१८ वर्षदेखि पर्यटन क्षेत्रमा काम गरिरहेकी अनु नेपालकी एक अनुभवी र्याफ्टिङ र ट्रेकिङ गाइड हुन्। ‘विगत १८ वर्ष देखि पर्यटन क्षेत्रमा आवद्ध छु। म र्याफ्टिङ, ट्रेकिङ गाइडको रुपमा आबद्ध छु,’ अनुले आफ्नो परिचय दिइन्। सन् २००७ मा अनुले यो यात्रा सुरु गरेकी थिइन्। उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। एक जना दाइले खोला रिसोर्टमा काम गर्ने अवसर दिए पछि उनको यात्रा शुरु भयो। रिसोर्टमा काम गर्दा नै अनुलाई र्याफ्टिङप्रति रुचि जाग्यो र त्यही क्षेत्रमा लाग्ने निर्णय गरिन्।

‘मेरो सुरुवात रिर्साेटमा क्याम्प हेल्परको रुपमा काम गर्दा भएको हो। परिवारको आर्थिक स्थिति कम्जोर भएकोले मलाई एक जना दाइले खोला रिर्साेटमा काम गर्छौं भनेर सोध्नु भयो,’ अनुले सम्झिन् सुरुमा हेल्परको रूपमा काम सुरु गरेकी अनुले बिस्तारै दक्षता हासिल गर्दै गइन्। काम सिक्नका लागि उनले कम्पनी संचालकहरूसँग अनुरोध गर्थिन्। बिना पैसा पनि उनी काम सिक्न तयार थिइन्। सिक्ने चाहना र लगनशीलताले गर्दा अनु विस्तारै अगाडि बढ्दै गइन्।
-1745564549.jpg)
समाजको दृष्टिकोण उनको लागि ठूलो चुनौती थियो। केटाहरूको बीचमा रहेर काम गर्नुपर्ने, दिनौंसम्म घरबाट टाढा बस्नुपर्ने भएकाले छिमेकीहरू उनको बारेमा कुरा काट्थे। ‘अहिले पनि हाम्रो समाजको अवस्था हामी सबैलाई थाहा छ। केटाहरूको बीचमा रहेर काम गर्नुपर्ने ७÷१० दिन बाहिर रहनुपर्ने किन यसले यस्तो काम गरेको होला भन्थे,’ अनुले आफ्नो अनुभव सुनाइन्। तर उनको परिवारले भने उनलाई सधैँ साथ दिए। समाजले सोच्ने कुराहरू भन्दा आफ्नो लक्ष्य महत्वपूर्ण ठान्दै अनु अघि बढिन्। ‘मेरो घरपरिवारबाट कहिले पनि यस्तो काम नगर यो नगर त्यो नगर भन्नु भएन। वहाँहरूले साथ दिनु नै भयो,’ अनुले कृतज्ञता व्यक्त गरिन्। र्याफ्टिङको क्षेत्र जोखिमपूर्ण छ। तर अनुले कहिल्यै हार मानिनन्। शारीरिक चुनौतीहरू हुँदाहुँदै पनि उनी लगनशील भएर लागिरहिन्। उनको यो दृढताले नै उनलाई सफलता दिलायो।
-1745564547.jpg)
‘खोलाको काम अलिकति खतरा नै हुन्छ। त्यसमाथि हाम्रो हामी जस्तो छोरी मान्छेहरूको शारिरक अवस्थाले पनि कहिले समस्या आउँछ। तर मैले कहिले यो काम गर्न सक्दिनँ भनिन हिमत्त हारिन,’ अनुले भनिन्। सन् २०१४ मा अनुले ट्रेकिङको र सन् २०१६ मा र्याफ्टिङको लाइसेन्स हासिल गरिन्।
अहिले उनी आफैले लिड गरेर सगरमाथा क्षेत्र, अन्नपूर्ण, लाङटङ जस्ता क्षेत्रहरूमा ट्रेकिङ गर्छिन्। नेपालको पर्यटन क्षेत्रमा अहिले थुप्रै चुनौतीहरू छन्। हाइड्रोपावर आयोजनाहरूले र्याफ्टिङ क्षेत्रमा असर पारेको छ। पहिले ९–१० दिनसम्म चल्ने र्याफ्टिङ अहिले १–२ दिनमै सीमित भएको छ। यस्ता समस्याका कारण धेरै र्याफ्टिङ गाइडहरू विदेश पलायन हुन थालेका छन्। ‘र्याफ्टिङ क्षेत्रलाई चुनौति भनेको हाइड्रो देखिएको छ। हाइड्रो पनि हामीलाई चाहिन्छ, हामीले राम्रो योजना बनाएर काम गरेको भए सहज हुन्थ्यो होला,’ अनुले चिन्ता व्यक्त गरिन्।
-1745564549.jpg)
याे पनि: कृष्णकुमार मगरः भरियादेखि अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्मको यात्रा (भिडियाेसहित)
यी सबै चुनौतीका बाबजुद अनु आशावादी छिन्। उनले अहिले आफ्नै ट्रेकिङ एजेन्सी सञ्चालन गरेकी छिन्। स्वीडेनमा बस्ने भए पनि सिजनको समयमा उनी ६ महिना नेपालमै बस्छिन् र पर्यटकहरूलाई सेवा दिन्छिन्। अनुका लागि र्याफ्टिङ र ट्रेकिङ खाली पेशा मात्र होइन, अध्यात्म पनि हो। यसले उनको मनमा शान्ति प्रदान गर्छ। ‘र्याफ्टिङ, ट्रेकिङ भनेको मेरो लागि चै अद्यात्म जस्तै हो। मनमा शान्ति प्राप्त हुन्छ त्यसैले पनि म सकुन जेल यहि क्षेत्रमा रहेर काम गर्ने छु,’ अनुले आफ्नो प्रतिबद्धता व्यक्त गरिन्।
-1745564547.jpg)
अनुको विचारमा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना छ। प्रकृतिले हामीलाई धेरै कुराहरू दिएको छ। त्यसको संरक्षण र प्रचार गर्न सके नेपालको पर्यटन व्यवसाय सफल हुने उनको विश्वास छ। ‘मलाई हाम्रो नेपालको पर्यटन क्षेत्रको सम्भावाना राम्रो छ जस्तो लाग्छ। हामीले केही संरचना बनाउन परेको छैन प्रकृतिले हामीले धेरै कुराहरु दिएको छ,‘ अनुले आशावादी स्वरमा भनिन्। अनु श्रेष्ठको कथा नेपाली महिलाहरूका लागि प्रेरणादायी छ। परम्परालाई चुनौती दिंदै आफ्नो इच्छा अनुसार पेशा रोज्न र त्यसमा सफल हुन सकिन्छ भन्ने उनको जीवनले सिकाउँछ।उनै श्रेष्ठसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।
-1745564837.jpg)
-1745564829.jpg)
-1745564827.jpg)