पोखरा, साउन १०
पोखराको सुन्दर दृश्यावलोकन र सूर्योदयका लागि प्रसिद्ध रहेको सराङकोटको डाँडामा लालीगुराँसका बिरुवा रोपिएको छ ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्था र सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त आयोजनामा सराङकोटमा लालीगुराँसका बिरुवा सारिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय सहर पोखरालाई थप सुन्दर गराउन खाली जग्गाको सदुपयोग गर्दै बोटबिरुवा र फूल रोप्न आवश्यक रहेको बताउनुभयो । उहाँले खाली जग्गाको सौन्दर्यकरणसँगै सहरी क्षेत्र वरपर लालुपाते र अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले सहयोग गर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष कृष्ण थापाले सहकारीको संस्थागत सामाजिक उत्तरदायित्व तथा वातावरणमैत्री कार्यक्रमअन्तर्गत सराङकोट र शिव मन्दिर, भ्युटावर वरिपरि ८० वटा लालीगुराँसका बिरुवा रोपिएको बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने राष्ट्रिय फूल लालीगुराँसको संरक्षण र विकासको खाँचो औँल्याउँदै यस कार्यलाई अभियानका रुपमा अघि बढाउने धारणा राख्नुभयो ।
अभियानकर्मी ढाकाराम लामिछानेले पहिलो चरणमा ११ प्रजातिका लालीगुराँसका बिरुवा रोपेकोे जानकारी दिनुभयो । उहाँले अभियानमार्फत नेपालमा पाइने ३२ प्रजातिका बिरुवा खाली जग्गामा रोप्दै जाने बताउनुभयो । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले सामुदायिक वन तथा खाली रहेका डाँडापाखामा लालीगुराँस रोपेर संरक्षण गर्नसके सौन्दर्यकरणसँगै राष्ट्रिय फूलको महत्व बढ्दै जाने धारणा राख्नुभयो । उहाँले पाँच वर्षदेखि कास्कीका विभिन्न वन उपभोक्ता समिति र स्थानीय तथा विभिन्न सङ्घसंस्थासँग सहकार्यमा लालीगुराँस फूलको संरक्षणको बारेमा जनचेतनासमेत दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा पोखराक–१८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी, संस्थाका सल्लाहकार कमलनयन गौतम, सोभियतबहादुर अधिकारी र इन्द्रकमल मानन्धर, संस्थाका सचिव कमलप्रसाद सुवेदी, सहसचिव मायाकुमारी शर्मालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।