काठमाडौं। शनिबार काठमाडौँ–भरतपुर–काठमाडौँको उडान रद्द गर्नुको कारणबारे बुद्ध एयरले स्पष्टिकरण दिएको छ।
सामाजिक सञ्जालमा प्रसारित केही भिडियोहरुप्रति ध्यानाकर्षण जनाउँदै बुद्ध एयरले विज्ञप्ति जारी गर्दै उडान रद्द गर्नु बाध्यात्मक निर्णय रहेको जनाएको हो।
विज्ञप्तिअनुसार, शनिबार बिहान ७:२० र ८:४० मा भरतपुरका लागि निर्धारण गरिएका दुई उडान काठमाडौं विमानस्थलमा उडान ढिलो हुनु र भरतपुर विमानस्थलमा खराब मौसमका कारण प्रभावित भएका थिए। भरतपुर विमानस्थल १० बजेपछि मात्र सञ्चालनमा आएको थियो। यसबीच जहाजमा देखिएको प्राविधिक समस्या मर्मतपश्चात समाधान गरी यात्रुहरुलाई पुनः बोर्डिङ गराइएको थियो।
बिहानको पहिलो उडान ११:३८ मा सम्पन्न भए पनि दोस्रो उडानको बोर्डिङ सकिएपछि काठमाडौँ विमानस्थलमा ‘नोटाम’ जारी भएपछि भरतपुर विमानस्थल पुनः बन्द भएको थियो। विमानस्थल कहिले खुल्ने निश्चित नभएपछि दिउँसो २ बजे बुद्ध एयरले दोस्रो उडान रद्द गर्नुपरेको जनाएको छ।
दिउँसो ३ बजे भरतपुर विमानस्थल खुल्दा केही यात्रुहरूले अन्य उडान (उडान नं. ३५७) मार्फत गन्तव्यतर्फ यात्रा गर्न सफल भएका थिए। भरतपुर विमानस्थल भीएफआरअन्तर्गत सञ्चालन हुने हुँदा कम भिजिबिलिटीले उडानमा असर पर्ने एयरले उल्लेख गरेको छ।
आज (आइतबार) पनि भरतपुर विमानस्थल दिउँसो १ बजेपछि मात्रै सञ्चालनमा आएको र बिहानका दुई उडान पुनः रद्द गरिएको बुद्ध एयरले जनाएको छ।
हाल बुद्ध एयरसँग दुईवटा एटीआर– ४२ विमान मात्र भरतपुर उडानमा परिचालन भइरहेका छन्। तर, कम्पनीले एटीआर–७२ विमानबाट पनि भरतपुर उडान भर्ने तयारी पूरा गरिसकेको जानकारी दिएको छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा महिनौं अघिदेखि निवेदन दर्ता भइसकेको र अनुमति प्राप्त भएपछि परीक्षण उडान गरी नियमित सेवा सुरु गरिने विज्ञप्तिमा उल्लेख छ।
बुद्ध एयरसँग हाल १६ वटा एटीआर– ७२ विमान छन्। ती विमानबाट भरतपुर उडान सुरु भएपछि हालका समस्या समाधान हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।