काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) आरोहणका लागि यस वसन्त ऋतुको सिजनमा १३४ जनाले अनुमति लिएका छन्।
गत मार्च १ तारिखदेखि अप्रिल ९ तारिखसम्म ३० देशका १३४ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ। जसमा २७ जना महिला आरोही रहेका छन्।
विभागकाअनुसार अहिलेसम्म आरोहण अनुमति लिनेहरुमा अमेरिकी आरोहीको संख्या सबैभन्दा धेरै रहेको छ। हालसम्म ४२ अमेरिकी आरोहीले आरोहण अनुमति लिएका छन्। त्यसपछि क्रमशः चीनका १९, भारतका १७, अस्टे«लियाका ६, ब्राजिल, क्यानडा र फ्रान्सका ५–५, जापनका ४, पोल्याण्ड, रसिया र सिंगापुरका ३–३, चेक रिपब्लिक, ब्रिटिस भर्जिन आइस्ल्याण्ड (बेलायत) र अर्जेटिनका २–२ तथा अल्जेरिया, बंगलादेश, कोलम्बिया, क्रोसिया, डेनमार्क, इक्यूडर, आयरल्याण्ड, मोरक्को, नर्बे, फिलिपिन्स, सर्बिया, दक्षिण अफ्रिका, स्वीटजरल्याण्ड, टर्की, बेलायत र भियतनामका १–१ आरोहीले आरोहण अनुमति लिएका छन्।
यी आरोहीबाट सरकारले २० करोड १६ लाख २२ हजार ४३७ रुपैयाँ रोयल्टी (राजस्व) संकलन गरेको छ।
यस याममा सगरमाथा आरोहणका लागि बाटो खुलाउने काम जारी छ। बिहीबारसम्म सबैभन्दा जोखिमपूर्ण मानिने खुम्बु आइसफलमा डोरी टाँग्ने सकिएको छ। आरोहणका लागि अधिकांश आरोहीहरु सगरमाथा क्षेत्र प्रस्थान गरेका छन्।
वसन्त ऋतुको आरोहणका लागि आगामी मे’को दोस्रो सातासम्म आरोहण अनुमति लिने क्रम जारी रहन्छ।