नेपाल पर्वतारोहण संघ (एनएमए)को प्राविधिक सहयोगमा मनाङमा सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतहरूलाई पर्वतारोहण उद्दारसम्बन्धी तालिम प्रदान गरिएको छ। दुई सातासम्म चलेको तालिममा ४५ जना सशस्त्र प्रहरी सहभागी थिए।
सशस्त्र प्रहरीले हिमाली क्षेत्रमा सीमा सुरक्षा, पर्वतीय क्षेत्रमा जोखिम र विपत्तिमा उद्दारमा खटिने जवान तथा अधिकृतहरूलाई प्रशिक्षण दिने गर्छ। त्यसका लागि सशस्त्रले मनाङको हुम्डे (३४ सय मिटर उचाइ) मा ‘सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय तालिम उद्दार शिक्षालय’ स्थापना गरेको छ।

सशस्त्रले सो शिक्षालयमार्फत् जवान र अधिकृतहरूलाई पर्वतीय उद्दारका लागि आवश्यक तालिम प्रदान र अभ्यास गराउने गर्छ। यही कार्यलाई निरन्तरता दिँदै सशस्त्रले एनएमएको प्राविधिक सहयोगमा दुईहप्ते तालिम सञ्चालन गरेको हो।
प्रशिक्षणमा एनएमएका वरिष्ठ प्रशिक्षक सञ्जीव गुरुङ र पासाङ लामा सहभागी रहेको एनएमले जनाएको छ। तालिममा सशस्त्रका १० जना प्रशिक्षकसँगै गुरुङ र लामाले माउन्टेन उद्दार विशेषज्ञको भूमिकामा थिए।

तालिम अवधिभरमा रक क्लाम्बिङ, सेल्फ सेक्यू र लिफ्टिङ (Z-पुल्लि) सिस्टम रेक्यू, र्यापलिङ सिस्टम, टेन्डम रेक्यू र मल्टिपिच रक क्लाम्बिङ सिस्टमको अभ्यास गराइएको वरिष्ठ प्रशिक्षक गुरुङले एभरेष्ट पेडियालाई बताए। उनकाअनुसार यी तालिमहरू पहाडी तथा पर्वतीय क्षेत्रमा उद्दारका लागि आवश्यक पर्छ।
पर्यतीय उद्दारमा टेवा पुर्याउने सञ्चालन गरिएको यस तालिममा सहभागी हुन पाउँदा खुसी लागेको प्रशिक्षक गुरुङले बताए। ‘राज्यको सुरक्षमा खटिएका प्रहरीलाई तालिम दिन पाउँदा खुसी लाग्यो’, गुरुङले भने। यद्यपि, शिक्षालयमा पर्वतीय उद्दारसम्बन्धी प्रशिक्षण दिने विज्ञको अभाव रहेको महसुस गरेको गुरुङको भनाइ छ।

एनएमए तालिम सञ्चालन समिति संयोजक राजेन्द्रबहादुर लामाका अनुसार हिमाली क्षेत्रमा बस्ने सबै मानिसका लागि सुरक्षाको दृष्टिकोणले यस्तो खालको तालिम आवश्यक छ। यही आवश्यकतालाई महसुस गरेर एनएमले पर्वतीय तालिमसम्बन्धी पाठ्यक्रम नै बनाएको छ। यही मेसोमा आफ्ना प्रशिक्षकमार्फत् सशस्त्रको तालिमलाई सघाउन पाएकोमा खुसी लागेको संयोजक लामाले बताए।
उनले भने, ‘यो राम्रो कुरा हो। यस्तो तालिम सबैले गर्नुपर्छ। त्यसमा पनि सशस्त्रको टोलीले गरिरहेको छ, यसमा हामी पनि सघाउन पाएकोमा खुसी लागेको छ।’

सशस्त्रले आगामी आर्थिक वर्षमा ग्लासियर (हिमनदी)मा थप उद्दार र आरोहणसम्बन्धी तालिम प्रदान गर्ने योजना रहेको जनाएको छ।


