कठमाडौं। हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हुँदै आएको बालाजु बाईसधारा (ल्हुति पुन्ही) मेला तथा खट जात्राको तयारी सम्पन्न भएको छ।
मेला व्यवस्थापन समितिले बिहीबार एक पत्रकार सम्मेलन अयोजना गर्दै मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो। मेला व्यवस्थित गर्न विशेष तयारी गरिएको समितिले जनाएको छ।
मेला व्यवस्थापन समितिका अनुसार चैत्र शुक्ल पूर्णिमा (चैत्र ३०) देखि सुरू हुने यस मेलामा भक्तजनहरूको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। बालाजु चोकदेखि बालाजु उद्यान परिसर तथा बाईसधारासम्म उच्च सुरक्षा सतर्कताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा महानगरीय प्रहरी बलसँग समन्वय गरिएको समितिले जनाएको छ।
मेलाको आयोजनामा बाईसधारा उद्यान मित्र रहेको २२ वटै धाराहरू तथा धार्मिक र पुरातात्त्विक चिन्हहरूको महत्व प्रदर्शन गरिने छ। साथै, भक्तजन तथा अतिथिज्यूहरूलाई व्यवस्थित तवरबाट मन्दिर दर्शन गर्नका लागि नेपाल स्काउट, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरू तथा स्थानीय स्वयं सेवकद्वारा सेवा प्रदान गरिने छ।
मेलाको दिनमा स्थानीय कलाकार तथा नेपाल प्रहरी ब्याण्डबाट मौलिक संस्कृति झल्कने खालका सांगीतिक कार्यक्रम प्रस्तुत गरिने छ। साथै, नेवारी खाना तथा परम्परागत वस्तुहरूको प्रवद्र्धनका लागि स्टलहरूको व्यवस्था गरिएको छ।
कार्यक्रमलाई प्रचार प्रसारका लागि मेलाका दिन विभिन्न मिडिया मार्फत प्रत्यक्ष प्रसारण गरिनुका साथै मेला क्षेत्रभरमा एल.इ.डि. स्क्रिनहरू राखिने व्यवस्था गरिएको छ। यस प्राचीन मेलाको आर्थिक व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाबाट बजेट विनियोजन भएको छ।