहरुले ती थुम्कालाई शैलुङ नामाकरण गरे भन्ने किम्बदन्ती छ। त्यही शैलुङले अहिले पर्यटक पर्खिरहेको छ।
समुन्द्र सतहदेखि ३४ सय मिटरको उचाइमा रहेको शैलुङ रामेछाप र दोलखाको सीमानामा पर्छ। शैलुङको धेरै भाग रामेछापमा पर्दछ भने केही भाग दोलखामा पर्दछ।
काठमाडौंबाट वीपी राजमार्ग हुँदै सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोशी नदीमा रहेको सित्खा पुल तरेर दोरम्बा निस्कँदै शैलुङ पुग्न सकिन्छ। रामेछापको सदरमुकाम मन्थलीबाट पनि खाँडादेवी हुँदै दोरम्बा निस्किएर शैलुङ पुग्न सकिन्छ। यसै गरी रामेछापकै फुलासी, डडुवा हुँदै पनि शैलुङ जाने बाटो छ।
दोलखाको कालापानीबाट पनि शैलुङसम्म पुग्ने सडक बनेको छ। चारैतिरबाट सडक सञ्जालमा जोडिएको कारण शैलुङ सहज पर्यटकीय गन्तव्य बनेको छ। शैलुङ काठमाडौं र तराईका घुम्न चाहनेको लागि समेत केन्द्र पनि हो। त्यसैले यो पहाड, उपत्यका र तराईको सङ्गम थलो जस्तै बनेको छ।
हिउँदमा हिउँ र फागुन–चैतमा विभिन्न जातका गुराँसले ढाक्ने शैलुङ अहिले विभिन्न जातका भुँइ फूल सिँगारिएको छ। शैलुङको काखमा चरिरहेको चौँरी र भेडाले थप आकर्षण थपेको छ। प्राकृतिक रूपमा बनेका आकर्षक एक सय बढी थुम्का शैलुङमा छन्। तिनै थुम्काको कारण शैलुङ नामाकरण भएको हो। तामाङ भाषमा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ। यसैबाट शैलुङ नामाकरण भएको मानिन्छ।
शैलुङबाट हिम श्रृङखलाका साथै टाढासम्मको भूभाग समेत अवलोकन गर्न सकिने भएकोले पनि यसको छुट्टै महत्व छ। अहिले शैलुङको टुप्पोमा टावर निर्माण गरी दृश्यावलोकनको लागि शैलुङलाई थप आकर्षक बनाइएको छ।
हेर्नुहोस् तस्बिरहरू