पूर्वको टिएमजे (तिनजुरे,मिल्के र जलजले) क्षेत्रमा रहेको गुफा पोखरी पर्यटीयक रूपमा कहलिएको गन्तव्य हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ ।
आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छायाँ प्रतिबिम्बित हुने सुन्दर पोखरी । यही पोखरीमा दैनिक सयौँ पर्यटकहरू रमाई रहेका हुन्छन् । सानो र चिटिक्कै परेको गुफा बजार । यही बजारको नजिकै रहेको गुफापोखरीले पर्यटकहरूको मनै लोभ्याउने गरको छ । खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ । जाडो सिजन सुरू भएसँगै हिउँ पर्न थालेपछि हिउँ खेल्ने पर्यटकहरूले यो पोखरी र आसपासका क्षेत्र सयौँको संख्यामा रमाइरहेका हुन्छन ।
गुराँसको राजधानी तिनजुरे,मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वकै एक परिचित पर्यटकीय गन्तव्यको रूपमा चिनिने गर्छ समुद्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ । पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरुले बताउने गरेका छन् ।
प्राकृतिक सुन्दरताले नै पर्यटकहरूलाई आकर्षण गर्ने गरेको स्थानीय फुजुङ सेर्पाले बताए । ‘यहाँ वर्षभरि पर्यटक आउँछन् । मेन्छ्यायेम डाँडा र पोखरीमा रमाएर प्रफुल्लित हुँदै फर्किन्छन्', उनले भने, ‘कोरोनाले गर्दा पर्यटकहरूको चाप घटेको थियो । कोरोना कम भएपछि पर्यटक आउन सुरु भएको छ । ’
तेह्रथुमको वसन्तपुर बजारदेखि सुरु भएका दर्जनौँ पर्यटकीय गन्तव्यहरुले पर्यटकहरुलाई आकर्षण गर्दै आएको छ । आरआर गार्डेन,पाथीभरा मन्दिर, तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी, गुफाबजार, मेन्छ्यायेम डाडाका साथै प्राकृतिक सुन्दरताहरूले मनै लाभ्याउने गरेका छन् ।