मकालु पदयात्रा- १ ।
जीवन होस् वा यात्रा, मलाई उतारचढाव मन पर्छ। सानो पोखरीजस्तो स्थिर र शान्त होइन, पहाडी नदीजस्तै। मकालु हिमालको आधारशिविरबाट बग्ने बरूण नदीजस्तो। जो कहिले चुपचाप चुपचाप बग्छ शान्त भएर। तर, यही नदी कहिले चट्टानको शिरबाट फाल हान्छ बेतोडले। कहिले पर्वत र चट्टानसँग सिंगौरी खेलर बटारिँदै बग्छ। जीवन होस् वा यात्रा, जमिरहनु निरश हुन्छ। मकालु आधारशिविरको यो पदयात्रा यस्तै उतारचढावमय यात्रा हो।
दुनियाँका थुप्रै कवि, लेखक र चिन्तकहरूले जीवनको यो रहस्यसँग साक्षात्कार गरेका छन्। १४औं शताब्दीका इटालीयन कवि दाँतेले आफ्नो डिभाइन कमेडीमा लेखेका छन्, ‘जीवन यात्राको मध्यबिन्दुमा पुगेपछि म आफूलाई अँध्यारो जंगलमा हराइरहेको पाउँछु, जहाँबाट उम्किने सीधाबाटो हराएको हुन्छ।’
सबैको जीवनमा यस्तो क्षण आउनसक्छ तर यहाँ जीवन सकिँदैन। ‘डिभाइन कमेडी’को लगभग ६ सय वर्षपछि जेआरआर टोल्किनले लेखे, ‘सबै घुमक्कडरू हराउँदैनन्।’
बुद्ध पनि जीवनलाई यात्रा नै मान्छन्। त्यसैले उनले भनेको हुनुपर्छ- मैले गर्न सक्ने भनेको बाटो देखाउने मात्र हो, हिँड्ने काम त तिमी आफैंले गर्नुपर्छ। उनले भनेका पनि रहेछन्, ‘गन्तव्यमा पुग्नु भन्दा यात्रा गर्नु सुन्दर हो।’
लक्ष्मीप्रसाद देवकोटाले पनि लेखेका थिए:
प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण।
हामी हिँड्दै छौं, उकालै उकालो। संखुवासभाको खाँदबारीबाट किमाथांका जाने मोटरबाटो पछ्याउँदै गए पुगिन्छ- सुन्दुर नुम गाउँ। नुमबाट अरूण तरेपछि पुगिन्छ सेदुवा। यसपालि अरूणमा पुल बन्यो, सेदुवा गाडी पुग्यो। मकालु आधारशिविरको पदयात्रा अब नुमबाट होइन, सेदुवाबाट सुरू हुन्छ। सेदुवाबाट टाँसीगाउँसम्म मोटरबाटो तन्किसकेको छ, यस्तो बाटोमा तन्किन सजिलो हुने नै भयो। टासीगाउँको फेदबाट भने सुरू हुन्छ उकालो- ढुंगा छापेका सिँढी उक्लिने सिलसिला। यो उकालो चढ्न सुरू गरेपछि नै थाहा हुन्छ- यो पदमार्गलाई किन साहसिक पदमार्गको रुपमा लिइन्छ भन्ने।

हुन त म पनि यसपालि पर्याप्त तयारी बिना नै हिँडेको थिएँ- वेपर्बाह किसिमले। उच्च हिमाली क्षेत्रको पदयात्रामा यसरी बिना तयारी हिँड्नु राम्रो होइन। यात्राका अधिकांश उतारचढाव यही बिना तयारीको यात्रा थियो। बैंगलोरबाट आइपुगेको निकिनले तीन महिना अगाडिदेखि नै जाने भनेकै हो। केही वर्ष अगाडि हामीले लाङटाङ पदयात्रा गरेका थियौं। उसलाई यो याद ताजा बनाउनु थियो। लाङटाङ यात्रामा साथमै रहेका डाक्टर नास्तिकलाई हामीले मिस गरिरहेका थियौं। उनी अहिले अमेरिकामा पिएचडी गरिरहेका छन्। निकिन काठमाडौं नआउँदसम्म मैले यात्राको कुनै तयारी गर्न सकेको थिइनँ। निकिन काठमाडौं आइसकेपछिमात्रै मकालु जाने भन्ने भएको हो, त्यसको दुईतीन दिनमा हिँड्नु पर्ने थियो। बेरोजगारीले मलाई अथाह फुर्सद दिएको थियो, जुन सुविधा यसपालि निकिनसँग थिएन।
जब मकालु जाने भन्ने भयो, निकिनको अथाह उमंग म देखिरहेको थिएँ। उसले पटकपटक भनिरहेको थियो- मकालु कलिङ !!
