वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन्।
नगरपालिकाले उत्पादन बढाउने योजनासहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन्।
अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन्। पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ।
अनुदानमा आधुनिक खोर निर्माण गर्नु भएकी वालिङ नगरपालिका– ५की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताइन्। उनले भनिन्भ, ‘माैलिक तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब सजिलो हुने भयो।’
अहिले १२ बाख्रा पाल्दै आएकी मल्लले अब खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने बताइन्। गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएको उनको भनाइ छ। मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्वी महिला कृषक समूहकी अध्यक्ष हुन्।
३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताइन्।
वालिङ नगरपालिका– ५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले बताए। नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको उनको भनाइ छ। कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन्।
बाख्राको नस्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खाँणले बताए। उनले भन्नुभयो, ‘साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं।’ वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खाँणको भनाइ छ।
बाख्रा पालनलाई व्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए। निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सवल बनाउने पालिकाको योजना रहेको उनको भनाइ छ।
नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४,५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए। आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका र सरसफाई सम्बन्धी जानकारी दिँदै आएको उनको भनाइ छ।