जीवनमा अवलोकन भ्रमण, घुमफिरले सिकाइमा सहयोग गर्दछ । नयाँ ठाउँको बारेमा जानकारी, मनोरन्जन तथा झन आफ्नै देश गाउँ, ठाउँको बारेमा बुझ्नु महत्वपूर्ण कुरा हो । अन्नपूर्ण र लमजुङ हिमालहरु चारैतिरबाट डाँडा काँडाले घेरिएको अगाडि ठिङ्ग उभिएको छ ।
हाम्रो गाउँ कास्कीको ताङतिङ रमाइलो छ । वर्षायाममा लामो वर्षे विदा भएको हुनाले लेखपढ र घुमघाम गर्न मेरो लागि राम्रो उपयोगी समय रह्यो ।
म विदाको बेला प्राय देश भित्रको गाउँहरु घुमिरहन्छु । कहिले काँही देश बाहिर पनि अध्ययन भ्रमणमा गइरहन्छु । अनि घुमफिर र त्यसबाट पाएको ज्ञान नयाँ ठाउँहरुको बारे प्राय लेख्ने गर्दछु । २०७९ साल असारको पहिलो हप्ता कन्सेप्ट नेपालको परिकल्पनाकार मित्र पत्रकार तथा ग्रामिण पर्यटनको अभियन्ता अमृत भादगाउँलेज्यूले तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. १३ आँपस्वारा काव्य यात्रामा सहभागि हुन तथा नेपालको पहिलो दलित होमस्टेको अध्ययन तथा अवलोकन भ्रमणमा जानको लागि निमन्त्रणा गर्नुभयो । म आफै पनि कास्कीको ताङतिङमा ताङ्तिङ होलिडे एण्ड गुरुङ होम होमस्टे संचालन तथा ग्रामिण पर्यटनको विकासमा एक दशकदेखि लागिरहेको छु । लेखन मेरो अति रुचिको विषय भएको हुनाले आँपस्वारा तनहुँमा हुने काव्य यात्रामा सहभागि हुनलाई जाने निर्णय गरियो ।
अन्नपूर्ण र लमजुङ हिमालको नजिकै मादी नदीको शिरमा समुन्द्र सतहबाट १६६० मिटरमा वर्षभरि जाडो हुने ताङतिङ गाउँबाट असार १४ गते पोखरा झरियो । पोखरामा गर्मि रहेछ । असारको १५ गते विहान पत्रकार घनश्याम पौडेल, लेखक गणेश पौडेल र म पोखराबाट ११ बजे तनहुँको दमौली जानलाई बसमा चढियो । बसमा यात्रा गर्दा निकै भिडभाड थियो । कन्टक्टर भाइले निकै मिजाशिलो तवरले आदर सम्मान साथ माया गरेर बाटोको चोक चोकमा उभिरहेका यात्रुहरूलाई विश्वासमा पारेर बसमा चढाउदै गरेका थिए । म झ्यालबाट ती कन्डक्टर भाइको यात्रुलाई सम्झाएर बसमा चढाउन सक्ने खुबी कला देखेर दङ्ग पर्दै थिए । थाहै नपाई हामी दमौलीमा पुगियो । कवि सागर उदासको घरमा हामी केही समय साहित्य तथा ग्रामिण पर्यटनको विकासबारे छलफल गरियो । सागर उदासजी केही महिना अगाडि मेरो गाउँ कास्कीको ताङतिङ गाउँको भ्रमण तथा क्रपुडाँडामा हिउँ खेल्न आउनुभएको थियो ।
काठमाडौँबाट आउनुभएका अग्रज कवि लेखक तथा पत्रकार साथीहरुसँग कवि सागर उदासको घरमा भेटघाट भएपछि हामी व्यास गुफा, मादी र सेती मिसिएको दोभान बेनीघाट र दमौली बजारको भ्रमण गरियो । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालमा पग्लेको हिउँबाट मादी नदीको उत्पत्ति भई मेरो गाउँ कास्कीको ताङतिङ र सिक्लेस गाउँको बीच भई बग्दै आएको मादी नदी तनहुँको दमौली बजार नजिक सेती नदीसँग मिसिन्छ ।
