काठमाडौं। अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कबाट उत्तरतर्फ करिब १३ किरोमिटर दूरीमा पर्छ, रक गार्डेन। सन्धिखर्क नगरपालिका– ११ र मालारानी गाउँपालिका– ०४को सीमानामा अवस्थित भिरालो र नाङ्गो चौरमा रहस्यमय आकृतिका ढुङ्गाहरु रहेकाले त्यस ठाउँलाई ‘रक गार्डेन’ भनिएको हो। ‘रक गार्डेन’ शब्दलाई नेपालीमा ढुङ्गाको बगैंचा भनेपनि हुन्छ। विशाल क्षेत्रमा फैलिएको हरियो चौरमा ढुङ्गैढुङ्गा भएका कारण ‘रक गार्डेन’ भनिएको हो। यद्यपि, त्यस ठाउँको वास्तविक नाम ‘काल्ढुङ्गा’ हो। अघिल्लो पुस्ताका मानिसहरुले अहिले पनि त्यो ठाउँलाई ‘काल्ढुङ्गा’ भन्ने गर्छन्। चौरभरि काला ढुङ्गा देखेर उतिबेलाका मानिसहरुले ‘काला’ र ‘ढुङ्गा’ शब्दलाई जोडेर ‘काल्ढुङ्गा’ भनेका होलान्। अहिलेका मानिसहरुले त्यस्तै त्यस्तै व्याख्य गरी अंग्रेजीमा ‘रक गार्डेन’ भनिदिएका हुन्। अहिले त्यो ठाउँ ‘रक गार्डेन’ नामबाट प्रख्यात छ।
‘गार्डेन युथ ग्रुप’का प्रतिनिधिहरू। तस्बिर: प्रेम बुढाथाेकी
रक गार्डेनको शिरमा जालकाँडा छ, जुन आफैंमा प्रसिद्ध ठाउँ हो। जालकाँडाबाट धौलागिरी, माछापुच्छ्रेलगायत हिमशिखरहरु देखिन्छन्। स्थानीयहरुले चरन र बनभोजका लागि सदुपयोग गरेको जालकाँडाबाट वि.सं. २०६८ मंसिरमा प्याराग्याइडिङ उडाइएको थियो। प्याराग्याइडिङ उडानको सम्भाव्यता अध्ययनका लागि पोखराबाट पाइलट बोलाएर जालकाडाँ–सन्धिखर्क प्याराग्याइडिङ उडाइएको थियो। उडान सफल भएपनि पछि त्यसलाई पर्यटनको आधारको रुपमा विकास गर्नमा कसैको चासो गएन। प्याराग्याइडिङको विकासका लागि त्यहाँका नेताहरु गम्भीर भइदिएको भए अहिले जालकाँडाकोे परिचय नै अर्कै भइसकेको हुन्थ्यो। यद्यपि, प्राकृतिक सौन्दर्यता, सिद्धको थानप्रतिको धार्मिक आस्था, मौसमी विविधता र केही गौरवका कारण आन्तरिक पर्यटकहरु जालकाँडा पुगिरहे।
जालकाँडाबाट प्याराग्याइडिङकाे परीक्षण उडान गर्दै।
जालकाँडा पुग्नेहरुलाई सायद काखैमा रहेको हरियाली चौर र रहस्यमय ढुङ्गाहरुका दृश्यहरुले तान्यो होला, त्यहाँबाट मानिसहरु रक गार्डेनतिर आकर्षित भए। अहिले रक गार्डेनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
रहस्यमयी काला ढुङ्गाहरु नियाल्न र सँगै उभिएर फोटो र भिडियो खिच्नका लागि, मनोरम दृश्यहरु नियाल्नका लागि, पिकनिकका लागि, म्यूजिक भिडियो सुटिङका लागि र ‘डेटिङ’का लागि अचेल धेरै पर्यटक रक गार्डेन पुग्न थालेका छन्। रक गार्डेन पुग्नेमा अर्घाखाँचीका पर्यटकमात्रै नभएर गुल्मी र प्यूठान तथा सुपादेउराली दर्शनका लागि आउने अन्य जिल्लाका अन्तरिक पर्यटक हुन्।
