बुटवल। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग राखेर विरोधमा उत्रिएका व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेका हुन्। विमानस्थल नियमित सञ्चालन नहुँदा होटल तथा पर्यटन क्षेत्रमा भएको करिब एक खर्ब लगानी जोखिममा परेको व्यवसायीहरुको गुनासो छ।
यही गुनासोबीच सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल रुपन्देही र च्याम्बर्स अफ रुपन्देहीले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन्। जसअन्तर्गत राजनीतिक दल, नेता तथा जनप्रतिनिधिसँग प्रतिबद्धताको पहल गर्ने, एयरलाइन्सहरुसँग छलफल गर्ने, सम्बन्धित सरकारी निकायलाई अल्टिमेटम दिने, कालोपट्टी बाँधेर दबाबमुलक प्रदर्शन गर्ने र विमानस्थल अगाडि विरोध तथा धर्नालगायत कार्यक्रमहरु रहेका छन्।
व्यवसायीहरुले सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञावलीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेका छन्।

गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित उडान हुन सकेको छैन। यस वर्षको मार्चसम्मको लागि उडान अनुमति लिएका एयरलाइन्सहरुले आगामी उडानका लागि अनुमति प्रस्ताव समेत पेस गरेका छैनन। हाल विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।
अधिकांश प्रशासनिक कामका लागि संघीय राजधानी काठमाडौं आउनुपर्ने बाध्यताका कारण यात्रुहरु भैरहवामा अडिन नसकेको र व्यवस्थापनमा समस्या भएको एयरलाइन्सहरुको भनाइ छ।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका कतार एयरवेज, जजिरा एयर, थाई एयर एसिया तथा फ्लाई दुबई अहिले काठमाडौं केन्द्रित भएका छन्।