ताङतिङ जस्तो जाडो ठाउँमा बसिरहने हुनाले मलाई दमौली ज्यादै गर्मी लाग्यो । दमौलीको सुक्ष्म अवलोकन भ्रमण पछि दमौलीबाट ६ कि.मी. टाढा रहेको व्यास नगरपालिका वडा नं. १३ मा रहेको आँपस्वारा जानलाई हामी बसमा चढियो ।
यसरी हामी कवि, लेखक, पत्रकार, पर्यटनकर्मी करिब दुई दर्जन सहभागीहरु समयमा नै आँपस्वारा पुगियो । मनमा खुल्दुली बढ्दै थियो । आँपस्वारामा आँप टन्नै पाइन्छ होला भन्दै मनमा सोचिरहेको थिएँ नभन्दै हामी ठूलो दुईवटा आँपको रुख भएको चौतारी नजिकै रहेको आँपस्वाँरा सामुदायिक दलित होमस्टे, विश्वकर्मा समाज भवन व्यास १३ आँपस्वारामा पुगियो । जुन समाज भवन स्थानीय दलित समुदायको जनसहभागितामा बनाएको रहेछ । हामी त्यहाँ पुग्दा स्थानीय आँपस्वारा दलित होमस्टेका संचालकहरु आमा दिदीबहिनीहरु, बुबाहरु, दाजुभाइहरु हाम्रो स्वागत गर्नका लागि फूलका माला लिएर लाइनमा उभिएका थिए । उहाँहरुले आएको अन्तर आत्माबाट माया र सम्मानले फूलमालो हाम्रो टोलीलाई सम्मान गर्नुभयो । स्वागत कार्यक्रम सकेपछि केही समय फोटो खिच्ने कार्यक्रम भयो । त्यसपछि समाज घरमा सबैको परिचय कार्यक्रम भयो । काठमाडौं र चितवनबाट आउनुभएका कवि, लेखक, पत्रकारहरू अभय श्रेष्ठ, सुमन थापा “संगम” मनिषा गौचन भुपेन खड्गा लगायत अग्रज साहित्यकार र पत्रकारहरूसँग परिचित हुने अवसर पायो । स्थानीय आँपस्वारा सामुदायिक दलित होमस्ते सञ्चालक समितिका पदाधिकारीहरुले पनि आआफ्नो परिचय र घरबास सञ्चालन गर्दाको अनुभव तथा आँपस्वारामा विभेदकिरणको विरुद्धमा उहाँहरुले विगतदेखि हालसम्म गरेका प्रयासहरूबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
आँपस्वारा सामुदायिक दलित होमस्टेको अध्यक्ष रेशम विश्वकर्माको भनाई अनुसार यो होमस्टे नै नेपालको पहिलो सामुदायिक दलित होमस्टे हो । जुन २०७२ सालमा स्थापना भएको हो । हाल यस होमस्टेमा १८ घरले पाहुना राख्ने गरेको रहेछ । नेपालको पहिलो सामुदायिक दलित होमस्टेको अध्यक्ष रशेम वि.क र उहाँको टिमको व्यवस्थापन, अतिथि सत्कार, टिम वर्क, कामको बाँडफाँडबाट हाम्रो काव्य यात्रा २०७९ को सबै टिम अति प्रभावित भयो ।
मधुमाया विश्वकर्मा दिदीले समाजमा नेतृत्व लिएर समाजसेवा गर्दा देशविदेश घुम्दाको सङ्घर्षको कथा सुनाउनु भयो । सङ्घर्षले नै आफू सफल भएको कथित छुवाछुतको विरुद्धमा आफूले जनचेतना जगाउन सफल भएको कुरा पनि उहाँले हामीलाई सुनाउनुभयो ।