मकालुले बोलायो, उकालो हिँड्न।
यात्रामा तनाव सुरू भयो काठमाडौंबाटै।
११ बजे भनिएको तुम्लिङटारको उडानका लागि हामी साढे नौ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थियौं। केहीबरेमा नै डिजिटल सूचना पाटीमा ‘डिले’ भएको सूचना आयो। लभगभग १ बजेसम्म पर्खिएपछि उडान रद्ध भएको सूचना दिइयो। यसको परेशानी यात्रु आफैंले व्यहोर्ने हो। तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कम भएको भनियो। केही यात्रु गाइँगुईं गर्दै थिए, प्यासेन्जर कम भयो भने बुद्ध एयरले फ्लाइट क्यान्सिल गर्दिन्छ। मैले केही भारतीय पर्वतारोही र उनीहरूको सहयोगो शेर्पाको समूह पनि देखिरहेको थिएँ, यात्रु संख्या कम नुहुनु पर्ने जस्तो लागिरहेको थियो।
तुम्लिङटार नजाने भएपछि विराटनगरलाई टिकट त सारियो तर पर्खाइको सिलसिला रोकिएन। पाँच बजे भनिएको उडान गर्न झन्डै आठ बज्यो। विराटनगर विमानस्थलबाट मूलसडकमा निस्किँदा ९ बजेर नाघिसेको थियो। मध्यरातमा धरानमा बास बसेर भोलिपल्ट बिहानै खाँदबारीको गाडी समाउनु थियो। धरान-खाँदबारीको बाटो गजबको भएकाले ठ्याक्क १२ बज्दा खाँदबारी पुगियो। राम्रो पिच भएको, खाल्डाखुल्डी नभएको सडकमा यात्रा गर्न पाउनु ठूलै कुरा हुन थालेको छ आजकल।
खाँदबारी पुग्दैमा पर्खाइको सिलसिला रोकिएन। खाँदबारीबाट नुम जाने गाडी त सजिलै पाइने रहेछ, सेदुवाको गाडी पाउनु भने संयोग हो। हाम्रै आँखाअगाडि एउटा पिकअप हिड्यो। त्यसपछि अर्का एक ड्राइभरले आफू सेदुवा जाने बताए। हामीले चारबजेसम्म उनलाई पर्खिरह्यौं।
तीन बजेपछि उनले सेदुवा जाने बचन फिर्ता लिए र अर्को गाडी खोज्न थाले। नयाँ ड्राइभर हामीलाई गाडीमा हालेर केहीबेर बजार डुलाए। पिकअपमा हुने ६ जनाको सिट नभरिए उनी जानेवाला थिएनन्, गाडी नभरिए हामी जान नपाउने निश्चित भइसकेको थियो। व्यवस्थित रूपमा गाडी चल्ने रूटबाहेक पहाडतिर धेरै ठाउँमा यो समस्या भइरहन्छ। मलाई चिन्ता भने आज सेदुवा पुग्न सकिएन भने एकदिन यात्रा लम्बिन्छ भन्ने हो।
संयोगवश नुम जाने गाडी हामी चढेको पिकअप भएकै ठाउँमा आइपुग्यो। पिकअपका ड्राइभरले गाडी रोके। सेदुवा जाने चार जना छन् भनेपछि नुम जाने गाडीका ड्राइभर सेदुवासम्मै जान तयार भए। १२ बजेदेखि पर्खिएको, चार बजे बल्ल गाडीको टुंगो भयो। रातीसम्मै भए पनि सेदुवा पुग्ने भइयो।

हामी नुम पुग्दानपुग्दै दर्के झरी पर्यो। यतिबेला नौ बजिसकेको थियो। पानी दर्किएपछि ड्राइभर दाइले मन फेरे। सेदुवा जान सकिँदैन भन्न थाले। हामीसँग सेदुवाको फेदीमा अरूण नदीमा बनिरहेको हाइड्रोपावरमा काम गर्ने जिरीका ठेकेदार मित्र राजेश खड्का र उनीसँगै आएका एकजना भाइ थिए। राजेशले आफ्नो बासस्थल छेउमै भएकाले नुममा होटलमा नबस्ने अडान राखे। मलाई पनि जतिबेला भए पनि बास बस्न सेदुवा पुग्न पाए भोलिलाई सजिलो हुन्छ भन्ने थियो। निकै जबरजस्ती अनि अलिअलि भनाभन भएपछि ड्राइभर दाइले हिँड्ने सुर गरे। सेदुवाका ६ जना महिला यात्रीहरूलाई घरघर पुर्याइएर नुम छोड्दा १० बजिसकेको थियो।
सेदुवा पुग्ने त भइयो, तर अर्को तनाव थपियो। मैले दिउँसो वडाध्यक्ष छोपेल शेर्पालाई फोन गरेर आउँदै छु भनेको थिएँ। तर, खाँदबारीबाट यता लागेपछि उनको फोन लागिरहेको थिएन। उनीसँग सम्पर्क भएन भने यति राति उनको घर कसरी पत्ता लगाउने? सोध्न पनि कसलाई सोध्ने? घर कसरी पत्ता लगाउने?
मलाई भित्रभित्रै तनाव भइरहेको थियो तर सेदुवा पुग्ने बेलामा उनको फोन लाग्यो। उनी घरबाहिर रहेछन्। आधारातमै भए पनि उनले श्रीमतीलाई फोन गरेर हामी आउँदै गरेको बताइदिए र हामीलाई पनि उनको नम्बर दिए। उनको घर पुग्नै लाग्दा पनि मलाई तनाव भइरहेको थियो- आधारातमा आउने पाहुनालाई उनले कस्तो व्यवहार गर्ने हुन् ! मैले गाडीका ड्राइभरलाई पनि सँगै लिएर आएको थिएँ। यति राति उनी पनि नुम फर्किन चाहेनन्।
रातको ११ बजे हामी वडाध्यक्ष शेर्पाको घरमा पुग्यौं। यसलाई होमस्टे, टी-हाउस वा होटल जे भने पनि भयो। भाउजूको मीठो र फरासिलो व्यवहारले थकानमै भए पनि मन प्रफूल्ल भयो। ११ बजेपछि भए पनि उनले मीठो दालभात खुवाइन्। मध्यरातमै भए पनि सेदुवा पुगेर बास बस्न पाएपछि मन ढुक्क भयो।
भोलिपल्ट बिहान कालो चिया पिएर ७ बजे हामी बाटो लाग्यौं।
सेदुवाबाट हाम्रो पदयात्रा सुरू भयो। बाहिर निस्किँदै गर्दा निकिनले फेरि दोहोर्यायो, ‘मकालु कलिङ!’ पदयात्रा सुरू गर्दा छुट्टै रोमाञ्चकता हुन्छ। यही रोमाञ्चकता बोकेर हामीले पदयात्रा सुरू गर्यौं।

यसपछिको राम कहानी सुनाउनु पहिले भनिहालौं- लठ्ठी काटेर दिने बाटोमा भेटिएका दाइलाई धन्यवाद। यसपालि हतारको यात्रामा हामी पदयात्री लौरा नबोकी गएका थियौं। पहिले सामान किन्न ठमेल गएको बेला पदयात्री लौरो किन्न बिर्सिएछ। फेरि जान भ्याइएन। त्यसैले हामी लौरो बिना हिँडिरहेका थियौं।
दाइले काटिदिएको बाँसको लौरो टेक्दै हामी अघि बढ्यौं। च्याक्सेमा चिया र चाउचाउ खाँदा झन्डै एक घण्टा अलमल भयो। यहाँबाट डेढ घण्टा हिँडेपछि टासीगाउँ पुगिन्छ, पदमार्गको अन्तिम गाउँ।
