काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को औपचारिक उद्घाटन गर्दै छन्। कोशी प्रदेश सरकारले पर्यटनलाई राष्ट्रिय पुँजी विकासको आधार बनाउने लक्ष्य राखेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कोशी प्रदेशका मनोरम क्षेत्रमा पूर्वाधार विकास गर्दै पर्यटनलाई दिगो बनाउने यो अभियानको यो वर्ष आधारशिला हुनेछ।’
प्रदेश सरकारले ‘रमणीय कोशी’ नारासहित भ्रमण वर्षको मस्कट र लोगो सार्वजनिक गरिसकेको छ। लोगोमा नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमा मात्र पाइने अर्ना, सगरमाथा, कोशी नदी र प्राकृतिक सम्पदाको प्रतीक समावेश गरिएको छ।
‘केवल घोषणाले काम गर्दैन: व्यवसायी
होटल एसोसिएसन इलामका देवी पौडेलले भ्रमण वर्षको तयारीमा प्रश्न उठाएका छन्। उनले भने, ‘घोषणा गरेको यतिका समयसम्म पनि खै के तयारी भयो त? होटल व्यवसायीहरुसँग खै के सहकार्य भयो? के छलफल भयो?’
उनले थपे, ‘राति ९ बजेदेखि प्रहरी होटल बन्द गर भन्दै हिँड्ने अनि मन्त्री चाहिँ भ्रमण वर्ष घोषणा गर्ने? यसरी त हुन्न।’
पौडेलका अनुसार, ‘समग्र इलाम नै देशकै पर्यटकीय क्षेत्रको धरोहर हो तर कोशी भ्रमण वर्षमा इलामलाई नै बेवास्ता गरेको जस्तो देखियो।’ भ्रमण वर्ष जस्ता कार्यक्रमले दूरदराजका क्षेत्रसम्म प्रभाव राख्नु पर्ने इटहरी विराटनगर जस्ता शहरहरुमा मात्र केन्द्रित भएको उनले आरोप लगाए।
होटल एसोसिएसन धनकुटाका खगेन्द्र विष्टले समन्वयको कमी औंल्याए। उनले भने, ‘प्रदेश सरकारले भ्रमण वर्षको सन्दर्भमा आवश्यक तयारी स्वरुप होटल व्यवसायीहरुसँग गर्नुपर्ने समन्वय र सहकार्यमा कञ्जुस्याईं गरेको हो कि भन्ने लागेको छ।’
विष्टले भने, ‘कोभिड १९ का कारण विगतमा संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा ठूलो असर पुग्यो। अहिले फेरी प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गर्दा हामी उत्साहित नै छौं, यसले हाम्रो पर्यटन क्षेत्रलाई चलायमान बनाउँछ भन्ने हाम्रो विश्वास र आशा छ।’
होटल एसोसिएसन भेडेटारका तुमराज लिम्बुले योजनाको अभाव बारे बताए। ‘प्रदेश सरकार भ्रमण वर्ष आयोजक समितिबाट औपचारिक रुपमा हामीलाई कार्यक्रमको खाका योजना भने आइपुगेको छैन। केही दिन अघि बसेको बैठकमा १५ दिन भित्र योजना तयार पारेर उपलब्ध गराउने भनिएको त थियो तर अहिलेसम्म हामीले केही पाएको छैन।’
लिम्बुले आशावादी दृष्टिकोण राख्दै भने, ‘कोभिड पछि थलिएको हाम्रो पर्यटन क्षेत्रलाई चलायमान बनाउन यो भ्रमण वर्षले भूमिका खेल्नेमा हामी आशावादी छौं। हामी आफ्नो हिसाबमा तयारी अवस्थामा नै छौं।’
पर्यटन क्षेत्रको वर्तमान अवस्था
प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरू रहेका छन्। यस्तै ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड, पोर्टरगाइड ८५ जना रहेको तथ्याङ्क छ। प्रदेशमा ४ स्थानमा ¥याफ्टिङ सञ्चालनमा छन्।
तर पौडेलका अनुसार, ‘अहिले हामीकहाँ होटल व्यवसायी क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव छ, सबै जनशक्तिहरु वैदेशिक क्षेत्रमा पलायन भएको अवस्था हो। साँच्चै भन्ने हो भने हामीले हामी कहाँ आउने पर्यटकहरुलाई राम्रो उत्कृष्ट सेवा सुविधा नै दिन नसक्ने अवस्था छ।’
व्यवसायीहरूले भारतीय पर्यटकहरूको आगमनमा सहजता, पूर्वाधार विकास र नीतिगत सुधारहरूमा जोड दिएका छन्। यद्यपि उत्साह र आशंका बीच, कोशी भ्रमण वर्षको सफलता प्रदेश सरकार, स्थानीय निकाय र व्यवसायीहरू बीचको समन्वय र तयारीमा निर्भर रहने देखिन्छ।