काठमाडौँ, साउन १४|
हनुमानढकोका दरबार क्षेत्रको मुख्य र ठूलो नासलचोक आगन्तुकका लागि खुला गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि नासलचोक प्रवेशमा रोक लगाइएको थियो ।
पुनर्निर्माण सम्पन्न भएकाले पर्यटकहरू नासलचोकका अतिरिक्त गद्दी बैठक र ढुकुटीमा समेत प्रवेश गर्न पाउने हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले बताए । ‘दरबारका अरु ठाउँ पनि क्रमशः खुल्दै जानेछन्,’ उनले भने, ‘नौतले दरबारको जीर्णोद्वार पनि अन्तिम चरणमा पुगेको छ ।’
सुवर्णद्वारबाट निस्कनासाथ पुगिन्छ नासलचोक । यो चोकको वरिपरिका धेरै सम्पदा शाहकालमा बने पनि केही मल्लकालीनसमेत छन् । चोकको पूर्वपट्टि मुलचोक पर्छ । मुलचोक भने अझै खुलेको छैन । पूर्वदक्षिण कुनामा वसन्तपुर, दक्षिणतर्फ सडक, पश्चिमतर्फ लामाचोक र दाखचोक तथा उत्तरतिर मोहनचोक पर्छ । नासलचोकको पूर्वतर्फ नासल देवताको सानो देवल छ । इतिहासकार गौतमबज्र बज्राचार्यका अनुसार यही देवताको नामबाट यो चोकको नामकरण गरिएको हो । कुनै बेला यही स्थानमा राजा र प्रजाको भेटसमेत हुने गर्थ्यो । नारायणहिटी सर्नुअघि यही दरबारबाट राजकाज सञ्चालन हुन्थ्यो । ‘राजकाजसँग सम्बन्ध राख्ने कुनै पनि विषयमा गुनासो गर्नुपरे प्रजाहरू यही चोकमा आउँथे,’ बज्राचार्यले आफ्नो पुस्तक ‘हनुमानढोका राजदरबार’ मा लेखेका छन्, ‘राजपरिवारलाई कुनै दुःख आइपरेमा पनि प्रजा यही चोकमा आएर समवेदना प्रकट गर्थे । केही दशकअघिसम्म पनि यो प्रचलन हराएको थिएन ।’
शाह राजाको राज्याभिषेक समारोहसमेत यहीं हुन्थ्यो । मल्लकालमा भने राज्याभिषेकको काम मूलचोकमा गरिन्थ्यो । अन्तिम शाह राजा ज्ञानेन्द्रको राज्याभिषेक पनि नासलचोकमै भएको थियो । ‘राजाको राज्याभिषेक यहीं हुन थालेकाले शाहवंशमा यो चोकले महत्त्वपूर्ण स्थान ग्रहण गर्यो,’ बज्राचार्यले लेखेका छन् । उनका अनुसार बौद्ध धर्मावलम्बीका गुभाजुको चूडाकर्म गर्दा नासलचोक आएर राजगद्दीमा पानसुपारी चढाउनुपर्ने परम्परा छ । यसरी पानसुपारी चढाउन नआएको खण्डमा चूडाकर्मको विधि पूरा भएको नमानिने जनविश्वास छ ।
हनुमानढोका दरबारक्षेत्र प्रवेश गर्ने स्वदेशी र विदेशी पर्यटकले पूरै संग्रहालय भने हेर्न अझै पाउँदैनन् । भूकम्पले क्षति पुर्याएको मुख्य संग्रहालयको पुनर्निर्माण चलिरहेको खनालले जानकारी दिए ।