टाँसीगाउँसम्म मोटरबाटो पुगिसकेको छ। यही गाउँको फेदबाट सुरू हुन्छ उकालो उक्लिन- ढुङ्गा छापेको उकालो। यही उकालो पछ्याउँदै हामी अघि बढिरहेका थियौं। दुई जना बुढी शेर्पिनी बोजुहरू एउटा घरछेउमा बसिरहेका थिए। एकजना बोजुले निकिनलाई बोलाइन् र नेपालीमा एकपछि अर्को प्रश्न सोध्न थालिन्- कहाँ जाने? घर कहाँ हो? आदी। निकिन हाँसी रह्याे। बोजुले उसलाई आफूतिर तान्नु तानिन् र कपाल मुसार्नु भयो। उसको कर्ली कपाल आमैलाई मन पर्यो।
‘कपाल चाहिँ साह्रै राम्रो र’छ!’ एकछिन कपाल मुसारेपछि दाह्रीतिर हेरिन्, ‘दाह्री चाहिँ भएन्। छि के बनाको यस्तो?’ उनले निकिनको दारी समाएर तानिन्, उखेलौंला जस्तो गरेर।
निकिन हाँसिरह्यो।
हामीलाई हतार थियो, बोजुको माया धेरै बेर सम्हाल्न पाएनौं। फर्किँदा भेटौंला भन्ने बहाना बनाएर हामी उम्कियौं। गाउँको अलि माथि चढेपछि भेटियो- होटल मकालु बरूण। त्यहाँ भेटिए छिरिङ। उनले कालो चिया बनाएर खुवाए।
‘आज अरू मान्छे माथि गएको छ?’ मैले सोधें।
‘गको छ सर! यहीँ बसेर गको हो। दुई जना विदेशी र उसको गाइड र पोर्टर छ।’ उनले जवाफ दिए।
‘आज उनीहरू कहाँ पुग्छ?’
‘खोङ्मा गएर बस्छ। मान्छेहरू सेदुआबाट यहाँ आएर बस्छ। अनि यहाँबाट खोङ्मा गएर बस्छ।’
छिरिङले भनेपछि म छक्क परेँ। सेदुआबाट यहाँ हामी मुस्किलले साढे तीन घण्टा हिँडेका थियौं। यहाँबाट अर्को क्याम्प खोङ्मा भनेपछि त्यो पनि यति नै टाढा होला, अब तीन-चार घण्टा हिँड्दा पुगिन्छ होला भन्ने लाग्यो।
‘खाना खानु भयो त?’ यसपटक छिरिङले सोधेका थिए।
‘छैन। डाँडा खर्क पुगेर खाने भनेको ! अब कति टाढा छ?’
छिरिङले जवाफ दिए, ‘डाँडाखर्क तीन घण्टा जति लाग्छ। तर त्यहाँ होटल बन्द छ। हाम्रै होटल हो। म बिहान गएको थिएँ, तर फर्किहालेँ।’
‘त्यसोभए खाना कहाँ खाने त?’ मैले सोधेँ।
‘कि यहीँ खानुपर्यो, अब बाटोमा त छैन। कि खोङ्मा नै पुग्न पर्यो।’
‘यहाँ खान पनि भर्खर च्याक्सेमा खाजा खाएर आको, अहिले खान मन छैन।’
मेरो कुरा सुनेपछि केहीबेर विचार गरेर उनले भने, ‘डाँडाखर्क पुग्नु भन्दा पहिले एकठाउँ चौंरी गोठ आउँछ, त्यो माथ्लो गोठमा खानाहरू पनि बनाउँछ। त्यहाँ खाएर जानुहोला।’
छिरिङले उपाय बताएपछि ढुक्क भयो। त्यसैले हामी उकालो लागिहाल्यौं। यहाँबाट माथि पुरै ठाडो उकालो रहेछ, ढुङ्गाछापेको सिँढीवाला उकालो।

यस्तो उकालो चढ्दा थकान धेरै लाग्छ। उकालो लम्बिँदै गएपछि पाइला सार्न मन नलाग्ने हुनथाल्छ। हामी पाँचसात सिँढी उक्लिँदै, एकछिन सास फेर्दै, फेरि उक्लिँदै गर्दै बिस्तारी हिडैदै थियौं। ठाटो उकालो चढ्दै गर्दा मलाई चर्को भोक लाग्यो। केही बिस्किट खाएर हामी फेरि उक्लिन थाल्यौं। १ बजेतिर बल्ल छिरिङले भनेको ठाउँमा पुगियो।
