जिरीको त्यो साँघुरो गल्लीमा दौडिरहेका एक सानो बालकको आँखामा हिमालको सपना थियो – एउटा यस्तो सपना जसलाई पूरा गर्न निकै लामो र कठिन यात्रा तय गर्नुपर्ने थियो। स्थायी घर सोलुखुम्बु भएका कृष्णकुमार मगरको जन्म तथा बाल्यकाल दोलखाको जिरीमा बित्यो।
त्यही जिरी जसलाई ‘नेपालको स्विट्जरल्याण्ड’ र ‘सगरमाथाको प्रवेशद्वार’ पनि भनिन्छ। उनका बुवा–आमा आफ्ना सन्तानलाई उज्ज्वल भविष्य दिने सपना बोकेर सोलुखुम्बुबाट झरेका थिए, तर तिनै बुवा–आमाले कल्पना पनि गरेका थिएनन् कि उनको छोरो एक दिन ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडर’ बन्नेछ।
हरेक दिन, बालक कृष्णकुमारको आँखाले विदेशी पर्यटकहरूलाई नियाल्थे। उनीहरूको रङ्गीन पोशाक, उनीहरूको उत्साह, हिमालतिर जाने उनीहरूको अदम्य इच्छा, यी सबैले बालकको मनमा एउटा आकर्षण जन्मायो। ‘मलाई अझै पनि सम्झना छ, त्यो बेलाका पर्यटकहरूको झुण्ड, उनीहरूको चहलपहल, उनीहरूको विविधता,’ कृष्णकुमार सुनाउँछन्। ‘बाल्यकालमा मैले त्यो देख्दा नै सायद यस पेशा प्रति मेरो लगाव बढेको हो। मनमा एउटा विचार आउँथ्यो म पनि एक दिन यसरी नै पर्यटक घुमाउँछु।’ तर सपना देख्नु र साकार पार्नु यी दुईबीच महासागर जत्रो खाडल थियो, र त्यो खाडल पार गर्ने यात्रा सुरु हुन्थ्यो कठिनाइबाट। कृष्णकुमारको परिवारमा आर्थिक अभाव थियो। प्रायः नेपाली युवाहरू झैँ, उनले पनि आफ्नो भाग्य उज्यालो पार्न विदेशिने, ‘लाहुरे’ बन्ने सपना देखे। नेपाली सेना, प्रहरीमा प्रयास गरे तर सबै प्रयास गर्दा पनि त्यहाँ सफलता हात लागेन। असफलताको निराशा र निराशाको अँध्यारोमा, उनले आफ्नो मनको गहिराइमा लुकेको सपनालाई पुनः सम्झे – त्यो ट्रेकिङको सपना।

‘मैले धेरै ठाउँमा काम खोजेँ,’ उनी त्यो समयलाई सम्झन्छन्। ‘हरेक ठाउँमा एउटै जवाफ मिल्थ्यो – ‘तिमीले सक्दैनौ’, ‘हुन्न’, ‘काम जानेको छैन’। कृष्णकुमारको यात्राको पहिलो कदम थियो – ४८ किलोको आफ्नो कमजोर शरीरमा ५०–५५ किलोको भारी बोकेर अन्नपूर्ण बेस क्याम्पको कठिन मार्ग तय गर्नु। तीन वर्षसम्म भरियाको रूपमा, दुई वर्ष सहायक गाइडको रूपमा काम गरेपछि, सन् २०१५ मा उनले गाइडको लाइसेन्स प्राप्त गरे। त्यो क्षण उनको जीवनको सबैभन्दा उत्कृष्ट क्षणहरूमध्ये एक थियो। ‘लाइसेन्स हातमा लिँदा म भावुक भएँ,’ उनी भावुक हुँदै सम्झन्छन्। ‘लाइसेन्स प्राप्त गर्नु मेरो लागि सपना पूरा हुनु जस्तै थियो, त्यो पल मेरो जीवनमा सधैं अमर रहनेछ।’ तर कृष्णकुमारको यात्रामा चुनौतीहरू अझै बाँकी थिए। हिमाली यात्रामा चाहिने आधुनिक सामग्रीहरूको अभाव, कमजोर नीति–नियम, पेशागत सुरक्षाको कमी – यी सबैसँग उनले निरन्तर जुध्नुपर्यो। ‘त्यो समयमा हामीसँग स्पोट्र्स सु पनि थिएनन्,’ उनी भन्छन्। ‘पानी छिर्ने जुत्ता लगाएर हामी हिउँमा हिँड्थ्यौं’ उनी थप्छन्, ‘अहिलेको जस्तो नीति नियमहरु पनि थिएन पहिला। जति सकिन्छ त्यती भारी बोकेर हिड्नु पर्ने बाध्यता थियो। आर्थिक अभाव, आम्दानीको स्रोत नै त्यो भएपछि भारी नबोकेर पनि उपाय भएन। कहिलेकाहीं हामी आफ्नो शरीरको सीमाभन्दा बढी बोझ बोक्थ्यौं, तर त्यो नै हाम्रो दैनिकी थियो।’
यात्रामा कृष्णकुमारलाई सबैभन्दा बढी बल र साहस प्रदान गर्ने थिए उनका परिवार, विशेषगरी उनका बुवा। ‘मेरो पहिलो पदयात्रामा नै मेरो बुवाले मसँगै पदयात्रामा जानुभएको थियो,’ उनी भावुक हुँदै सम्झन्छन्। ‘म सँग त अनुभवहरू केही पनि थिएन। समस्या आउँन सक्छ भनेर होला, बुवाको माया छोरा प्रति, छोरालाई गाह्रो हुन्छ भनेर वहाँ आफै जानुभएको थियो।’

क्रमशः कृष्णकुमारको अनुभव र ज्ञान बढ्दै गयो। एकपछि अर्को हिमाली यात्रा, एकपछि अर्को चुनौती पार गर्दै उनको प्रतिष्ठा पनि बढ्दै गयो। तर समग्र पर्वतीय पर्यटन क्षेत्रको अवस्था देखेर उनी अझै पनि चिन्तित छन्। ‘सरकारको पर्यटन क्षेत्रसँग सम्बन्धित बुझाई नै गलत छ कि भन्ने लाग्छ मलाई,’ उनी चिन्ता व्यक्त गर्दै भन्छन्। ‘सरकारले पर्यटन भन्ने बित्तिकै होटल र एयरलाईन्स मात्र बुझेको हो कि भन्ने लाग्छ। तर पर्यटन भनेको त त्यो भन्दा धेरै व्यापक क्षेत्र हो – यसमा हामी जस्ता हजारौं गाइड, भरिया, होटल कर्मचारी, स्थानीय समुदाय सबैको योगदान छ।’ कृष्णकुमारको विचारमा नेपालको प्राकृतिक सुन्दरता अतुलनीय छ। ‘हाम्रो नेपाल त्यसै नै स्वर्ग हो,’ उनी गर्वका साथ भन्छन्। ‘नेपाल जस्तो राम्रो ठाउँ सायदै विश्वमै कहीँ छैन। एकातिर हिमाल, अर्कोतिर पहाड, तराई – यस्तो विविधता संसारको कुनै देशमा छैन। तर हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौं, भने आवश्यक पूर्वाधारहरू पनि हामीले निर्माण गर्न सकेका छैनौं।’ जलवायु परिवर्तनको चुनौतीबारे पनि कृष्णकुमार सचेत छन्। ‘जलवायु परिवर्तनकाकारण समग्र विश्वलाई नै असर परिरहेको अवस्था हो,’ उनी चिन्तित हुँदै भन्छन्। ‘हिमालमा हिउँनै भएन भने त हिमालको महत्व नै नहुने भयो नि !’ उनले सरकारलाई पर्वतीय पर्यटनको विकासका लागि केही महत्त्वपूर्ण सुझावहरू दिएका छन्। ‘पहिलो कुरा, पर्वतीय पर्यटनमा काम गर्नेहरूको जीवन सुरक्षित गर्ने व्यवस्था मिलाउनुपर्छ। दोस्रो हिउँदे पर्यटनको विकास गर्नुपर्छ, ताकि वर्षभरि रोजगारी होस्। तेस्रो पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्छ।’ आज, कृष्णकुमारको सपना पूरा भएको छ। भरियाबाट सुरु भएको उनको यात्रा नेपालकै पहिलो अन्तरराष्ट्रिय माउन्टेन लिडरमा परिणत भएको छ।
