कीर्तिमानी पर्वतारोही सानु शेर्पालाई नेपालमा भव्य स्वागत गरिएको छ। शेर्पाले विश्वका १४ वटा ८ हजारभन्दा अग्ला हिमाल दुई-दुई पटक चढेर इतिहास रचेका हुन्।
शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान) लगायत विभिन्न पर्यटन संवद्ध व्यक्तिद्वारा उनलाई स्वागत गरिएको हो।
गत महिना पाकिस्तानस्थित गाशेरब्रम-२ हिमालको सफल आरोहण गरेसँगै विश्वको १४ वटा चुचुरोको दोहोरो आरोहण गर्ने उनी विश्वको पहिलो आरोही बनेका हुन्।
संखुवासभा जिल्लामा जन्मेका ४७ वर्षे सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए।
नेपाल पर्यटन बोर्डको हलमा राखिएको सम्मान कार्यक्रममा बोल्दै कीर्तिमानी आरोही शेर्पाले खाली खुट्टा र हाफ पेन्टमा रू १ हजार बोकेर काठमाडौं छिरेको संस्मरण गर्दै ट्रेकिङ कम्पनीमा छिरेको अनुभव सुनाउँदा माहोल भावुक भएको थियो।
'८ हजार माथिको हिमाल चढ्न सफल भएकोमा मलाई खुसी र दुःख दुबै लागेको छ। अरू देशमा भए एउटै हिमाल चढ्दा पनि त्यहाँको सरकारले कति धेरै सम्मान गरेको सुन्छु तर नेपालको अवस्था हेर्दा छक्क पर्छु’, उनले सुनाए।
सन् २००६ देखि २०१९ को बीचमा सानुले विश्वको सबै ८ हजार मिटर अग्लो चुचुरो चढेका थिए। दुर्गम गाउँका गरिब परिवारमा जन्मेका सानु सन् २००५ मा जागिरको खोजीमा काठमाडौं आएका थिए। पर्यटन क्षेत्रमा पहिलो पटक भरियाको जागिर पाए । उनले कोरियाली टोलीले चो ओयु पर्वतारोहणको पहिलो पटक हिमाल तर्फ लागे । भरिया हुँदै पछि उनले हिमाल एक्सपिडिसनको नेतृत्व गर्न थाले र सन् २०१९ मा पहिलो पटक १४ चुचुरो आरोहण गर्ने उनी तेस्रो नेपाली आरोही बनेका थिए। सानु नेपाल, चीन र पाकिस्तानमा रहेका ८,००० मिटर (२६,००० फीट) भन्दा माथिका सबै १४ वटा चुचुरो आरोहण गर्ने नेपाल र दक्षिण एसियाका तेस्रो व्यक्ति हुन्।
सानु शेर्पाको शिखर आरोहणका विवरण:
- सगरमाथा - २००७, २००८, २००९, २०१२, २०१३, २०१६ र २०१७
- केटु - २०१९ र २०२१
- धौलागिरी – २०१९, २०२१
- चो ओयु - २००६ र २००८
- मनास्लु – २०१० , २०११ र २०१६
- शिशापाङ्मा – २००६ र २०११
- ल्होत्से –२००८, २०२१ र २०२२
- गाशेरब्रम-१ - २०१३ र २०१९
- गाशेरब्रम-२ - २०१९ र २०२२
- कञ्चनजङ्घा - २०१४ र २०२२
- ब्रोड पिक - २०१४ र २०१७
- अन्नपूर्ण - २०१६ र २०२१
- नङ्गा पर्वत – २०१७, २०१८ र २०२२
- मकालु – २०१९ र २०२२
तस्बिरः नेपाल पर्वतारोहण संघ