पोखरा। अन्नपूर्ण हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका दुई शेर्पा गाइड निमा टासी शेर्पा र रिमा रिन्जेलाई चार दिनसम्मको खोजीपछि पनि फेला पार्न नसकिएपछि उनीहरूलाई श्रद्धाञ्जली दिँदै खोजी कार्य औपचारिक रूपमा स्थगित गरिएको छ।
यही चैत २५ गते दिउँसो करिब १२ बजे क्याम्प– २ (५,६०० मिटरभन्दा माथि) मा अक्सिजन सिलिन्डर बोकेर अगाडि बढिरहेको बेला विशाल हिमपहिरो खसेको थियो। उक्त हिमपहिरोमा परेर टासी र रिन्जे बेपत्ता भएका थिए। भने, अर्का शेर्पा पेम्बा थिन्दुक पनि परेका थिए।
हिमपहिरो लगत्तै दुईवटा हेलिकप्टर परिचालन गरी पाँच जना अनुभवी शेर्पा गाइडहरूले खोजी कार्य गरेका थिए। पहिलो दिन साँझसम्मै कप्तान सोबित गौचनले हवाइ खोजी जारी राखेका थिए। यद्यपि, हिमपहिरोले क्याम्प– २ र क्याम्प– ३को बाटो नै अवरुद्ध बनाएकाले खोजी कार्य निकै कठिन बन्न पुगेको थियो।
खोजी कार्य चार दिनसम्म निरन्तर जारी राखिए पनि जीवनको कुनै संकेत नपाएपछि बाँकी टोली सदस्यहरूको सुरक्षालाई ख्याल गर्दै खोजी कार्य स्थगित गरिएको सेभेन समिट ट्रेक्सले जनाएकाे छ।
सेभेन समिटका ट्रेक्सका अनुसार टासी र रिमा रिन्जे दुवै अनुभवी पर्वतारोहण गाइड थिए। उनीहरू हाल सेभेन समिट ट्रेक्ससँग पूर्णकालीन रूपमा आबद्ध थिए। टासीले अहिलेसम्म १८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू आरोहण गरिसकेका थिए, जसमा सगरमाथा मात्रै ७ पटक थियो। उनले विभिन्न ७ हजार र ६ हजार मिटरका हिमालहरू पनि आरोहण गरेका थिए।
गत नोभेम्बर २७ मा उनले फुरा छिरिङसँग मिलेर सोलुखुम्बुस्थित यासा थाक (६१४१ मिटर) को पहिलो सफल आरोहण गरेका थिए।
त्यस्तै रिमा रिन्जेले समेत चारपटक सगरमाथासहित जम्मा ७ वटा ८ हजार मिटरका हिमाल आरोहण गरिसकेका थिए। उनी आगामी दिनमा थप प्रशिक्षण लिएर सीनियर गाइड बन्ने योजनामा थिए।
दुवै जनाले केही हप्ताअघि मात्र चु्लु वेस्ट हिमाल आरोहण गरी अन्नपूर्ण अभियानको तयारी गरेका थिए।
शेर्पा समुदाय र सम्पूर्ण पर्वतारोहण क्षेत्रले टासी र रिमा रिन्जेजस्ता समर्पित र साहसी गाइडहरूको निधनलाई गहिरो क्षतिका रूपमा लिएको छ।