उनले आफ्नै कम्पनी ‘ड्रिम पिक एडभेन्चर’ सञ्चालन गर्दै आएका छन्, जसले विश्वभरका पर्यटकहरूलाई नेपालका विभिन्न हिमाली क्षेत्रहरूमा घुमाउने काम गर्छ। उनले अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथासहित चुलु इष्ट, चुलु वेस्ट, आइसल्याण्ड पिक, लोबुचे पिकलगायत धेरै हिमाल आरोहण गरिसकेका छन्। ‘यो पेशा भनेको घुम्दै पैसा कमाउने पेशाको रूपमा म लिन्छु,’ उनी मुस्कुराउँदै भन्छन्। ‘अरु पैसा खर्च गरेर घुम्न जान्छन्, यो पेशामा भने घुमेर पैसा कमाइन्छ। तर यो केवल पैसाको कुरा मात्र होइन यसमा प्रकृतिसँगको सम्बन्ध छ, र सबैभन्दा महत्त्वपूर्ण अन्य मानिसहरूलाई हाम्रो देशको सुन्दरता देखाउने अवसर छ।’ गाइड बन्न इच्छुक युवाहरूलाई कृष्णकुमारको सन्देश छः ‘शारीरिक र मानसिक पक्ष एकदम बलियो हुनुपर्छ। बाँकी सबै समयसँगै सिकिन्छ। धैर्य र दृढताले कुनै पनि चुनौती पार गर्न सकिन्छ। तर याद राख्नुपर्छ गाइडको जिम्मेवारी ठूलो हुन्छ। होटलबाट यात्रा सुरु भएदेखि लिएर पर्यटकहरूलाई सकुशल फर्काउनु, अझ भन्नुपर्दा पहिलेभन्दा फुर्तिलो बनाएर ल्याउनुपर्ने हुन्छ। यो पेशामा प्रेम र समर्पण चाहिन्छ।’

आफ्नो जीवनयात्रा फर्केर हेर्दा कृष्णकुमार अत्यन्तै भावुक हुन्छन्। ‘हिजो भरियाबाट सुरु भएको यात्रा, आज नेपालकै पहिलो अन्तरराष्ट्रिय माउण्टेन लिडर बन्न पुगेँ। विगतमा विभिन्न क्षेत्रमा रोजगारीको प्रयास गरेर निराश भएको थिएँ, विदेश साउदी जाने सोच पनि बनाएँ, तर त्यो पनि नभएर आज यहाँ आइपुगेको देख्दा खुसी लाग्छ। मलाई लाग्छ, जीवनले हामीलाई सधैं सही बाटोमा डोर्याउँछ, यदि हामीसँग आफ्नो लक्ष्य प्रति अटल विश्वास र त्यसका लागि मेहनत गर्ने इच्छाशक्ति छ भने।’ पर्यटन क्षेत्रमै रहेर काम थप काम गर्ने सोचमा उनि छन्। आफ्नो व्यत्तिगत प्रयासमा उनले यस क्षेत्रमा लागेका नयाँ पुस्ताहरुलाई आफ्नो ज्ञान तथा भाषा प्रशिक्षणहरु पनि प्रदान गरिरहेका छन्। उनको कथाले प्रमाणित गर्छ कि सपना देख्न कहिल्यै पनि ढिलो हुँदैन र त्यसलाई पूरा गर्न साहस, दृढता र मेहनत मात्र चाहिन्छ। जिरीको गल्लीमा दौडिरहेको बालकदेखि विश्वप्रसिद्ध माउन्टेन लिडरसम्मको यात्रा यो अविश्वसनीय लाग्न सक्छ, तर कृष्णकुमार मगरका लागि, यो उनको जीवनको वास्तविकता हो, उनको सपनाको साकार रूप हो।