काठमाडौं। बुधबार तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा आयोजित ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री हिकमत कुमार कार्कीले बन्दा हड्ताल प्रति चिन्ता व्यक्त गरेका छन्।
बन्द हड्तालका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बन्द हड्ताल प्रति चिन्ता व्यक्त गरेका हुन्।
‘कोशी प्रदेश भ्रमण वर्ष २०८२’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा रहेका राजनीतिक दल, पत्रकार र नागरिक समाजलाई बन्द हड्ताल जस्ता कार्यक्रमहरू बन्द गर्न अपिल गरे।
‘हामी वार्तामा विश्वास गर्छौं। वार्ताबाट नै सबै समस्याहरूको समाधान निकाल्न सकिन्छ,’ मुख्यमन्त्री कार्कीले भने। उनले थपे, ‘बन्द हड्ताल अन्त्य गर्न सके मात्र पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी र राजश्वमा १० गुणाले वृद्धि हुन सक्छ।’
मुख्यमन्त्रीले पर्यटन क्षेत्रलाई राष्ट्रिय पुँजी निर्माणको महत्तवपूर्ण स्रोतको रूपमा प्रस्तुत गर्दै यस क्षेत्रका चुनौतीहरू पनि औंल्याए। ‘हाम्रो पर्यटन क्षेत्रमा धेरै समस्याहरू छन् – यातायात, मुद्रा सटही, सुरक्षा निकायहरूको व्यवहार लगायतका समस्याहरू। सबै मिलेर यसको आधार तय गर्न सक्छौं,’ उनले बताए।

मुलुकमा बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न पर्यटन क्षेत्र एक महत्त्वपूर्ण साधन हुनसक्ने उनको विश्वास छ। विशेषगरी छिमेकी मुलुकहरूबाट पर्यटकहरू आकर्षित गर्न सके राम्रो राजश्व संकलन गर्न सकिने उनको भनाइ छ।
‘हाम्रा मित्र राष्ट्र भारतमा ठूलो संख्यामा हिन्दु धर्मावलम्बीहरू रहेका छन्। उनीहरूलाई मात्र हामीले आकर्षित गर्न सके पनि राम्रो आम्दानी गर्न सक्छौं,’ उनले भने। मुख्यमन्त्री कार्कीले नेपालमा धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको बताए।
उनले बन्द हड्ताल समस्या समाधानको उपाय नभएको औंल्याउँदै, सबै पक्षलाई वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गरे। यसरी बन्द हड्ताल अन्त्य गरेर मात्र पर्यटन क्षेत्रको विकास र अर्थतन्त्रको सुदृढीकरण गर्न सकिने उनको भनाइ छ।