रानीकोट काठमाडौंको नजीकैको पहाडी थुम्को हाे । याे ठाउँ भक्तपुरको गुण्डु, सिपाडोल र काभ्रेको साँधमा छ । यसकाे उचाई (२,१०० मिटर) छ भने त्यहाँकाे एकै थलोमा उभिएर कञ्चनजंघा, सगरमाथा, मकालु, चोयु, सिसापाङ्गमा, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौं हिमाल हेर्न पाइन्छ । त्यति मात्र नभएर भक्तपुर नगर, काठमाडौं र पाटन सहर पनि यस ठाउँबाट छ्यांगै देखिन्छ ।
रानीकोट एउटा ऐतिहासिक थलो हो । त्यहाँ थुम्कामा पुराना इँटाका टुक्राहरू भेटिन्छन् । इतिहासविद्का अनुसार रानीकोट लिच्छिवीकालीन गढी हो । यस ठाउँमा उहिल्यै दक्षिणपूर्वबाट काठमाडौं उपत्यका प्रवेश गर्ने एउटा प्रमुख नाका थियो ।
रानीकोट । लिच्छिवीकालमै अनन्तलिंगेश्वर भेकमा हंशगृहदंग नामको विकसित बस्ती थियो । त्यही बस्तीको एउटा सुरक्षा किल्ला रानीकोट भएको इतिहासविद्को कथन छ । नेपाल एकिकरणका बेला रानीकोटलाई अस्थायी सुरक्षा किल्ला समेत बनाइएको थियो ।
प्राचीनकालदेखि शाहकालसम्मै सामाजिक सुरक्षाका दृष्टिले एकदमै महत्त्व थियो रानिकोटकाे । रानीकोट नाम रहन गएको बारेमा किम्दबन्ती एउटा थियाे – एकताका तिनताका गुण्डुमा रानी बस्थिन् । उनी शितल हावा खान रानीकोट पुग्थिन् । उनलाई डोकोमा बोकेर त्यहाँ पुर्याइन्थ्यो । रानी जाने कोट भएकाले यसकाे नाम रानीकोट रहन पुग्याे पनि भनिन्छ ।
ऐतिहासिक गढी रानीकोट व्यवस्थित गर्न बाँकी छ । सूर्यविनायक जंगल छिचोलेर घ्याम्पेडाँडा हुँदै रानीकोट पुगिन्छ । सूर्यविनायकबाट ४ कि.मी माथि घ्याम्पेडाँडा पुगेपछि नै मनोरम दृश्य सजीलै देख्न पाइन्छ ।
घ्याम्पेडाँडाको पनि रोचक कथा छ । चिहानडाँडाको नाम ०५३ सालदेखि घ्याम्पेडाँडामा परिणत भयो । त्यहाँ एक जनाले छाप्रो बनाएका थिए । गाँउलेले विरोध जनाए । तर, मलामी आउँदा घामपानीबाट बच्न उपयुक्त छाप्रो बन्यो भन्ने सम्झेर त्यसलाई भत्काएनन् । बरु त्यहाँ ३० पाथी पानी अटाउने माटोको घ्याम्पो राखे, तिर्खा लागेको बेला पानी खान भनेर । घ्याम्पाे राखेका ठाउँ भएकाले त्यही बेलादेखि यस डाँडालाई घ्याम्पेडाँडा भन्न थालियो ।
घ्याम्पेडाँडामा तामाङ समुदायको बस्ती छ । डाँडाको पुछारमा पाइलट बाबा आश्रम छ । उक्त आश्रममा योग र ध्यान गर्न सकिन्छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको आश्रमबाट चारैतिर सुन्दर दृश्य देख्न सकिन्छ । पश्चिमपट्टि गुण्डु र दधिकोट छ । पश्चिमदेखि उत्तरतिर काठमाडौं र भक्तपुरको दृश्य, उत्तरमा काठमाडौं र दक्षिणकाे काभ्रे देखिन्छ ।
आश्रममा सोमनाथ मन्दिर, ध्यान कक्ष र पुस्तकालय छ । घ्याम्पेडाँडाबाट रानीकोट ३ कि.मी दुरीमा छ । सूर्योदय, सूर्यास्त, हिमाल हेर्न रानीकोट उपयुक्त छ । जंगल भएका हुनाले बर्ड वाचिङका लागि उपयुक्त छ । कोटबाट दुईसय मिटर पश्चिम पहाडको बीचमा ठूलो ढुंगामा छ बाघभैरप मन्दिर । मन्दिरमा मंसिर र वैशाख पूर्णिमामा मेला लाग्छ । ढुंगा बाघ आकारमा रहेकाले त्यसलाई साक्षात प्रकृतिरूपी बाघ भैरव नामाकरण गरेको भनाई छ । बाघ भैरवको शिला टाढाबाट हेर्दा बाघ जस्तै देखिन्छ ।
रानीकोटकाे भ्यू टावर
लिच्छिवीकालमा तान्त्रिक धर्म लोकप्रिय हुँदा सातौं शताब्दीतिर बाघ भैरव स्थापना गरिएको मानिन्छ । रानीकोटमा भ्यू टावर छ जहाँबाट चारैतिरको दृश्य देखिन्छ । सँगैको सूर्यविनायक जंगल चिडियाखानामा रुपान्तरित हुँदैछ । बाटोमा हिँड्दा चितुवा, खरायो, मलसाँप्रो, दुम्सी, सालक, वन बिरालो, मृग, कोइली, कालिज, चित्रा, च्याखुरा, लामपुच्छ्रे आदि भेट्न सकिन्छ ।
यो रुट साइक्लिङका, बाईकिङका लागि समेत उपयुक्त छ । सूर्यविनायक देखि घ्याम्पेडाँडा सम्मै कालोपत्रे भैसकेको छ । माथि रानीकोटसम्म कच्ची मोटरबाटो छ । रानीकोटलाई केन्द्र मानेर डोलेश्वर, अनन्तलिंगश्वर, लाँकुरी भञ्याङ र फूलचोकी हाइकिङ गर्न सकिन्छ ।
सूर्यविनायकबाट रानीकोट पुगेर गुण्डु हुँदै कटुञ्जेको शुवर्णेश्वर महादेव मन्दिर पुगेर पदयात्रा बिसर्जन गर्न सकिन्छ । अथवा देउराली, अनन्तलिंगश्वर हुँदै तर्खगाल पनि पुग्न सकिन्छ । रानीकोटमा केही होछल र रिसोर्ट छन् ।
रानीकोट
रुट : सूर्यविनायक- घ्याम्पेडाँडा- रानीकोट- घ्याम्पेडाँडा- सूर्यविनायक
सुरु : सूर्यविनायक १,४०० मिटर
अन्त्य : सूर्यविनायक
दुरी : १५ किमि
समय : ६ घण्टा
अधिक उचाई : रानीकोट २,१०० मिटर
कसरी पुग्ने
- काठमाडौं – रानीकोट २२.५ कि.मी ।
- सूर्यविनायक – रानीकोट ७.५ कि.मी ।
- सूर्यविनायकबाट हिँड्ने ।
- गएकै बाटो फर्कने ।
- सूर्यविनायक – घ्याम्पेडाँडा
४.५ कि.मी, घ्याम्पेडाँडा – रानीकोट ३ कि.मी ।
- पदयात्रा दुरी १५ कि.मी ।
समय ६ घण्टा ।
- मोटर बाटो रानीकोट सम्मै पुगेको छ ।
- तर, सार्वजनिक सवारी साधन चल्दैनन् ।