काठमाडौं। ‘आइरन म्यान’ प्रतियोगिता खेलसँग सम्बन्धित छ। यसमा तीन ओटा खेल हुन्छन्। स्विमिङ ३.८ किलोमिटर, साइक्लिङ १८० किलोमिटर र म्याराथन ४२ किलोमिटर पुरा गर्नेलाई ‘आइरन म्यान’ उपाधि दिइन्छ। सबैभन्दा पहिला स्विमिङ गरिन्छ। त्यस लगत्तै साइक्लिङ गरिन्छ भने अन्त्यमा म्याराथन।
नेपालबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो पटक भाग लिएर ‘आइरन म्यान’ को उपाधी पाएका खेलाडी हुन्, लमजुङ जिल्ला, मध्य नेपाल नगरपालिकाको दुई पिप्ले लामिडाँडा गाउँका शुरेसकुमार दुलाल।

बेलायतको वेल्समा सन् २०११ सेप्टेम्बर ११ मा आयोजना गरिएको ‘वेल्स आइरन म्यान’ प्रतियोगितामा भाग लिएर उपाधी चुम्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका हुन्। उनी ११ घण्टा ८ मिनेट ५९ सेकेन्डमा प्रतियगिता पुरा गरेर आइरन म्यान बन्न सफल भए।
त्यसैगरी अष्ट्रियामा सन् २०१३ मा आयोजना भएको ‘आइरन म्यान’ प्रतियोगितामा उनले ९ घण्टा ४४ मिनेट ४ सेकेन्डमा प्रतियोगिता पुरा गरेका थिए। यसरी छिटो समयमा उनले खेल पुरा गरेर नेपालको नाम राखे।
साथै उनी एक समयका साइक्लिङ क्रस क्रन्टी खेलका राष्ट्रिय खेलाडी पनि हुन्। उनले मुलुकभित्रका राष्ट्रिय प्रतिस्पर्धामा मात्र होइन, भारत, जापान, जर्मन, न्युजिल्यान्डमा समेत नेपालको प्रतिनिधित्व गरेर खेलेका थिए। त्यस्तै सन् २००८ मा काठमाडौंको चोभारमा भएको ‘एसियन एमटिबी च्याम्पिनसिप’मा पनि भाग लिएका थिए।

उनी म्याराथनका पनि कुशल खेलाडी हुन्। उनले बेलायतको लेस्टर म्याराथनमा २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेका थिए। त्यस लगत्तै लन्डन म्याराथनमा पनि सहभागी बनेका थिए।
हाल उनी बेलायतको नर्थ हाम्टन सहरमा बसोबास गर्छन्। उनी श्रीमती लेडिया, छोराहरू सनी र हयारीसँगै उता बस्दै आएका छन्।
‘अचेल शारिरीक तन्दुरुस्तीका लागि मात्र साइक्लिङ गर्छु’, मातृभूमि आएका बेला दुलालले एभरेस्ट पेडियासँग भने, ‘बेलायतमा अन्डर नाइनका लागि असिस्टेन्ट फुटबल कोचको काम पनि गर्दै आएको छु।’

उनका छोराहरू पनि खेलाडी हुन्। उनीहरू, एथलेटिक्स, साइक्लिङ, फुटबल र स्विमिङ गर्छन्। दुबैले चेस खेलमा विभिन्न प्रतियोगिता जित्दै आएको शुरेसले बताए।
उनको साइक्लिङ गुरु हुन्, रञ्जन राजभण्डारी जो हाल नेपाल साइक्लिङ संघका महासचिव छन्। दुलाल नेपालको खेल विकासमा योगदान पु¥याउने योजनामा छन्। भन्छन्, ‘माउन्टेन बाइकिङ र ट्रायथलन खेलका युवा खेलाडीलाई हौस्याउने काम निरन्तर गरिरहनेछु।’

-1744543695.jpeg)
