जिरी। जिरी नगरपालिका वडा नं. ६ मा अवस्थित प्रमुख पर्यटकीयस्थल बुद्धपार्क परिसरमा ढुङ्गे युवा क्लब, जिरीको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
मासिकरुपमा गरिने सामाजिक कार्यअन्तर्गत चैत महिनाको श्रमदान कार्यक्रम आज (शनिबार) निर्धारित समयमै सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रमअन्तर्गत क्लबका सदस्यहरूले बुद्धपार्क वरिपरिका क्षेत्रको सरसफाइ गरी स्वच्छ वातावरणको सन्देश दिएका थिए। क्लबले सामाजिक सन्देश दिँदै भनेको छ, ‘स्वच्छ वातावरण केवल दृश्यमात्र होइन, यो हाम्रो सोच, संस्कार, एकता, सामूहिक भावना र सभ्यताको प्रतिविम्ब पनि हो।’
श्रमदान अभियानमार्फत क्लबले फोहोर हटाउनुका साथै समाजभित्र सकारात्मक सोच र परिवर्तनको सन्देश फैलाउने प्रयास गरेको छ। क्लबका अनुसार श्रमदानलाई संस्कृतिको रुपमा विकास गर्दै समाजप्रतिको समर्पण, माया र एकताको भावना अझ बलियो बनाउने लक्ष्य रहेको छ।

कार्यक्रममा सहभागी सबैप्रति क्लबले हार्दिक आभार प्रकट गरेको छ। साथै, कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनेहरूमध्ये विशेषगरी यातायात सुविधा उपलब्ध गराउने क्लबका अध्यक्ष अम्बर जिरेलप्रति पनि क्लबले कृतज्ञता व्यक्त गरेको छ।
ढुङ्गे युवा क्लबले आगामी दिनहरूमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

