समुन्द्री सतहबाट करिब ४२५० मिटर भन्दा माथिको उचाईमा रहेको जट्टापोखरी र पाँचपोखरी प्राकृतिक छट्टाले भरिपूर्ण धार्मिक तिर्थस्थल एवंम पर्यटकीय स्थल हो।
तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको शिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मिक हिसावले प्रख्यात मानिन्छन् ।
रामेछाप र दोलखाको सीमामा रहेको जट्टापोखरीमा सत्ययुगमा भगवान शिवलाई विष दिएपछि विषबाट हुने असर कम गर्न र शान्त हुन डुबुल्कि मारेको हुँदा शान्ति पोखरी पनि भन्ने किंबदन्ती पाईन्छ।
भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरूको पवित्र पुस्तक र पुराणहरूबाटनै जट्टापोखरीको नाम लिईएको भन्ने कुरा छ।
पाँचपोखरी भने जटापोखरीभन्दा पनि माथि छ । जटापोखरीको ठ्याक्कै माथि रहेको पाँचपोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । एउटै पोखरीमा बीचबीचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ ।
पाँच पाण्डव वनबास जाँदा यो पोखरीमा स्नान गरि त्यस क्षेत्र वरिपरि केही समय बिताएको सुन्नमा पाईन्छ। यसरी धार्मिक, पौराणिक तथ्यसँग जोडिएका दुई पोखरी १ घण्टा ३० मिनेटको फरकमा रहेको छन्।
यही पोखरीबाट दुई खहरेहरु झरेका छन । जुन खिम्ती र लिखु भएर बग्दक्छन । खिम्ती र लिखु लाई एकै कोख्बाट जन्मिएका दिदी बहिनी पनि भन्ने प्रचलन छ ।पाँच पोखरिको उचाइबाट तल देखिने जट्टापोखरितिरको दृश्य देख्दा धर्तिको स्वर्ग छ यदि भने यो यहि नै हो भन्ने लाग्छ ।
विशेष गरि जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ। जट्टापोखरीको पवित्र जलमा स्नान गरेर पूजापाठ सकेर पाँचपोखरी पुगेर ठूलो श्वरमा आाफूले चाहेको कुराहरू माग्दै घुम्दा मनोकामना पूरा हुने जनविश्वास छ। जनैपूर्णिमाको दिन दोलखा, रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायत धेरै ठाउँबाट दर्शानालु आउने गर्छन्।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेका प्रसिद्ध जट्टापोखरी, पाँचपोखरी जानको लागि काठमाडौं जिरीहुँदै गर्जङ्ग, खहरे, पानीपाखा, मानेडाँडा अनि जट्टापोखरी-पाँचपोखरी पुग्न सकिन्छ।
नेपालको सुन्दर पर्यटकिय नगरी जिरीलाई नियाल्दै चुचुरेका समथर भुभागलाई छिचोल्दै, खिम्ती खोलाको सुश्केरामा रमाउँदै खहरेबाट उकालो लाग्दा मनहरू रोमान्चित हुने नै छ।
चराचुरुङ्गीहरूको सुमधुर संगीतमा हरियाली जङ्गलको यात्रा अबिस्मरणीय बन्न सक्छ।
जटापोखरी र आसपासको क्षेत्रमा जडिबुटीको पनि खानी रहेको छ । लोठसल्ला, चिराईँतो पाखनवेद, ठुलो ओखतो, पाँच औले, जटामसी, सुनापति, विषमार, लगायतका जडिबुटी जंगलमा त्यतिकै सडेर गईरहेका छन् । यहाँका चौरहरुमा यार्सागुम्बा पनि पाइने स्थानीय शेर्पाहरु बताउँछन् ।