लुकुम, (भूमे, रुकुम पूर्व), साउन १
हरेक वर्ष साउन महिनाको पहिलो दिन अर्थात् साउन १ गते राँको फाल्ने गर्छन्। यसलाई लुतो फाल्ने पनि भनिन्छ।
चोयालाई बुनेर त्यसमा जल्ने चीज राखेर त्यसमा आगो बाल्ने अनि त्यो राख्ने ठाउँमा सफा गरेर नयाँ फलफूल,अन्नबाली चढाएर पूजा गर्ने गरिन्छ।
अठार मगरातका मगरहरुले वर्षमा दुई ऋतुहरु मान्ने गर्छन्। साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको अवधिलाई उँदेली (उधौली) र माघ संक्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उँभेली (उभौली)का रुपमा मान्ने गर्दछन्।
साउने संक्रान्तिमा आगोको पूजाका साथै उँभेलीको विदाइ र उँदेलीको स्वागतको रुपमा मानिन्छ। त्यस बाहेक तिवार संक्रान्तिका दिन ओखला पूजा गर्दै माघ संक्रान्तिबाट बन्द गरिएका नङ्ग्रा/दमाह र रिङ/ढ्याङ्ग्रो बाहेकका सम्पूर्ण गाजाबाजाहरू उदेँलीमास अथवा पुस मसान्तसम्मको लागि फुकाइन्छ।
असार महिनाका लागि र आफन्त मरेकाहरूले सिस्नो फुकाएर खाने गरिन्छ।
आगोको पुजा र राङ्ख्या कसरी फालिन्छ?
तिवार संक्रान्ति वा साउन एक गतेका दिन घरहरु लिपपोत गरी भाडाकुडाहरु सफा सुघर गर्ने गरिन्छ। जाँटो, ढेँकी, गुरुङ(भण्डार) भार लगायतका ठाउँहरू टक्टकाइ सफाइ गरिन्छ । किन भने आँखा नदेख्ने, लुला लङ्गदो झे: असान मसान ग्रहहरू यस्तै कुनाहरूमा लुकेर बसेका हुन्छन् र तिनीहरूले मान्छेहरू सास्ती दिने गर्दछन् भन्ने मान्यताले सरसफाइमा विशेष ध्यान दिने गरिन्छ।
बेलुकीपख चिल्लो रोटी हाल्दछन् । घरमा पित्रसक (मृतक कुल वा पुर्खाहरू जो चुलोमाथिको भारमा बस्छन् भन्ने मान्यता छ । र तिनीहरूलाई हरेक चाँडपर्वमा चढाउनका लागि पहिल्यै जार अथवा लिस पित्रसक पकाउने गरिन्छ र त्यै जाँडको निङ्घारलाई लिसको रुपमा र खानलाई पकाइसकेको चिल्लो रोटी लगायतका खाने कुराहरू नखाँदै पित्रहरूलाई चढाउने गरिन्छ ।) हाल्छन् । र घरको मुख्य पुरुष वा कन्या केटाले नुहाइधुहाई गरेर चार वटा भलायोको पात वा भलायोको दाउराको आगोको राँको बनाउँछन् भने कतै कतै खर्सुङ वा बाँझको अगुल्टो पनि बनाउने गर्दछन्।
ओखतीको रुपमा प्रयोग हुने झारजंगलहरू कुरिलो, युमे (बाँदर पुच्छर),भलायो, कुच्चर, कारजुङ, दाङरु जम्मा गर्ने गरिन्छ । भने सबै तयार भइसकेपछि घरको बाहिर अग्लो ठाउँमा एउटा राँकोलाई बाध्दछन् । त्यसको मुनि नौरेखि नौबाटी राखेर बाँधेर राखेको राँकोलाई सेतो र रोतो जुङली धजा बाँधेर धुप धुवनँरसँगै रोटी, र रक्सी चढाई पुज्छन् र बाँकी तीन वटा राँकोलाई सल्काएर कराउँदै तिनै दिशा उत्तर, पश्चिम र दक्षिणतिर फालिन्छ ।
