भूमे (रूकुम पूर्व) ||
२ वर्षपछि रूकुम पूर्वमा भूम्या पर्व धुमधामले मनाइँदैछ। १८ मगरात क्षेत्रको सबै भन्दा ठूलो र विशेष चाँड हो भूम्या। मगर वाहुल्य रहेको यस क्षेत्रमा भूमे पर्व परापूर्वकालदेखि मनाउने चलन छ। कोरोना महामारीका कारण २ वर्षसम्म भूम्या साधारण पूजा गरेर मनाइएको थियो।
प्रकृति पूजक मगर जातिले प्रकितिलाई पुज्ने र यो पर्वमा भूमी पूजा गरेर विशेष तरिकाले मनाउने गर्छन्। असारको पहिलो हप्तासम्म भूमे पर्व धुमधामले मनाईन्छ।
हिउँदे बाली भित्रिएको र वर्षे बाली सुरू भएको उपलक्ष्यमा यो पर्व मनाईने गरिन्छ। बालीनाली राम्रो होस् र प्रकृतिक प्रकोपबाट वर्षभरी हानि नोक्सान नहोस् भनेर यस क्षेत्रका वासिन्दाले भुम्या पर्व धुमधामले मनाउने गरिन्छ।
सांस्कृतिक अभियन्ता क्याङ्सी निवासी तिलक रोकामगरका अनुसार यो पर्व मगर लगायत दलित समुदायले भूमिलाई पूजा गर्ने र परिवार भेटघाट र खुसी साटासाट गरेर मनाउने चलन छ।
दुई वर्षसम्म कोरोना महामारीले दिल खोलेर मनाउन पाएको थिएन। यस वर्ष दाङ , काठमाडौं लगायतबाट मानिसहरू सहभागी भएका थिए।
भूम्या पर्व यसपल्ट अत्यन्तै हर्षोल्लासका साथ सुरू भएको छ। भूमे गाउँपालिका-१, लुगुम गाउँका वासिन्दाहरुले अङने डाँडा करिब (३९०० मिटर) को लेकमा फूल टिप्न सयौं स्थानीय युवा युवती सहभागी भएका थिए।
करिब ६ घण्टाको उकालो पैदल यात्रा गर्दै उनीहरू लेकमा पुगेका थिए । स्थानीय बाजा गाजाको साथमा नाच्दै गाउँदै टोली साँझ सलाराल्स्यु (३२०० मिटर) अवस्थित गोठमा बास बसेर अर्को दिन बिहानै ३ वजे नै उठेर टोली गन्तव्य तर्फ लागेका थिए।
रथ विरथ, काकाला कुबुलि, टाके कुईरे, वुकि पाति, ढस्कनि, साजेला माजेला, विन्जौरी, चेमाली, कोराली, झिला जस्ता रंगरिविरंगि फूलहरु अग्लो लेकबाट झोला भरि वोकेर युवायुवतिहरु लोगोपो (३४०० मिटर) भन्ने स्थानमा फर्किए।
सबै जनाले एक आपसमा फूल आदान प्रदान गरे, पन्थेउली (थान) मा धजा चढाएर पुर्खालाई सम्झिदै भूम्या नाचमा रमाए।
लोगोपोमा विभिन्न थर अनुसार अलग अलग पन्थेउली वनाइएको थियो। सवैले आ-आफ्नालाई पुर्खा सम्झेर पूजा गरे र आशिर्वाद समेत मागेका थिए ।
फर्किँदा पछ्यौरी गाँसेर उनीहरू लामवद्ध भएर वाजा गाजा सहित नाच्दै गाउदै ठाउँ ठाउँमा पन्थेउलीमा विसाउदै, धजा-धुप र फुल चढाउदै लुकुम गाउँ तर्फ फर्किएका थिए। पहिलो पटक फूल टिप्न गएकालाई बोकेर पन्थेउली वरपर ३ पटक घुमाए।
लुकुम गाउँमा स्थानीय वासिन्दाले भव्य स्वागत गरे, खाजा नास्ता टक्रयाउँदै र लेकबाट फर्किएका टोलीले सबै गाउँलेलाई फूलहरु वाडेर खुसी साटासाट गरेका थिए।
रूकुम पूर्व, रोल्पा जिल्ला, वाग्लुङको निसि भल्कोट लगायत क्षेत्रमा असार १ गतेदेखि ५ दिनसम्म भूम्या पर्व धुमधामले मनाईन्छ।
जेठ मसान्तको अघिल्लो दिन स्थानीय युवायुवति लेकमा फूल टिप्न जान्छन्, पन्थेउली देवताको पूजा गरिन्छ। गाउँमा भूमि अथवा भुम्या देवतालाई बलि दिएर पूजा गर्ने परापुर्वकालदेखि प्रचलन छ।
लुगुम गाउँमा मनाईएका भुम्या पर्वको तस्विरहरुः