बाटोमा एकजना भरिया दाइ भेटिएका थिए। उनले दुई वटा ग्यासको सिलिण्डर नाम्लो लगाएर बोकिरहेका थिए। त्यो हिमाल चढ्नेहरूको ग्यास रहेछ। हाइक्याम्प पुर्याइदिनु पर्ने उनले। हामी उनीसँगसँगै हिड्न थाल्यौं। उनी पनि खोङ्मा नै पुग्ने बताइरहेका थिए।
खर्क पुगेपछि पहिलो गोठमा हामीले चिया पियौं। ती भरिया दाइ छ्याङ खान थाले। निकिनले छ्याङ चाख्ने रहर गर्यो। पहिले उसले भक्तपुरको प्रसिद्ध छ्याङ चाखिसकेको हो, यसपालि शेर्पाली छ्याङ चाख्नु थियो उसलाई।
‘इट्स नाइस!’ उसले अर्को गिलास थप्यो।
उकालो हिँडेकाले थकान यति लागेको थियो कि बसेको ठाउँबाट उठ्न मनै थिएन। तर पनि त्यो ठाउँ आजको गन्तव्य थिएन। मन नमान्दा नमान्दै पनि खुट्टाहरूलाई बाटो लगायौं।
२० मिनेट उक्लिएपछि माथिल्लो गोठ आइपुग्यो। एक जना दाई गोठ बनाउँदै थिए। उनैले साहुनीलाई बोलाइदिए। साहुनी चौंरीगोठतिर गएकी रहिछन्।
यतिबेला साढे एक भइसकेको थियो। भोक यति धेरै लागेको थियो कि अब यहाँबाट एक पाइला पनि अघि हिँड्नसक्ने तागत थिएन। साहुनीलाई खाना बनाइमाग्यौं। उनले दाल, भात र साग पकाइन्।
खाना खाएर हिँड्ने बेला हुँदा तीन बजिसकेको थियो। हामी अझै डाँडाखर्क पुगेकै थिएनौं। डाँडाखर्कमा मात्रै खाना खाने भनेको भए हाम्रो बिजोग नै हुनेरहेछ। भोको पेटमा उकालो हिड्न सकिने थिएन।
हामी फेरि उकालो हिँड्न थाल्यौं। बेला बेला गुराँस अलिअलि फूलेको देखिन्थ्यो, चाँपका फूलहरू परैबाटो सेतो टल्किन्थे। हामी हिँड्नेबाटोमा रूखबाट खसेका गुराँस र कटुसका पातले सजाएका थिए। ठाउँठाउँमा चाँपको फूलका सेता पत्ता थपिएका र रूखको बीचबीचबाट अलिअलि घामको किरण छिरिरहेका थिए। जंगलामय यो उकालो बाटो अत्यन्तै सुन्दर देखिन्थ्यो।
हेर्दा जति सुन्दर देखिन्थ्यो, हिड्न उति नै कठिन। फेरि पनि उही- ढुंगा छापेको सिढीं उक्लेको उक्लै। यहाँबाट डाँडाखर्क आइपुग्न लगभग दुई घण्टा हिड्न पर्यो। बाटोमा खाना नखाएको भए त यहँ आइपुग्न मुस्किल पर्ने रहेछ।
निकिन हिँड्नमा जब्बर छ। लाङटाङ पदयात्रामा उसले क्यान्जिङ गुम्बाको रैथाने नवाङको गतिलाई पनि माथ दिएको थियो। तर, यसपटक उसलाई पनि त्यति सजिलो छैन। तनाव त अझ त्यसपछि थपियो, आकाश कालोमैलो भएर मडारियो। बादलबाट पानीका थोपा चुहिन थाल्यो।
पानी पर्यो भने बिजोग हुन्छ। निकिनको चिन्ता थियो- उससँग ब्याग ढाक्ने कभर रहेनछ। उ मलाई अलि छिटो हिँडौं भनिरहेको छ। म भने यहाँभन्दा अलिकति पनि गति बढाउनसक्ने स्थितिमा थिइनँ। तीन चार सिँढी चढ्दै, उभिएर सास लिँदै, फेरि तीन चार सिँढी उक्लिँदै गरिरहेको थिएँ।
मैले असमर्थता जनाएपछि निकिन निराश भयो।
‘ब्रो, आइ वान्टेड सम गुड ट्रेकिङ नट स्ट्रेचिङ लाइक दिस!’
