सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली एजुकेशन एक्स्पो–२०२५ (सिजन वान)’ तीनदिने कार्यक्रमसँगै सम्पन्न भएको छ।
शिक्षा क्षेत्रमा व्यापक बहस, विचार–मन्थन र भविष्यको कार्यदिशा तय गर्ने उद्देश्यसहित सम्पन्न एक्स्पोले कर्णालीको शैक्षिक अवस्थामाथि बहुआयामिक दृष्टिकोण प्रस्तुत गरेको छ।
वैशाख ३ गतेदेखि सुरु भएको एक्स्पोमा शिक्षामन्त्री, सरकारी सचिव, शैक्षिक विज्ञ, अन्तर्राष्ट्रिय तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू गरी १३ जना प्यानलिस्टले विभिन्न सत्रमा गहन बहस गरेका थिए। एक्स्पोले कर्णालीमा शिक्षाको समग्र सुधारका लागि व्यवहारिक, व्यावसायिक र सीपमूलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ।
शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण
‘अब कर्णाली जाग्छः शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण’, ‘व्यवहारिक, व्यवसायिक शिक्षा र नवप्रवर्तन’, ‘स्रोत, सीप र शिक्षा’ लगायतका शीर्षकमा केन्द्रित सत्रहरू सञ्चालन गरिएका थिए। सत्रहरूमा सहभागी विज्ञहरूले वर्तमान शिक्षा प्रणालीले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको बताउँदै शिक्षामा आमूल परिवर्तनको आवश्यकता औँल्याएका थिए।
घोषणापत्र सार्वजनिक, सरकारलाई नीतिगत सुधारको आग्रह
एक्स्पोको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा केवल साक्षरता वृद्धिमा केन्द्रित शिक्षा प्रणालीले मुलुकको समग्र विकास सम्भव नहुने उल्लेख छ। कर्णालीमा अपाङ्गता भएका, सीमान्तकृत तथा पिछडिएका बालबालिकाको पहुँच सुनिश्चित गर्न, शिक्षकको क्षमता अभिवृद्धि गर्न, बालमैत्री पूर्वाधार विकास गर्न र नवप्रवर्तनमा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिइएको छ।
घोषणापत्रमार्फत संघीय, प्रदेश तथा स्थानीय सरकारलाई कर्णालीका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव, उच्च शिक्षामा पहुँचको कमी तथा दक्ष जनशक्ति उत्पादनमा देखिएको कमजोरी सच्याउन ठोस कार्यक्रम ल्याउन आग्रह गरिएको छ।
सबै पक्षको साझा प्रयास अपरिहार्य
कर्णाली विकास केन्द्रको आयोजनामा सम्पन्न भएको एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता र अभ्यासकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजक संस्थाले एक्स्पोबाट प्राप्त सुझाव र निष्कर्षलाई सरकारी नीतिमा समावेश गर्दै कार्यान्वयन गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरेको छ।