रक गार्डेनको विकासले आन्तरिक पर्यटकको स्वागत र पर्यटन प्रवर्द्धनमात्रै गरेको छैन, स्थानीयहरुमा घुम्ने संस्कृतिको पनि विकास गरेको छ। स्थानीयहरु घरमा बिहाबारी सकेर र चाडबाडमा टिकोटालो गरेर रक गार्डेनमा फोटो/भिडियो खिच्न पुग्नु आफैंमा गज्जबको कुरा हो।
दुई वर्षअघि खिचिएकाे रक गार्डेनकाे तस्बिर। तस्बिर: कमल प्रभात
केही वर्ष अगाडिसम्म रक गार्डेनमा पर्यटकको कुनै चहलपहल थिएन। गाउँलेहरु गाईवस्तु चराउन, खर काट्न र चौरमा क्रिकेट खेल्न पुग्थे। सदरमुकाम जोड्ने बाटो बिग्रँदा मानिसहरु रक गार्डेन हुँदै आवतजावत गर्थे।
जतिबेला सन्धिखर्क–डिभर्ना–खन–खनदह सडकखण्डको स्तरोन्नति पातलकटेरादेखि रक गार्डेन (करिब एक किलोमिटर)सम्म बाटो खुल्यो, त्यसपछि रक गार्डेनमा मानिसहरु पुग्न थालेका हुन्। रक गार्डेनको पर्यटन विकासको पहिलो कारण नै सडक सञ्जालको बिस्तार हो।
रक गार्डेनमा रमाउँदै गरेका पर्यटक। तस्बिर: सामाजिक सञ्जाल
सडक विस्तारपछि सन्धिखर्क–खन–खनदह हिँड्ने मानिसहरु पातलकटेराबाट रक गार्डेनतिर मोडिन थाले। मानिसहरुको चहलपहल बढ्दै गएपछि रक गार्डेनमा अहिले धेरै पूर्वाधारहरु निर्माण भएका छन्। जस्तैः सडक विस्तार, मन्दिर निर्माण, पिकनिकस्थलको व्यवस्थापन, खानेपानी, तारबार, मानव निर्मित आकृतिहरु।
रक गार्डेनको पूर्वाधार निर्माणमा सन्धिखर्क नगरपालिका तथा वडा नं. ११ र प्रदेश सरकारको भूमिका रहेको छ। त्यस्तै रक गार्डेनको पर्यटन विकासमा मालारानी गाउँपालिका– ४ को पनि भूमिका रहेको छ। रक गार्डेनको संरक्षण भने सन्धिखर्क नगरपालिका वडा नं. ११ का युवा उद्यमी प्रेम बुढाथोकीको नेतृत्वमा ‘गार्डेन युथ ग्रुप’ले गरेको छ।
रक गार्डेनमा पर्यटन विकासका अगुवा एवम् युवा उद्यमी प्रेम बुढाथाेकी
रक गार्डेनको पर्यटन विकासमा पूर्वाधार निर्माणपछि स्थानीय युवाहरुको ठुलो भूमिका छ। जस्तैः रक गार्डेनको चौरमा जिल्लास्तरीय क्रिकेटलगायत खेलकुद प्रतियोगिताहरु आयोजना गर्नु, सरसफाइ अभियान चलाउनु, मौलिक कार्यक्रमहरु गर्नु आदि।
रक गार्डेनमा देखिएको पर्यटकको यो चहलपहलले त्यस क्षेत्रको पर्यटन विकासमा ठुलो आशा जगाएको छ। थप पूर्वाधार निर्माण गरी स्थानीय कला, संस्कृति र मौलिकताको प्रदर्शन तथा स्थानीय उत्पादनलाई जोडेर प्रचारप्रसार गर्न सकेमा रक गार्डेनको पर्यटकीय भविष्य उज्जवल छ। रक गार्डेनको पर्यटकीय विकासले रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र मौलिकताको प्रवर्द्धन गर्नेमा कुनै शंका छैन। तर, रक गार्डेनको विकासमा स्थानीयहरुमा पर्यटकीय संस्कार, नेता र नेतृत्वमा विकासको चाहना तथा युवाहरुमा प्रचारप्रसारको भावाना हुन जरुरी छ।

