सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र हुने अव्यवस्थित व्यावसायिक हेलिकप्टर उडानमा पूर्ण रोक लगाएको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार तथा पर्यटनमा पर्न गएको नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको जनाएको छ।
गाउँपालिकाले सन् २०२५ को सुरुबाट लागू भएको निर्णयअनुसार अब उद्धार (रेस्क्यू) उडान, आधिकारिक अनुमति लिएका कार्गो (सामान ढुवानी) उडान र चार हजार तीन सय मिटरभन्दा कम उचाइमा सञ्चालन हुने माउन्टेन फ्लाइटबाहेक अन्य सबै व्यावसायिक हेलिकप्टर उडानहरू पूर्ण रूपमा निषेध गरिएको छ।
यद्यपि, पछिल्लो समयमा केही हेलिकप्टर व्यवसायी तथा ट्रेकिङ व्यवसायीहरू नियम उल्लंघन गर्दै उडान सञ्चालन गरिरहेको पाइएकाले पालिकाले पुनः कडा चेतावनी दिएको छ। सूचनामा उल्लङ्घन गरी सञ्चालन गरिएका उडानबाट उत्पन्न कुनै पनि परिस्थितिको जिम्मेवारी सम्बन्धित हेलिकप्टर कम्पनी, प्याकेज बेच्ने पर्यटन व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटक स्वयंले बेहोर्नुपर्ने उल्लेख गरिएको छ।
पालिकाले स्थानीय संघ-संस्था, नागरिक समाज, ट्रेकिङ व्यवसायी, गाइड तथा स्थानीय बासिन्दाहरूसँग निर्णय कार्यान्वयनमा सहयोग गर्न अपिल गर्दै कुनै पनि नियमन संशोधन भएको भन्ने भ्रामक सूचनामा विश्वास नगर्न आग्रह समेत गरेको छ।
पालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाद्वारा हस्ताक्षरित सूचनामा उल्लङ्घन रोक्न कडा निगरानी र सहकार्य आवश्यक रहेको बताइएको छ।