यसरी खाजा खाएर हामीलाई फरक फरक घरमा आँपस्वारा सामुदायिक दलित होमस्टेका सदस्यहरुले आ–आफ्नो घर लानुभयो । आँपस्वारामा ५० घर दलितहरुको घर रहेछ । घरहरू एकदेखि अर्को छरालिएर रहेको रहेछ । घरको वरिपरि प्रशस्त करेसाबारी खेतबारी जताततै वरिपरि हरियाली रुख बोटबिरुवा देखिन्थे । आँपस्वाराबाट वरिपरिको थुप्रै डाँडाकाँडा गाउँहरु देख्न सकिन्छ । मौसम राम्रो भएको बेला अन्नपूर्ण हिउँश्रृंखला मज्जाले हेर्न सकिन्छ । यहाँबाट दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाईड्रोपावर, सुन्तला बगान, तनहुँसुर डाँडा लगायत अन्य धेरै डाँडाकाँडा गाउँ बस्ती हेर्न सकिन्छ ।
म र कवि भुपेन खड्ग करिब १० मिनेटको हिडाई पछि टिका विश्वकर्मा दिदीको होमस्टेमा पुगियो । टिका विश्वकर्मा दिदीको घर जाने बाटोमा मुल मोटरबाटोबाट मोटरसाइकल र मान्छे हिड्न मिलने ढुङ्गा ग्राभिलिङ गरेका सफा बाटो बनाएको रहेछ । आँगनमा ढुङ्गा बिच्छाएका परम्परागत शैलीका दुई तले चिटिक्क परेका घर रहेछ । कवि भुपेन खड्ग र मलाई सुत्नको लागि एउटा कोठा उपलब्ध गराउनु भयो । घरमा वाईफाई जोड्नु भएको रहेछ । छुट्टै भान्छा घर, सुत्ने कोठाहरु छुट्टाछुट्टै र सरसफाई पनि राम्रो थियो । घरको परिवारको सदस्यहरु पनि अति मिलनसार थियो । हामीले असार १५ गतेको रात रमाइलो गरी टिका दिदीको घरमा बितायौ । भुपेन जी राम्रो र स्थापित कवि साहित्यकार हुनाले उहाँसँग साहितयबारे धेरै भलाकुसारी गर्ने मौका पनि पायो । बेलुका हाम्रो होमस्टे नजिकै लेख बहादुर विश्वकर्माको घर र नजिकै अरू घरहरूमा बस्नु भएका लेखक कवि पत्रकार साथीहरु गणेश पौडेल, सागर उदास, अमृत भाँदगाउँले र सबैसँग मिलेर आँपस्वारा सामुदायिक दलित होमस्टेमा रमाइलो नाचगान गरियो ।
अर्को दिन असार १६ गते बिहान चिया नास्ता खाएर गाउँमाथि सिरानमा डाँडामा रहेको थानीमाई मन्दिरको दर्शन गरियो । मगर गाउँ पनि घुम्ने मौका पायो । बिहानको मन्दिरको दर्शन तथा हाईकिङ पछि हामी सबै आ–आफ्नो होमस्टेमा फर्कियो । बिहानको खाना खाएपछि हामी सबै दुईवटा आँपको रुख भएको चौतारा भएको आँगनमा जम्मा भयौ । जहाँ आँपस्वारा सामुदायिक दलित होमस्टे तथा विश्वकर्मा समाज भवन रहेको छ ।
आँपस्वारा काव्य यात्रा २०७९ को कार्यक्रममा सहभागी हुन स्थानीय गाउँलेहरू, होमस्टे संचालकहरु युवाहरु पनि उपस्थित भइसकेका थिए । प्रमुख अतिथि व्यास नगरपालिकाको मेयर बैकुण्ठ न्यौपानेको आगमन भइसकेको थियो । व्यास नगरपालिकाको पर्यटन तथा उद्योग हेर्ने हाकिम साब मेघराज आचार्य १५ गते बेलुकाबाट नै हाम्रो अभियानलाई सफल पार्न हामी सँगै सहभागी हुनुभएको थियो ।
