‘ओहो कस्तो धुलो! आँखै बिग्रिन्छ की क्या हो।’
प्राय हामी सबैले आजभोलि सार्वजनिकस्थलमा हिँडदा प्रयोग गरिने वाक्य जस्तो भइसकेको छ। जसले सार्वजनिक स्वास्थ्य प्रतिको गम्भीर अवस्था चित्रण गर्दछ।
वायु प्रदुषण जनस्वास्थ्य सम्बन्धी समस्याको प्रमुख कारण बनेको छ।हालै सतहमा आउन लागेको यो विषय चौतर्फी चासोको विषय बनेको छ।

के हो त वायु प्रदूषण?
मूलतः वायुको प्राकृतिक स्वरूपमा जैविक, रासायनिक एवं भौतिक रूपमा आएको नचाहिँदो परिवर्तन वायु प्रदूषण हो।जसमा हावामा हुने ग्यासहरुको मात्रामा परिवर्तन,विभिन्न धूलाको कणहरुको मिश्रण,गन्ध, रसायनिक पोर्ण, विषादी लगायत पर्दछन्।मानव जीवन श्वासमा अडिनु तर त्यो श्वास पनि विषाक्त हुनु सम्पूर्ण मानव जाती एवम् जीवित प्राणीहरूका लागि अभिशाप सिद्ध भएको छ।
वायु प्रदुषणलाई मूलतः ppm एकाई मा नाप्ने गरिन्छ। १० माइक्रोन भन्दा कम डायमिटर भएका कणहरू जसले सिधै फोक्सोमा गई समस्या उत्पन्न गर्छन ती pm 2.5 pm 3 pm 10 जस्ता कणमा pm 2.5 लाई निकै हानिकारक मानिन्छ।वायु प्रदुषणलाई एयर क्वालिटी मा पनि व्यक्त गरिन्छ।जसलाई ६ वर्गमा वर्गिकरण गरिएको छ। यसमा ०-५० सम्म स्वस्थ हावा मानिन्छ भने २००–३०० खतरा र ३०१ भन्दा माथि लाई बढी खतराको रूप बुझिन्छ।हालका वर्षहरूमा देशको राजधानी काठमाडौं विश्वकै प्रदूषित प्रमुख सहरहरूको शीर्ष स्थानमा देखिएको छ जुन चिन्ताजनक विषय हो। यसका कारणले वार्षिक देशभर ५२६०० नेपालीको ज्यान गएको तथ्याङ्क देखिन्छ (स्टेट अफ ग्लोबल एयर २०२१) जसले प्रत्येक नेपालीको औसत जीवन आयु पनि घटाइरहेको छ।

विश्वमा मात्र सात देशहरुले विश्व स्वास्थ्य संगठनले वायु गुणस्तर सम्बन्धी जारी गरेको मापदण्ड भेटेको देखिन्छ जसमा इस्टोनिया, फिनल्याण्ड,अष्ट्रेलिया,ग्रेनाडा,आइसल्याण्ड, न्यू जिएल्याण्ड र मौरिसस पर्दछन्।अन्य विश्वव्यापी तथ्याङ्क हेर्दा दक्षिणपूर्वी एसियामा वायु प्रदुषण उच्च मात्रामा रहेको पाइन्छ। त्यसैले पनि यही भौगोलिक क्षेत्रमा अवस्थित हाम्रो मुलुकमा पनि यसको प्रभाव प्रत्यक्ष देखा पर्दछ।हाल विश्व मा मात्र एक प्रतिशत भूभागमा मात्र स्वच्छ हावा पाइन्छ जसको परिणाम हेर्दा प्रत्येक दस जनमा एक जनाको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको छ।
वायु प्रदूषणको समस्या
जीवित प्राणी एवम् सम्पूर्ण जैविक क्रियाकलाप सँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले पनि वायु प्रदूषण र यसले निम्त्याउने समस्या तथा असरहरुलाई यसै नकार्न सकिँदैन।
