पर्वत, असार ४ गते। तत्कालीन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँड्नुभयो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गर्नुभएको थियो।
२०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले ताली बजाए। वाम गठबन्धनको झन्डै दुई तिहाइ ल्याएर उहाँ प्रधानमन्त्री पनि बन्नुभयो तर कुस्मामा रेल्वेस्टेसन बनेन, न त पोखरा–बेनी रेल नै चल्यो।
त्यसभन्दा पनि कुस्मा अहिले साहसिक पर्यटनका लागि देशकै मुख्य आकर्षणको केन्द्र बनेको छ। पर्वत आन्तरिक तथा बाह्य पर्यटकका लागि साहसिक पर्यटनको आकर्षणको केन्द्र त बन्दैछ, यो राजनीतिक तनाव कम गर्ने गन्तव्य पनि बनेको छ। प्रतिनिधि सभाको बैठकमा २०७८ फागुन १२ गते अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्ने कार्यक्रम थियो। तर राजनीतिक सहमति नबनेको र नेकपा (माओवादी केन्द्र) मा नै यसबारे द्वन्द्व रहेका कारण कार्यसूची रहेको भए पनि उहाँ पत्नीसहित झोलुङ्गे रेस्टुरेन्टमा भुल्नुभएको थियो।
त्यसयता कुस्माको साहसिक पर्यटन पूर्वाधारको अरू प्रचार भएको छ। खासमा मोदी र कालीगण्डकीको खोँचका कारण छिमेकी गाउँबाट सदरमुकाम कुस्मा आउन जानसमेत समस्या हुने ठाउँमा विसं। २०६४ मा नेपालकै अग्लो÷लामो पुलको निर्माण भएको थियो। त्यसपछि पुल अवलोकन गर्न आउने पर्यटक केही बढेका थिए। पछिल्लो समय अन्य साहसिक खेलका पूर्वाधार तयार भएपछि त पर्वत त्यसको ‘हब’ नै बनेको हो।
अहिले पर्वतमा नेपालकै नमुना आधा दर्जन अग्ला पुल, बन्जीजम्प साथै जिपलाइन र अन्य थुप्रै साहसिक पर्यटनका संरचना निर्माण भएका छन्। त्यसैले अहिले कुस्मा पोखरा–मुस्ताङ यात्रा गर्ने पर्यटकको स्टेसन बनेको छ।संरचनामध्ये नमुना बन्जिजम्प हो। निजी क्षेत्रको लगानीमा ‘द क्लिफ’ नामको कम्पनीले कुस्मा–बलेवा जोड्ने अग्लो पुल बनाएर बन्जी जम्प सञ्चालनमा ल्याएको छ। लम्बाइ ५३५ मिटर र उचाइ २२५ मिटर रहेको सम्पूर्ण संचनाको लागत करिब २८ करोड पुगेको दल क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताउनुभयो।
बन्जीसँगै पुलबाट हामफाल्ने साहसिक खेल स्विङ, पुलपारि रिसोर्ट, अग्लो भीरमा स्काई साइकलिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायत थुपै खेल संरचना निर्माण भएका छन्। एउटा संरचना निर्माण गर्दा त्यसले अरू व्यवसायलाई पनि प्रोत्साहन गरेको र धेरैलाई रोजगारीसमेत दिनु जिल्लाकै लागि महìवपूर्ण भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो।
यी सबै संरचनाले पर्वतलाई विश्व समुदायमा परिचित बनाएको छ। यसले धेरै नयाँ व्यवसाय प्रवद्र्धन गर्नुका साथै थुप्रैलाई रोजगारीसमेत दिएको छ। यो जिल्लाकै लागि महìवपूर्ण भएको अध्यक्ष अधिकारीले बताउनुभयो।
यस्ता छन् पूर्वाधार
निजी क्षेत्रको लगानीमा केबलकार मोडेलको यान्त्रिक पुल पनि यहाँ निर्माण भएको छ। कुस्मा–बलेवा जोड्ने यस पुलको व्यावसायिक सञ्चालनले कुस्मालाई छिमेकी बागलुङका दुईभन्दा धेरै स्थानीय तहहरू पनि जोड्छ। दुई घन्टाको पैदल यात्रालाई केवलकार मोडेलको यो यान्त्रिक पुलले करिब पाँच मिनेटमै झारिदिएको छ। दैनिक सयौँ यात्रु यस पुलबाट ओहोरदोहोर गर्छन्।
गुलेली शैलीको पिङ
यो पिङ फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा पनि विशेष चर्चामा छ । कम्पनीका अनुसार पिङ गुलेली शैलीमा निर्माण गरिएको छ । अरू पिङमा अरूले हल्लाइदिने वा आफैँ मच्चाएर खेल्नुपर्ने हुन्छ तर यसमा भने खेल्ने मान्छे पिङमा बसेपछि मेसिनले तानेर छाडिदिन्छ । पिङ मच्चिएर खोँचमाथि पुग्दा ‘थ्रिल’ महसुस हुन्छ । रक क्लाइम्बिङ, क्यानोनिङलगायत साहसिक खेलमा प्रयोग गरिने अन्तर्राष्ट्रिय गुणस्तरको डोरीबाट दक्ष प्राविधिकले डिजाइन गरी पिङ निर्माण गरिएको सञ्चालक कार्कीको दाबी छ ।
स्काई साइक्लिङ
स्काई साइक्लिङ केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारीमा छ । यो कालिगण्डकी खोँचको २२८ मिटर उचाइमा हुनेछ । विश्वकै अग्लो उचाइमा रहेको साइक्लिङको लम्बाइ तीन सय मिटर छ । कार्कीका अनुसार यसमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न सक्छन्। स्काई साइक्लिङमा साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैँ फिक्स ह्यान्डल भएको साइकललाई रोपमा कुदाइने उहाँले जानकारी दिनुभयो ।
जिपलाइन
कुस्मामा करिब तीन महिनाअघि जिपलाइन सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायीको लगानीमा एक हजार ४८० मिटर लामो जिपलाइनसहित थुप्रै साहसिक पर्यटनका खेल एकसाथ सञ्चालनमा छन्। हार्नेस जिपलाइनले साहसिक पर्यटनमा रमाउन चाहनेका लागि लक्षित गरेर मुलुककै लामो जिपलाइन सञ्चालनमा ल्याएको हो । कुस्मा नगरपालिका–४, चाक्लेको डिलबाट सुरु हुने जिपलाइन कालीगण्डकी नदी किनारमा पुगेर टुङ्गिन्छ । कम्पनीका निर्देशक राजकुमार बस्नेतका अनुसार कालीगण्डकीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको जिपलाइनबाट भीरको कहालीलाग्दो दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।
सिसैसिसाको पुल
कुस्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको सिसैसिसाको स्काई ब्रिज नेपालकै यस प्रकारको पहिलो रहेको र पर्यटकका लागि आकर्षक रहने लगानीकर्ताहरूको दाबी छ। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ्ग देखिन्छ। तल हेरेर डर र आनन्द दुवै लिनसक्ने गरी पुल बनेको छ।
गणेश पौडेल/गोरखापत्र