कन्सेप्ट नेपालको परिकल्पनाकार ग्रामिण पर्यटन अभियन्ता वरिष्ठ पत्रकार अमृत भाँदगाउँलेले साधरण तर अति प्रभावकारी ढंगले कार्यक्रम शुरु गर्नुभयो । काठमडौँ, चितवन, पोखराबाट आउनु भएका अग्रज आदरणीय श्रष्टा कवि, कलाकार, पर्यटन अभियन्ता र पत्रकारहरूले कार्यक्रममा सहभागी जनाए । काठमाडौंबाट आउनु भएका अभय श्रेष्ठले जातप्रथा, छुवाछुत प्रथाको इतिहास यसले गाउँ र समाजमा तथा मानव जीवनमा पारेको नकरात्मक प्रभाव र यसलाई न्यूनिकरण गर्ने उपायहरु आफ्नो अति सारगर्भित प्रस्तुतिकरण गर्नु भयो । चितवनबाट आउनु भएका कवि भुपेन खड्ग, काठमाडौंबाट आउनु भएका सुमन थापा ‘संगम’, मनिषा गौचन, भवानी शिलाकार, हेमन्त विवश, धु्रव मधिकर्मी, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, कृष्ण गोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकारले छुवाछुत प्रथा विरुद्ध तथा आँपस्वारा सामुदायिक दलित होमस्टे ग्रामिण पर्यटन प्रवद्र्धन गर्नलाई आ–आफ्नो रचना कविता वाचन तथा भनाइहरु राख्नु भएका थिए ।
पोखराबाट आउनु भएका लेखक गणेश पौडेल, पत्रकार घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत क्षेत्री, संजिव पौडेल पोखरा पर्यटन परिषदका सचिव पर्यटन अभियन्ता तारानाथ पहारी र लेखक तथा पर्यटनकर्मी प्रकाश गुरुङ लगायतले छुवाछुत विरुद्ध तथा आँपस्वाराको पर्यटन प्रवद्र्धन प्रचारप्रसार गर्नको लागि आफ्नो भनाईहरू तथा प्रतिवद्धता गर्नु भएको थियो । उक्त कार्यक्रममा कवि सागर उदास, पत्रकार सम्झना रसाइली व्यास नगरपालिकाको पर्यटन तथा उद्योग विभागको प्रशासकिय अधिकृत मेघराज आचार्यले कविता वाचन तथा आ–आफ्नो भनाई राख्दै आँपस्वारा सामुदायिक होमस्टेलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम सञ्चालक आँपस्वारा काव्य यात्राको संयोजक तथा कन्सेप्ट नेपालको प्रतिनिधि वरिष्ठ पत्रकार, पर्यटन अभियन्ता अमृत भादगाउँलेले भने छुवाछुत प्रथाको न्यूनिकरण गर्न, छुवाछुत विरुद्ध जनचेतना जगाउन, आँपस्वाराबासीको ग्रामिण पर्यटन विकासमा सहयोग गर्न, आँपस्वारा सामुदायिक दलित होमस्टेको प्रचारप्रसार गर्न तथा कवि तथा लेखक पर्यटन अभियन्ताहरुलाई गाउँलेहरूसँग साक्षात्कार गर्ने हाम्रो काव्य यात्राको प्रमुख उद्देश्य रहेको कुरा बताउनु भयो । प्रमुख अतिथि व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपानेले आँपस्वारा सामुदायिक दलित होमस्टे र समग्र गाउँको विकासमा व्यास नगरपालिकाले सक्दो सहयोग गर्ने कुरा बताउनु भयो । यस्तो महत्वपूर्ण छुवाछुत विरुद्ध चेतना जगाउने कार्यक्रम गर्नु भएकोमा कन्सेप्ट नेपाललाई धन्यवाद दिनु भयो । अतिथि व्यास १३ को वडा अध्यक्ष वसन्त थापाले गाउँमा यस्तो राम्रो कार्यक्रम गर्नु भएकोमा धन्यवाद दिनुभयो । आँपस्वारा काव्य यात्रा २०७९ कार्यक्रमको अध्यक्ष रेशम वि.