दूषित हावाले प्रत्यक्ष रुपमा श्वासप्रश्वास प्रणालीमा असर देखाउँछ जसको फलस्वरूप श्वासप्रश्वासमा समस्या आउनु, दम,रुघाखोकी जस्ता समस्यादेखि फोक्सोको क्यान्सर सम्म हुने गर्दछ।यसका साथसाथै हावामा भएका धूलाको कणहरू छालामा टाँसिने,चिलाउने, चाला उठ्ने,अनुहारमा विविरा उठ्ने,आँखा चिलाउने,रातो हुने,सुख्खा हुने समस्या समेत देखा पर्दछन्। धुलाका कणहरूले फोक्सोमा हावा फेरबदल गर्ने अल्वेओली जाम गर्ने र शरीरको मेटाबोलिक क्रियाकलापलाई आवश्यक अक्सिजन पूर्तिमा समेत समस्या निम्त्याउँछ जसले खाना टुक्राउने र इनर्जी उत्पादन गर्ने प्रक्रियामा समेत अवरोध सिर्जना गर्छ।
यसका साथै गर्भवती महिलाहरूमा विभिन्न समस्या उत्पन्न गराई गर्भमा रहेको शिशुलाई समेत क्षति पुर्याउँछ र शारीरिक विकासमा समस्या देखाउँछ।ट्राफिक प्रहरी जो दिनभर सडकमा ड्यूटी मा खटिन्छन् वायु प्रदूषणको प्रत्यक्ष प्रभावमा पर्दछन्।यसका अतिरिक्त वायुमण्डलमा नाईट्रइड र सल्फाइड ग्यासको मात्रा बढाई ओजोन तह विनाश,हरित गृह प्रभाव,जलवायु परिवर्तन अम्लीय वर्षा जस्तो प्रकोपहरु देखा परिरहेका छन्। यसले वायुमण्डलमा सृजना गरेको ओजोन तह रगत मार्फत हड्डीमा पुगी क्याल्शियम तत्व निकाली हड्डी गलाउने,मौरीको फूलको सुगन्ध पत्ता लगाउने शक्तिमा ह्रास ल्याउने गरेको पनि देखिन्छ।
वायु प्रदुषणका कारक तत्वहरू
औद्यौगिकरण एवम् विश्वव्यापीकरण सँगै नवीनतम प्रविधिको विकास र प्रयोगले ल्याउने प्रदूषण ध्यानाकर्षण को विषय बनेको छ।पेट्रोलियम पदार्थको अधिकतम प्रयोग कलकारखाना बाट निस्किने धुवाँ जस्ता कारणले वायु प्रदुषण दिनप्रतिदिन बढिरहेको छ।
यसका कारक त्वत्व हरुलाई विभिन्न तरिकाबाट वर्गिकरण गर्न सकिन्छःप्राकृतिक र मानव स्रोत एवम् आउटडोर र इन्डोर श्रोत।
आउटडोर स्रोत
घरभन्दा बाहिर रहेका वस्तुहरू जसले वातावरणमा प्रदूषण सृजना गर्छन त्यस्ता स्रोतलाई आउटडोर स्रोत भनिन्छ जसमा प्राकृतिक,मानव स्रोत पर्दछन्।जस्तैस् ज्वालामुखी विष्फोटन, कलकारखाना, परमाणु हतियार आगलागी आदि।
इन्डोर स्रोत
घरभित्र प्रयोग गरिने वस्तुबाट उत्पन्न हुने प्रदुषणलाई इन्डोर स्रोत भनिन्छ जस्तै चुलो बाल्दा,सरसफाई गर्दा आदि।
प्राकृतिक स्रोतहरू
- तीव्र बेगको हावाले उडाउने धुलो माइक्रो प्लास्टिक का कणहरू
- धानखेत बाट उत्सर्जन हुने मिथेन ग्यास
- सक्रिय ज्वालामुखी विस्फोटबाट निस्किने सल्फर क्लोरिन खरानी तथा डस्ट
- वनजङ्गल आगलागी डढेलो बाट निस्कने कार्बन र धुवाँ
- विभिन्न रेडियोधर्मी पदार्थबाट निस्किने रेडिएसन आदि।
मानव श्रोत
अचल स्रोत
- औद्यौगिक कलकारखाना जसमा जीवास्मा इन्धनको प्रयोग
- खानी तथा तेल उत्खनन मा ग्यासको चुहावट
- खाना पकाउने काठ दाउरा गुइँठा कोइला
- विभिन्न निर्माणाधीन परियोजना ।
चल स्रोत
- डिजेल पेट्रोल प्रयोग गरिने सवारीसाधन हवाईजहाज
- झुम कृषि प्रणालीमा जमिनका लागि आगलागी
- परमाणु हतियार, रकेट प्रक्षपण आदि।
