चरिकोट। सोक्ला भ्यालीमा रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता २०८२ हुने भएको छ।
दोलखाको भीमेश्वर नगरपालिका- २ स्थित रक क्लाइम्बिङ महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको हो।
सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हव’को रूपमा सोक्ला भ्यालको प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुई दिने महोत्सव आयोजना गर्न लागिएको हो।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र विभिन्न स्थानीय तहको सहकार्यमा वैशाख २० र २१ गते रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।
‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरू गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं।’
सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५/२५ मिटरको दुई वटा सिंगल पिचको रकरुट तयार गरिएको छ। यसवर्ष रक रुट सय मिटरको उचाईमा पुर्याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ।
-1745682997.JPG)
सदरमुकाम चरिकोटबाट ८ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको छ।
सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ।
महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन्। रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुती रहने छन्।
कार्यक्रममा हिमाल आरोही, स्काउट, नेपाल आमी, शसस्त्र प्रहरी, नेपाल प्रहरीसँगै पर्यटक प्रहरीको समेत सहभागीता रहेन छ। साथै पर्यटन संघ, संस्थाको समेत सहभागीता रहने आयोजकले जनाएको छ।
रक क्लाइम्बिङ प्रतियोगिता
रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ। यस अवसरमा रक क्लाइम्बिङ प्रतियोगिता समेत गराइने छ। प्रतियोगितमा सहभागी हुने आरोहीले एक हजार शुल्क तिर्नुपर्ने छ। प्रतियोगितामा सहभागी हुनेले नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन्।