काठमाडौँ। चीनको राजधानी बेइजिङमा आयोजित (कोटम–२०२५) मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरू प्रस्तुत गर्दै नेपाल पर्यटन प्रर्वद्धन गरेको हो। कार्यक्रममा चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह समेत गरेको बोर्डले जनाएको छ।
अप्रिल २४ देखि २६ सम्म नेशनल एग्रीकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए। नेपाल पर्यटन बोर्डका अनुसार नेपालले हिमशृङखला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको छ।
बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ। कार्यक्रममा नेपालका लागि चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरी दंगाल र छेन्दुस्थित उप–महावाणिज्यदूत चिनामन सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गरेका थिए। उनले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गरेका थिए।
नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्यहरूलाई सुसज्जित गरी प्रदर्शन गरिएको थियो। साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवहरूका सम्भावनाहरूलाई विशेष रूपमा उजागर गरिएको थियो। यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच अन्तरक्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो।
बोर्डको रणनीतिक उपस्थितिले चिनियाँ बजारमा नेपालको पर्यटन छवि मजबुत बनाउने अपेक्षा गरिएको छ। यस सहभागिताबाट चिनियाँ पर्यटक आगमन वृद्धि, पर्यटन व्यवसायीबीच दीर्घकालीन सहकार्य विकास र नेपालको पर्यटन बजारमा नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको छ। चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम) चीनको प्रमुख बीटूबी पर्यटन प्रदर्शनी हो, जसले सन् २००५ देखि विश्वका विविध गन्तव्य र चीनका पर्यटन व्यवसायीबीच सहकार्यको महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।