मलाई थाहा थियो, उसलाई एडभेन्चर मन पर्छ। यो त खाली उसको तत्कालको निराशा बोलिरहेको थियो।
खासमा मकालु आधारशिविर नै रोज्नुको कारण निकिन नै थियो। ऊ काठमाडौं आउनुभन्दा पहिले नै मैले सोधेको थिएँ, ‘ब्रो, ह्वाटकाइन्ड अफ ट्रेक यु वान्ट दिस टाइम?’
‘लङ, एडभेन्चरस,’ उसको जवाफ मकालु बेस क्याम्प ट्रेकमा मिल्ने नै थियो। यसपछि कुनै अर्को सन्दर्भमा उसले भनेको थियो, ‘ब्रो आइ वान्ट टु टच स्नो !’
निकिले आजसम्म हिउँ छुन पाएको थिएन। उसलाई हिउँ छुनु थियो। यो सिजनमा हिउँ भेट्नलाई मकालु बेस क्याम्प ट्रेक सही रूट हो।
बाटोमा हिउँ भेटिन्छ भनेर साहुनीले भन्नु भएको थियो। म प्रतीक्षा गरिरहेको थिएँ। बाटो भन्दा अलि वरपर हिउँ देखिन थालेपनि बाटैमा चाहिँ हिउँ थिएन। अलि माथि पुगेपछि मैले बाटोको किनारमा जिमरहेको थोरै हिउँ देखें।
म अलि माथि उक्लिएर निकिले के गर्ने रहेछ भनेर हेरिरहेको थिएँ। निकिन त्यहाँ आइपुगेर उभियो तर हिउँ उसले देखिसकेको थिएन। मैले उसलाई बोलाएर हिउँ देखाइदिएँ।
‘वाउ ! ह्वाट इज इट?’
पहिले उसले लठ्ठीले हिर्कायो। अनि बिस्तारै गएर सानो डल्लो हातमा लियो र हेरिरह्यो। अनि भन्यो, ‘स्नो म्यान ! ओ वाहु?’
जीवनमा पहिलोपट हिउँ छुन पाउँदाको प्रतिक्रिया थियो यो उसको।
यसपछि भने बाटोमा बिस्तारै बिस्तारै गर्दै थप बाक्लो हिउँ देखिन थाल्यो। कतै कतै हिउँमै टेकेर हिड्नु पर्ने ठाउँ आउन थाल्यो।
डाँडाखर्कबाट निकैबेर उकालो उक्लिएपछि निकुञ्जको कोर क्षेत्र सुरू भएको सूचनापाटी देखिन्छ। नजिकै सानो पोखरी थियो। केही गुराँसका बोट फूलले ढाकिएका देखिन्थे।

यहाँबाट अघि लागेपछि बाटो सबै हिउँले ढाकिएको थियो। आफूभन्दा पहिले हिँडेका यात्रीका पाइला पहिल्याउँदै हिँड्नु पर्ने थियो। वरपर सबै हिउँले नै पुरिएको थियो।
मलाई पनि हिउँमा धेरै हिँडेको अनुभव थिएन। तीनवर्ष अगाडि डोल्पा जाँदा फूलबारी भञ्ज्याङ नाघुञ्जेल लगभग आघा घण्टा जति मात्रै हो। त्यहीँमाथि यस्तो ठाडो उकालो उक्लिनु परेको होइन। सेदुवाबाट हिँड्नेबित्तिकै भेटिएका दाइले काटिदिएको लौरो नभएको भए यो हिउँमा हिड्न नसकिने रहेछ। एउटा यात्रा सफल हुनका लागि कति यस्ता सहृदयी मानिसहरू भेटिनुपर्छ र कसरी सबैको सहयोग जुट्छ भन्ने यसपटक सबैभन्दा राम्रोसँग अनुभव गरिरहेको थिएँ। एकजना त यही निकिन थियो जसको कारणले म यो पदयात्रामा थिएँ।