आउट डोर स्रोतले बाहिरी वातावरणमा प्राकृतिक सौन्दर्यता विगार्दछ।जस्तै की हामी लामो समयसम्म एउटै वातावरणमा बस्दा मनोरञ्जनात्मक क्रियाकलाप गर्न प्रकृतिको काखमा गइन्छ जहाँबाट सुन्दर प्राकृतिक दृश्य अवलोकन गरी मन आनन्दित एवम् प्रफुल्लित बनाउन खोज्छौं तर वायु प्रदूषणले ती सबै दृश्यहरु धूमिल पर्दछन् र प्राकृतिक सौन्दर्यतामा दाग देखिन्छ। जसले अन्ततः देशको पर्यटकीय गतिविधिमा न्यूनीकरण ल्याउँछ र नेपालजस्तो पर्यटकीय सम्भाव्यता रहेको मुलुकमा यसको सदुपयोग गर्न नसकी आर्थिक विकासमा पछि पर्दछ।
यसरी बाहिरी प्रदूषणको बारेमा मात्र कुरा गरिरहँदा घरभित्र हुने प्रदूषण अझै घातक सिद्ध हुन सक्छ। खाना पकाउँदा प्रयोग गरिने काठ दाउराबाट निस्किने धुवाँले चुलोमा काम गर्ने व्यक्तिलाई प्रत्यक्ष प्रभाव पर्दछ साथै बालबालिका र वृद्धवृद्धा जुन सेन्सेटिभ समूहमा पर्दछन् छिट्टै यसको चपेटामा पर्दछन्।

वायु प्रदुषण न्यूनीकरणको प्रयास
प्रमुख चुनौतीको रुपमा देखिएको वायु प्रदुषण न्यूनीकरणका लागि समय समयमा बहस भएतापनि प्रभावकारी कार्यान्वयन मा समस्या देखिएको छ।यसका लागि देहायका उपाय सहयोगी हुन सक्छन
- ग्रामिणस्तर एवम् व्यक्तिगतस्तर मा यससम्बन्धी जनचेतना फैलाउने कार्यलाई व्यापक र तिव्र पार्ने
- न्यूनीकरणका लागि सकेसम्म व्यक्तिगत स्तर मा परिवर्तन सुरु गर्ने
- दैनिक मौसम खबर प्रकाशित गरेझै एयर क्वालिटी इन्डेक्स बत्रष् सम्बन्धी समाचार प्रकाशन गर्ने
- विद्युतीय चुलो एवम् सवारीको प्रयोगमा जोड दिने
- निर्धारित मापदण्ड विपरीत चलेका उद्योग लाई मापदण्ड मा ल्याउने
- सवारी परीक्षण जाँचपास प्रभावकारी बनाउने
- सकभर निजी सवारीको प्रयोग कम गर्ने
- वनजङ्गल आगलागी, डढेलो भुस् क्षय नियन्त्रण गर्ने
- राजमार्गको छेउछाउमा वृक्षरोपण गर्ने
- खेतबारी बाट उत्पन्न फोहोरलाई अनावश्यक नजलाउने।
विभिन्न संघस्थाहरुले आफ्नो तहबाट यसका न्यूनीकरणका लागि आवाज उठाइरहेको देखिन्छ तर ती आवाज मात्र तिनै क्षेत्रमा सिमित देखिन्छ।त्यो आवाज अझै पनि नागरिकस्तर र सरकारस्तर सम्म पुग्न सकेको छैन। यो विषय मात्र वायु प्रदुषणको मात्रा उच्च हुँदाको दिन समाचार बन्छ तर अरुबेला यस विषयमा कुनै चासो देखिँदैन। सरकारी पक्षसँग कुराकानी गर्दा मात्र प्रतिबद्धता जनाइन्छ तर खासै प्रगति देखिँदैन। स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार मात्र संविधानमा सीमित भएको स्थितिमा यसको लागि आवश्यक कदम चाले भयावह स्थिति आउन बाट रोक्न सकिन्छ।यसका लागि तिनै तहका सरकारबाट वातावरण सम्बन्धी नीति,नियम ल्याउने र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ। यसैगरी वायु प्रदूषण आजको विश्वकै समस्या भएकाले सम्पूर्ण मुलुकहरू एकजुट भई यसका कारक तत्व पहिचान र न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्छ।यसरी सर्वसहभागिता र दृढता साथ लागे अवश्य पनि सकारात्मक परिवर्तन देखा पर्दछ।
सचिन अर्याल त्रिचन्द्र क्याम्पसमा अध्ययनरत वातावरण विद्यार्थी हुन्।