राँको जति सकिन्छ उति टाढा फाल्यो भने उति ग्रहहरु शान्ति हुन्छन् भन्ने विश्वास र मान्यताले जति सक्यो उति नै कसेर फाल्ने गर्दछन् । कोही कोहीले अगुल्टो पनि फाल्ने गर्दछन् । यस्तो गर्नाले रोगव्यादि, ग्रहदशा लाग्दैन भन्ने परम्परागत मान्यता छ । भने कतै कतै लुतो फाल्ने पनि गरेको पाइन्छ । राँको फाल्दा कोही कसरी कराउँछन् कोही कसरी तर धेरै जसो यसरी कराउँछन् ।
काना झे:, दुन्डा झे:, असान मसान, जिनै देसान, कन्थाबरन दंकी, कालजम, कुरीकुस्त, कुलकपत, नौग्रह पार दुब्द लाङ्के ओ हो हो हो भनेर फाल्दछन् ।
नेपालीमा
(काना झे:( एउटा आँखा नभएको मान्छेलाई सताउने राक्षस स्वभावको अदृश्य शक्ति}, दुन्दा {अपांग} झे:, असान मसान {अकालमा मरेका मृत आत्माहरूले अदृश्य शक्तिको रपमा जिवित मानवहरूलाई सताउन भएको शक्ति}, जिनै देसान { रगत रगत दिशा गर्ने रोग र रुघाखोकी}, कन्थबरन दंकी {क्यानसर र दम}, कालजम {मान्छेलाई मार्न तम्सेका अदृश्य शक्तिहरू}, कुरीकुस्त {कुस्तोरोग}, कुलकपत {अरूबाट गरिएको तान्त्रिक छल}, नौग्रह, पार दुब्द {सबै जम्मा गरेर} लाङ्के {लैजाउ})
यो एउटा मगरहरुको प्रकृतिप्रतिको समर्पण र पुर्खौदेखिको सामाजिक संस्कार पनि हो । राङ्ख्या/राँके तिवार भूम्हेँसँगै जोडिएकोले केही ठाउँमा साउने संक्रान्ति पश्चात भूम्हेँमा नाचिने नाचहरु पनि यसै संक्रान्तिसँगै गरिन्छ । एक वर्षको भूम्हेँको अन्त्य पनि यसै संक्रान्तिसँगै गरिन्छ । विशेषगरी रुकुमको तकसेरामा राँके जात्राका नामले मेला लाग्दछ भने रोल्पाको वा खोला, सेरम घुस्बाङ, ह्वामा र धाँसीतिर राँकेतिवार रामको नामले मेलाहरु लाग्दछन् ।
तिवार ठाउँ अनुसार फरक फरक ढंगले मेलाहरु गरिन्छ । रुकुमको लुगुममा एउटा चौतारो छ जहाँ सबै मगर थरका झाँक्रीहरुले वर्षको पालोगरी एक एक पठाइन्छ । त्यसपछि जम्मा भएका झाँक्रीहरुले मेला बनाउँदछन् । यस मेलामा झाँक्रीहरुका सामान बोक्ने (चुन्मे अथवा झाँक्रीहरुका चेली बिहे गर्ने मान्छे)हरुले र गाउँका सबै उमेरका मान्छेहरु मिलेर ङन्तिराम (सिस्नु मेला) बनाउँछन् । सिस्नुलाई जसलाई पायो उसैलाई हान्छन् । साथै हिलोले छेपाछेप गरी हिलो मेला गर्ने चलन पनि छ । यो मेला रुकुमको मगर खाम बोल्ने समुदायमा गर्ने गरिन्छ । यसरी असार र साउनको संक्रान्तिहरुमा भूम्हेँ अथवा बन (नाम) जमिन र म्हेँ (आगो)को पूजा गरी एक वर्षको भूम्हेँ पर्वको अन्त्य गरिन्छ।
हेर्नुहोस् तस्बिरहरू