निकिनले आजै पहिलोपटक हिउँ छुन पाएको थियो। आजै उसले हिउँमाथि हिँड्नु परिरहेको छ। समुद्री किनारमा हुर्किएको यो केटो सोचिरहेको थियो होला। मैले केही अनुमान लाउन सकिरहेको थिइनँ। ऊ हिउँमा भासिँदै र चिप्लिँदै लडेका गुराँसका रूखका हाँगा समाउँदै उक्लिरहेको छ। म उसको अघिअघि छु। चारपाइला उक्लिँदै दुई मिनेट रोकिँदै म उक्लिँदै छु। बेला बेला खुट्टा पुरै हिउँमा भासिँदै छ। म निकाल्दै हिँड्दै छु। चार वर्ष पुरानो पदयात्री जुत्ताले धान्छ कि धान्दैन भन्ने भइरहेको थियो। यही जुत्ताले २२ दिन लामो माथिल्लो डोल्पो पदयात्रा कटाइसकेको थियो।
हिउँमा हिँड्दा अरू कुरा सोच्दै हिँड्नु हुन्न, पूरा ध्यान लगाएर हिँड्नुपर्छ- मेडिटेसन गरेजस्तो। म भने यही थोत्रो जुत्ताको चिन्ता गरिरहेको थिएँ। जुत्ताबाट हिउँ भित्र पसेर खुट्टा ठिहिर्याइरहेको थियो। अहिले नयाँ जुत्ता किन्न सक्ने औकात थिएन, पदयात्री जुत्ता यसै महंगा हुन्छन्। त्यसमाथि राम्रो जुत्ता किन्न सकिएन भने एउटा यात्रामै काम नलाग्ने भइदिँदा पैसा बेकारमा खेर जान्छ। म यही जुत्ता चिन्तनमा थिएँ- हिँड्दाहिड्दै एकठाउँ मेरो खुट्टा भासिइहाल्यो। हत्तपत्त निकाल्न खोजेँ। तर माथिबाट पनि हिउँले थिचिएछ। सकेसम्म खुट्टा ठाडो बनाएर निकाल्ने प्रयास गरेपनि निस्किन सकने। निकिनलाई बोलाएँ। उसले जुत्तामाथिपट्टीको सबै हिउँ निकालेपछि बल्ल निस्कियो।
हिउँमा लड्दै पढ्दै हिँड्दा अँध्यारो भइसकेको थियो। झोलाबाट हेडलाइट निकालेर टाउकामा टाँस्यौ र उकालो लाग्यौं। लगभग डेढ घण्टा हिउँमा हिँडेपछि मोबाइलमा समय हेरेँ। बेलुकीको सात बजिसकेको थियो। अर्थात्, हामी बिहान हिँडेको समयबाट ठिक १२ घण्टा भइसकेको थियो।
१२ घण्टाको उकालो हिँडाइले थकाइ उत्तिकै लागेको थियो। तै पनि हिडिरहनुको विकल्प थिएन। हामी हिउँले भरिएको सुनसान जंगलको बीचबाट बिस्तारै बिस्तारै उक्लिरहयौं। घन जंगलमा टाढा कतै कुनै जंगली जनावर कराएको आवाजले हाम्रो सातो लग्यो तर दुवै बोल्न सक्ने स्थितिमा थिएनौं। त्यसैले चुपचाप चुपचाप हिँडिरह्यौं।

राति साढे ८ बजेतिर हुनुपर्छ- उज्यालो देखियो। बत्ति बलेको उज्यालो। हाम्रो उत्साह, आत्मविश्वास, हिम्मत सबै एकाएक बढेर आयो।
‘फाइनल्ली, वी अराइभ्ड !’ मेरो खुसी बोलिरहेको थियो।
यो सानो सरप्राइज थियो, यो भन्दा ठूलो सरप्राइज त यहाँबाट एकमिनेट हिँड्ने बित्तिकै देखियो- बत्ति बलिरहेको अर्को घर ठिक हाम्रै सामुन्नेमा थियो। हामीले ढोका ढकढक्यायौं।
यो थियो सुवेड्नी दिदीको होटल। यहाँ चिया पिएर हामी अघि बढ्यौं। बिहानै शिवभ्यु होटलमा हामी आउने खबर गरिसकेका थियौं। दिउँसको बाटोबाट पनि फोन गरेकै हो। त्यसैले, अरू १०-१५ मिनेट हिँडेर गन्तव्यमा पुग्नु नै ठिक लाग्यो।
रातको साढे ९ बजे हामीले शिवभ्यु होटलको ढोका खटखट्यौं।