सोलुखुम्बु। सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न अनुमति लिएका सबै विदेशी पर्वतारोहीले खुम्बु आइसफल रुट शुल्क अनिवार्य रूपमा तिर्नुपर्ने भएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसीसी)ले एक सूचना जारी गर्दै यो नियम लागू गरिएको जानकारी दिएको हो।
सूचनाकाअनुसार सगरमाथालगायत ल्होत्से र नुप्त्से हिमालमा पुग्न खुम्बु आइसफल मार्ग अनिवार्य भएकाले यो शुल्क सबैलाई लागु हुन्छ। प्रतिआरोही ६ सय अमेरिकी डलर शुल्क समितिको नाम्चेस्थित कुमारी बैंकको शाखामा जम्मा गर्नुपर्नेछ। समयमै शुल्क नबुझाउने आरोहण कम्पनीहरूलाई ढिलो शुल्क पनि लाग्नेछ।
फोहोर व्यवस्थापनमा कडाइ
सगरमाथा आधार शिविर र माथिल्लो शिविरहरूमा फोहोरको स्रोतमै वर्गीकरण अनिवार्य गरिएको एसपिसीसीले जनाएको छ। प्लास्टिक, कागज, टिन/क्यान, सिसीका बोतल, भान्साको फोहोर, खतरनाक वस्तु र मानवीय फोहोर भनेर सात वर्गमा छुट्याएर व्यवस्थापन गर्नुपर्नेछ।
एसपिसीसीका अनुसार हरेक पर्वतारोहीले आधार शिविरभन्दा माथिबाट कम्तीमा ८ किलो फोहोर अनिवार्य रूपमा फर्काएर ल्याउनु पर्नेछ। साथै, मानवीय फोहोर व्यवस्थापनका लागि ‘पुप ब्याग’ प्रयोग गर्नुपर्नेछ, जुन आधार शिविरस्थित एसपिसीसी कार्यालयमा उपलब्ध हुनेछन्। आफ्नै पुप ब्याग ल्याउनेहरूले एसपिसीसी मा दर्ता गर्नुपर्नेछ।
अब क्याम्प– २मा ग्लेसियरको चिरामा शौचालय टेन्ट राख्न र आरोहण सकिएपछि क्याम्प– २मा कुनै पनि उपकरण भण्डारण गर्न नपाइने भएकाे छ।
एसपिसीसीका प्रमुख कार्यकारी अधिकृत छुया छिरिङ शेर्पाले हस्ताक्षरित सूचनामा भनिएको छ, ‘नियम उल्लंघन गर्ने कम्पनीलाई फोहोर फिर्ता प्रमाणपत्र दिइने छैन।’ उनले सबै आरोही, गाइड र सहयोगीहरूलाई यी नियमहरूको पालना गर्न आह्वान गरेका छन्।

