काठमाडौं। अब सगरमाथा चढ्न चाहने पर्वतारोहीले कम्तीमा एकपटक ७ हजार मिटरभन्दा अग्लो कुनै नेपाली हिमाल सफलतापूर्वक आरोहण गरेको प्रमाण पेश गर्नुपर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ।
त्यस्तै हिमालचुलीको उचाइका आधारमा अनुमति अनिवार्य हुने वा नहुने व्यवस्था गरेको छ। अनुमति आवश्यक पर्ने हिमालमा जान चाहने पर्वतारोहण दलले पर्वतारोहण योजना, दस्तुर र आवश्यक कागजातसहित विभागमा निवेदन दिनुपर्नेछ।
निवेदन दिँदा पर्वतारोहण दलका सदस्य, सम्पर्क अधिकृत, सरदार, पथप्रदर्शक र अन्य सहयोगीहरूले एक महिनाभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्र पेश गर्नु पर्नेछ। स्वास्थ्य अवस्था सन्तोषजनक नभएको पाइएको व्यक्तिलाई भने अनुमति दिइने छैन।
विभागले प्राप्त निवेदन र कागजातको मूल्याङ्कनपछि आवश्यक देखिएमा पर्वतारोहण मार्ग र सर्त तोकी अनुमति दिन सक्नेछ। साथै, पर्वतारोहणको समय, दस्तुर, सर्त, उपलब्ध सेवा, गुणस्तर, पर्वतारोहीको न्यूनतम उमेर र अनुभव सम्बन्धी प्रावधान तोकिएको मापदण्डअनुसार हुनेछ।