कले कन्सेप्ट नेपालले यस्तो राम्रो कार्यक्रम गर्नलाई देशभरिको स्थापित कवि लेखकहरुलाई आँपस्वारामा ल्याएर सबैसँग होमस्टे सञ्चालन तथा गाउँको छुवाछुतको समस्या, यसको न्यूनिकरणको उपायहरु, चेतनामूलक कुराहरुबारे कवि लेखन तथा पत्रकारहरूसँग साक्षात्कार गर्न पाउँदा आफू र सबै गाउँलेहरू खुशी रहेका कुरा बताउँदै कार्यक्रम समापन गर्नु भएको थियो । उक्त अवसरमा आँपस्वारा शिल्पकार तथा गाउँका विभिन्न परम्परागत पेसा, संस्कृतिको संरक्षणमा लाग्नु भएका व्यक्तित्वहरु माटोका गहना बनाउने मेनुका बि.क, पेशागत रूपमा आरनको काम गर्ने डिलबहादुर बि.क, कुशल वाद्यवादक सुन्दर बि.क र बाँस तथा निगालोको सामान बनाउने तुलसी बहादुर मगरलाई जनही रु १०,०००।– सहित सम्मानपत्र सहित सम्मान गरेका थिए ।
आँपस्वारा काव्य यात्रा २०७९ को औपचारिक कार्यक्रम समापान पछि स्थानीय आँपस्वारा होमस्टेमा आवद्ध आमा, दिदीबहिनीहरु, दाजुभाईहरूसँग हामी सबैले गीत गाएर, नाचेर रमाइलो गरे । बिचबिचमा छुवाछुत विरुद्ध जनचेतना फैलाउने गीतमा पनि हामी सबै नाच्यौं ।
यसरी असार १६ गतेको आँपस्वारा काव्य यात्रा २०७९ ज्यादै सफलसँग सम्पन्न भयो । हामी सबै बेलुका आ–आफ्नो होमस्टेमा गयौं । कवि भुपेन खड्ग र म टिकामाया विश्वकर्मा दिदीको होमस्टेमा गएर बेलुकाको खाना खाएर एकछिन गफ गरेर सुतियो ।
२०७९ साल असार १७ गते बिहान उठेर खाजा खाएर होमस्टेबाट बिदावारी गरेर हामी सबै आँपको रुख भएको चौतारीमा सबै जम्मा भयो । होमस्टेबाट बिदा हुँदा नरमाइलो लाग्यो । अन्त्यमा हाम्रो बिदाईको समय आईसकेको थियो । हामी बसेका होमस्टेका सबै आमाहरु, दाजुहरू हामीहरुलाई बिदाई गर्न जम्मा भएका थिए । सबैसँग अन्तिम बिदाईको हात हल्लाउँदै हामी सबै आ–आफ्नो गन्तव्य तिर लाग्यौं । म र तारा पहारी मोटर साइकलमा दमौली हुँदै दुम्सी दरै गाउँ होमस्टे व्यास–१०, दुम्सी, दरै गाउँ तिर लागियो । त्यहाँ खाना खाएर भोर्लेटार करापुटारको बाटो हुँदै मिदिम खोला, मादी खोलको पुल तरेर अर्थात तनहुँबाट लमजुङ जिल्ला हुँदै कास्कीको रुपा गाउँपालिकामा निस्कियौं । त्यसपछि बेगनासताल हुँदै पोखरा आयौं । एक रात पोखरा बसेर असार १८ गते बिहान ताङतिङ जाने ८ बजेको बस चढियो । एघार बजेतिर ताङतिङ पुगियो । असारे वर्षाले ठाउँठाउँमा मोटर बाटो बिगे्रको थियो पोखराबाट ताङतिङ जाने बाटो असारे वर्षाले ठाउँठाउँमा मोटर बाटो बिग्रेको थियो ।
गाउँ पुग्दा अन्नपूर्ण र लमजुङ हिमाललाई बादलको च्यादरले छोपिएको थियो । बादलको च्यादरलाई उघारेर अन्नपूर्ण र लमजुङ हिमाल मलाई हेरेर मुसुमुसु हाँस्दै थिए । चिसो हावाको झोकाले पुरै शरीर चिसो भएर आनन्द भएको थियो । एकपटक आफ्नो गाउँलाई गम खाएँ । आँगनको माटोको टिका लगाए । आहा ताङतिङ मनमनै सोचे ।
मन भने आँपस्वारा, तनहुँतिर नै अल्झिरहेका थियौं । आँपस्वारा सामुदायिक दलित होमस्टेका दाजु दिदीहरुको आतिथ्यता प्रिय कवि, लेखकहरुसँगको अविश्मरणिय भेटघाटले सम्झनाले सताइरहेको थियो ।