काठमाडौं। कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी प्रदेश भ्रमण वर्ष २०८२’ को बुधबार औपचारिक शुभारम्भ भएको छ।
नेपाल सरकारका उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा गुराँसको राजधानी उपनामले चिनिने तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट ‘कोशी प्रदेश भ्रमण वर्ष २०८२’ को औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले कोशी प्रदेश पर्यटनको क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश भएको बताएका छन्। उनले यहाँको पर्यटनले नेपालको अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताए। वर्तमान सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्दै आएको बताउँदै उनले पर्यटकीय पूर्वाधार निमार्ण आगामी दिनमा सरकारले थप दिने समेत बताए।
कार्यक्रममा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन क्षेत्रलाई राष्ट्रिय पुँजी निर्माणको महत्तवपूर्ण स्रोतको रूपमा प्रस्तुत गर्दै यस क्षेत्रका चुनौतीहरू पनि औंल्याए। ‘हाम्रो पर्यटन क्षेत्रमा धेरै समस्याहरू छन् – यातायात, मुद्रा सटही, सुरक्षा निकायहरूको व्यवहार लगायतका समस्याहरू। सबै मिलेर यसको आधार तय गर्न सक्छौं,’ उनले बताए।
मुलुकमा बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न पर्यटन क्षेत्र एक महत्त्वपूर्ण साधन हुनसक्ने उनको विश्वास छ। विशेषगरी छिमेकी मुलुकहरूबाट पर्यटकहरू आकर्षित गर्न सके राम्रो राजश्व संकलन गर्न सकिने उनको भनाइ छ।
कार्यक्रममा सङ्घीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, कोशी प्रदेश सरकारका मन्त्रीहरू, नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशी, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीयतहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । प्रदेश सरकारले गत असोज ११ गते विश्व पर्यटन दिवसको अवसरमा ‘कोशी प्रदेश भ्रमण वर्ष २०८२’ घोषणा गर्दै १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो।