काठमाडौं। ‘जाँडरक्सी छाडेपछि साथीभाइ पनि छुट्दा रहेछन्’।
प्रताप गुरुङ (४८ वर्ष)ले यो कुराको महसुस त्यतिबेला गरे, जतिबेला उनी जाँडरक्सीको लतबाट दूर भइसकेका थिए।
सामान्य ट्रेकिङ गाइडको कामबाट कमाएको १५ सय पैसा साँझ दुई क्वाटर रक्सी खाएर सिध्याउनु दैनिकीजस्तै थियो। १५ सय रुपैयाँ दिनको कमाइ हुन्थ्यो। सात सयको एक क्वाटरका दरले दुई क्वाटर रक्सी खाँदा तलब चैट हुन्थ्यो। बाँकी गेस्ट खुसी भएर बक्सिस दिए भने खल्तीमा पैसा पर्थ्याे, नत्र घर फर्किंदा रित्तै।
दिनभरिको कमाइले आउँथ्यो त केवल दुई क्वाटर रक्सी। त्यसमै पनि एक किसिमको आनन्द थियो। तर, कुलतको आनन्दको आयु कति पोे हुन्थ्यो र। घरको जिम्मेवारीले थिच्दै जाँदा कुलत आफैं दूर भएर गयो। प्रतापले रक्सी खान छाडे।
‘कमाएको पैसा जाँड खाएर सकिन्थ्यो। घर फर्किंदा बच्चाहरूको स्कुलमा फि (शुल्क) तिर्ने बेला भएको हुन्थ्यो। घरको भाडा तिर्ने बेला भएको हुन्थ्यो। अवस्था देख्दा तनाव भयो। त्यसपछि मैले जाँडरक्सी खान चट्टै छोडेँ’, प्रतापले सुनाए।
जाँडरक्सीसँगै साथीभाइ छुटे। उनमा एकातिर जाँडरक्सी छोडेकोमा सन्तोष मिलिरहेको थियो भने अर्काेतिर साथीभाइ गुमाउनु परेकामा खल्लो पनि।
त्यसपछि खुरुखुरु कम्पनी (ट्रेकिङ एजेन्सी)मा जाने। काम गर्ने। र, घर फर्किने क्रम चल्यो।
साथीभाइसँग टाढिएपछि कुँडिएको मनले अझै उछार पाएको थिएन। अफिसमा बस्दा टोलाइरहन्थे। एक शनिबार एजेन्सीका साथीहरू (कृष्ण गुरुङ, गोपी श्रेष्ठ, फुर्केल शेर्पा)ले प्रस्ताव राखे, ‘प्रतापजी आज चरा हेर्न जाऊँ न त।’
उनी दंग परे।
‘चरा हेर्ने ! गाउँमा गुलेली खेलाएर हुर्किएको मान्छे सहरमा चरा हेर्न जाने र?’ अचम्म लाग्यो।
एजेन्सीका ती साथीहरू चराप्रति रुचि राख्थे। हरेक शनिबार चरा हेर्न जान्थे। तिनै साथीको प्रस्तावमा प्रताप सन् २०११ मा ‘बर्ड कन्जरभेसन नेपाल’को प्रदर्शनीमा सहभागी भए।

चरा हेरेर रमाउने र आनन्दित हुने कुरा छँदैछ। त्यसमा अर्काे महत्वपूर्ण कुरा, चरा चिन्नु पनि हो। यो भनेको चराको नाम, रंग, आवाज, बसाइँलगायत कुरा थाहा पाउनु हो।
१०–१२ वर्षसम्म गाउँका जंगलमा डुलेर, गुलेली खेलाएर हुर्किएका प्रतापलाई चरा चिन्न त्यति गाह्रो थिएन। त्यसमाथि उनमा आवाज सुनेर चरा पत्ता लगाउन सक्ने खुबी थियो। बर्ड वाचिङमा जाँदा आवाज सुनेरै उनी भन्दिन्थे, ‘यो यो चराको आवाज हो।’
उनका सिनियरहरू यो खुवीमाथि शंका गर्थे। उनीहरू भन्थे, ‘तिमी हिजो आएर यस्तो कुरा भन्ने?’
किनभने, उनीहरू दुरबिनले हेरेर र क्यामेराले राम्रोसँग फोटो खिचेर मात्र चरा पत्ता लगाउँथे।
चराप्रति रुचि बढ्दै गइरहेका बेला काठमाडौंमा बिरलै पाइने नीलमणि अर्जुनक प्रजातिको चरा देखे। नयाँ प्रजातिको चरा देखेको कुरा गुरु र साथीलाई सुनाए। तर, उनका कुरा कसले पत्याउने?
किनभने, उनीसँग पेस गर्ने कुनै प्रमाण थिएन।
उनी चुकचुकाए।
अनि, घरमा आएर सरसल्लाह गरी क्यामेरा किन्ने निर्णय गरे।
‘फोटो नै चाहिने भनेपछि मैले घरमा आएर मिसेससँग सल्लाह गरेँ। र, सामसुङको पकेट क्यामेरा र जे– ७ मोबाइल किनेँ’ उनले भने। तर, त्यो क्यामेराबाट चराको फोटो खिच्न सम्भव नहुने रहेछ।
उनमा चराहरूको फोटो खिचिछाड्ने हुटहुटी थियो। त्यही कारण उनी पहिलोपटक किनेको क्यामेराले फोटो खिच्न नसकेकोमा चिन्ता गरेर मात्र बसेनन्, न्यूरोड पुगेर फेरि अर्काे क्यामेरा किने।
उनले दोस्रोपटक किनेको क्यामेरा निकोनको ३२ सय मोडलको डिएसएलआर हो। यसपटक पनि सोचेजस्तो भएन। ‘मलाई नयाँ नयाँ जस्तो मानेर होला बिगिनर मोडल भिराइदिएछन्। त्यो क्यामेराले लो लाइटमा खिच्नै मिल्ने रहेनछ’, उनले भने। त्यो क्यामेराले हात बसाल्न भने मद्दत गर्यो।
फेरि निकोनको ७१ सय मोडल किने। साथमा १५०–५०० एम.एमको लेन्स पनि। त्यसपछि उनको वाइल्डलाइफ फोटोग्राफी यात्रा निरन्तर अघि बढ्यो।

त्यस समयमा फोटोको कुनै व्यवसायिक धरातल थिएन। फोटो खिच्ने, फेसबुक (अरु पनि सामाजिक सञ्जाल)मा राख्ने, लाइक–कमेन्ट हेर्ने रमाउने मात्रै हुन्थ्यो।
त्यतिबेलासम्म फोटोग्राफरहरूले वाइल्डलाइफ फोटो फेसबुकमा खासै राख्दैनथे, जतिबेला प्रताप र उनका साथीले राख्न सुरु गरे। यस अर्थमा उनी सन्तोष मान्छन्, ‘हामीले फेसबुकमा राखेका फोटाे हेरेर धेरै मानिस मोटिभेट भए। ती फाेटाेहरू देखेर केही मानिस यो क्षेत्रमा पनि लागे। यस अर्थमा खुसी लाग्छ।’
नेपालमा ९९८ प्रजातिका चरा पाइन्छन्। प्रतापले तीमध्ये ६३२ प्रजातिका चराहरू फोटो खिचेका छन्। यो नै उनको सबैभन्दा ठुलो सम्पत्ति हो। सन् २०२४ डिसेम्बरदेखि २०२५ फेब्रुअरीसम्म दुई महिनाको अवधिमा १५ वटा नयाँ प्रजातिका चरा भेटे। त्यसमध्ये एउटा नेपालमाबाट लोप भइसकेको चरा पनि रहेको छ।
महंगो सोख
प्रताप वाइल्डलाफ फोटोग्राफीलाई ‘महंगो सोख’का रुपमा परिभाषित गर्छन्।
‘वाइल्डलाइफ फोटोग्राफी एकदमै महंगो सोख हो। यसमा सुको आम्दानी छैन’, आफूले गरिरहेको कामबारे उनी भन्छन्, ‘युवा पुस्तालाई यसमा लाग भन्न पनि डर छ। कमाइ राम्रो हुन्थ्यो भने पो युवा पुस्तालाई यसमा लाग, राम्रो छ भन्न मिल्थ्यो। यसबाट आम्दानी गर्छु भन्नेहरूलाई यसमा आउन सुझाव दिन सक्दिनँ।’
यद्यपि, प्रतापले जीवनमा पाएको सबैभन्दा ठुलो उपलब्धि वाइल्डलाइफ फोटोग्राफीका कारणले हो। उनलाई देशीविदेशी पर्यटकले खोज्ने र रोज्ने कारण पनि यही हो।
प्रताप बर्ड वाचिङ गाइडको काम गर्छन्। उनी चरा हेर्न नेपाल आउने पर्यटकलाई जंगल लिएर जान्छन्।
नेपालमा विविध प्रजातिका चरा देख्न सकिन्छ। कति रैथाने हुन त कति पाहुना। ती चरा हेर्न तथा अध्ययन गर्न आउने पर्यटकलाई हेर्न चाहेका चरा पाइने ठाउँमा पुर्याउनु र तिनका बारेमा पूर्णरुपमा जानकारी दिनु बर्ड वाचिङ गाइडको काम हो।
बर्ड फोटोग्राफीमा लाग्नेहरूको आम्दानीको मुख्य आधार नै यही भएको प्रतापको भनाइ छ। ‘बर्ड टूरिजममा फोटोग्राफीभन्दा राम्रो आम्दानी छ। बर्ड आइडेन्टिफिकेसन (पहिचान) गर्न सक्नुपर्छ। त्यसको कलर, इतिहास, बसाइँ, अवस्था, संख्या राम्रोसँग ज्ञान राख्नुपर्छ। यो कुरामा राम्रो भयो भने त राम्रो कमाइ गर्न सकिन्छ।’
प्रतापले बर्ड वाचिङ गाइड वा वाइल्डलाइफ टूर गराएबापत दैनिक एक सयदेखि डेढसय डलरसम्म शुल्क लिने गरेका छन्।

...अनि बल्ल वाइल्डलाइफ फोटोग्राफीमा
प्रतापको परिचय चर्चित वाइल्डलाइफ फोटोग्राफर र कुशल बर्ड वाचिङ गाइडभन्दा अगाडि ट्रेकिङ गाइड हो। र, ट्रेकिङ गाइडको यात्राको कथा सुरु हुन्छ, सन् १९९४ बाट।
उनी स्कुल पढ्दा पढ्दै धादिङको नीलकण्ठ नगरपालिका– ११ गौरीगाउँस्थित घरबाट भागेर काठमाडौं आएका थिए। अभिभावकसँगको असमझदारीबीच घरबाट भागेर राजधानी आएका उनको पहिलो साक्षात्कार गाउँका एकजना दाइसँग भयो।
रत्नपार्क नजिक काठमाडौं बसपार्क (हाल पुरानो बसपार्क)मा ओर्लिएर बागबजारतिर बढ्दै गर्दा मिठाइ पसलमा गाउँका एकजना दाइ देखापरे। ती दाइलाई आफ्ना सबै कुरा सुनाए। अनि, तिनै दाइले काम गर्ने मिठाइ पसलमा काम गर्ने टुंगो पनि लाग्यो। त्यो जनआन्दोलनको समय थियो।
जनआन्दोलनको राप सेलाएपछि ठमेल घुम्न पुगे। त्यसबखत गाउँका पुरुषोत्तम ढकालसरसँग भेट भयो। ‘उहाँ सरले भनेपछि ट्रेकिङमा लागेर भारी बोक्न थालेको हो’ उनले सुनाए।
लाङटाङ री ट्रेकिङ कम्पनीमार्फत् पोटर (भरिया)को काम सुरु गरे। फरासिला, मेहेनती र नेतृत्व गर्न सक्ने क्षमता कारण उनी चार वर्षमा पोटरबाट सिधैं शेर्पा बने।
शेर्पा बनेपछि हिमालयन एकोलोजिकल ट्रेककिङ्गबाट तीब्बत यात्रा सुरु गरे।
पर्यटककलाई कैलाश मानसरोवर घुमाउन तीब्बत लैजाने क्रममा विदेशी नागरिकले दिएको सुझावबाट प्रेरित भएर सन् २००२ मा गाइडको तालिम लिए। पर्यटन क्षेत्रमा राम्रो अनुभव भएका उनले एक महिना अंग्रेजी भाषा सिकेर गाइडको तालिम सुरु गरे।
तीब्बत यात्राको क्रममा जर्मन पर्यटकहरूसँग राम्रो सम्बन्ध बन्यो। ती जर्मन पर्यटकले उनलाई आफ्नो देशमा घुम्न बोलाए। ‘जर्मनहरूलाई मैले नेपालमा राम्रो गरेको हुनाले उनीहरूले मलाई जर्मन घुम्न बोलाए। मैले पनि चान्समा डान्स किन नगर्ने भन्ने सोचेर गएँ,’ उनले भने।
२५ दिनको भिसा लिएर जर्मन उडेका थिए। जर्मन पुगेपछि भिसा अवधि ९० दिन पुर्याइयो। त्यस क्रममा उनले छापाखानामा काम पनि गरे। जर्मनमा बस्ने वा त्यहाँबाट बेल्जियम जाने र काम गर्ने अवसर पनि थियो। तर, उनको मन विदेशमा अडिएन।
‘त्यतिबेला म बेल्जियम पनि जान सक्थेँ, जर्मनबाट बेल्जियम जान भिसा चाहिँदैन्थ्यो। त्यहाँ साथीहरू पनि थिए। उनीहरूले ‘आऊ दाइ चान्समा डान्स गर, हामी काम मिलाइदिन्छौं’ भनेका थिए। तर, मलाई पैसा ठुलो होइन जस्तो लाग्यो’, उनी भिसा सकिनु १५ दिन अगाडि नेपाल फर्किए।
उनले नेपाल फर्किएर जर्मन भाषा पढे। जर्मन भाषा अध्ययनका लागि जर्मन नागरिकले नै आर्थिक सहयोग गरे।
एक वर्ष जर्मन भाषा कक्षा लिएपछि फेरि ट्रेकिङको काममा फर्किए।
सन् २००२ देखि २०१० सम्म तिब्बतमा ट्रेकिङको काम गरे। यही बेला हो, जाँडरक्सीको कुलतमा फसेको।

कुलतबाट दूर भएर वाइल्डलाफ फोटोग्राफीमा लागेपछि प्रकृतिसँग रमाउन मात्रै सिकेनन्, त्यसबाटै काम, दाम र नाम पनि कमाए। र, खुसी पनि यसमै भेटे।
‘म यो क्षेत्रमा लागेकोमा श्रीमती खुसी छ’, उनी सुनाउँछन्, ‘त्यो जाँड खाएर हिँडेको बुढाभन्दा त यो नेचरमा रमाएर हिँडेको बुढा देख्दा कसलाई मन पर्दैन होला र, हाहाहा।’
प्रताप आफू पनि वाइल्डलाइफ फोटोग्राफीलाई मेडिटेसनका रुपमा पनि लिन्छन्। पारिवारिकमा खटपट भयो भने झोला र क्यामेरा बोकेर जंगरतिर लाग्छन्। ‘बर्ड वाचिङ एउटा मेडिटेसन हो। यसले मान्छेलाई डिप्रेसनमुक्त गराउँछ,’ उनी विश्वास गर्छन्।
क्यामेरा बेचेर गाउँतिर
कोरोना महामारीको समयमा उनको मनमा लाग्यो,- क्यामेरा बोकेर चराको पछिपछि लाग्नुको कुनै अर्थ छैन। किनकि, यसबाट आम्दानी नै छैन।
अनि, क्यामेरा बेचेर गाउँतिर लागे।
कोरोना महामारीमा दोस्रो लकडाउनपछि वातावरण बिस्तारै सहज बन्दै गयो। लामो समयसम्म घर र डेराभित्र थुनिएका मानिस निस्किए। ट्रेकिङ क्षेत्र पनि चलायमान हुन थाल्यो। त्यही अनुसार प्रतापको व्यस्तता पनि बढ्यो।
चरा खोज्न जंगल चहार्ने प्रताप अब पदमार्ग र घरमा सीमित भए। उनको जीवन कथामा जंगलको निस्फिक्री दृश्य हरायो।
प्रतापलाई केही खल्लो पनि महसुस भयो। अनि, फेरि क्यामेरा किन्न निधो गरे। यसपटक क्यामेरा किन्ने निधो गर्नुको कारण बर्ड फोटोग्राफीमा फर्किनु थिएन। ट्रेकिङ जाँदा वा खाली समयमा राम्रा दृश्य देखेको बेला ल्यान्डस्केप फोटो खिच्नु थियो।
सोनी आर– ४ क्यामेरा किनेर ल्यान्डस्केप फोटो मात्र खिचेर बसे।
यो क्रम एक वर्ष चल्यो। यो अवधिसम्म उनी साथीहरूको जम्घटबाट छुटिसकेको थिए। पहिला चराहरूको फोटो खिच्न बोलाउने साथीहरूले बोलाउन छाडिसकेको थिए।
चराहरूको चिरबिरबाट अलगिनु र साथीहरूबाट छोडिनुको नैराश्य प्रकट हुँदै थियो। त्यो नैराश्य श्रीमतीको मनले महसुस गर्यो।
सन् २०२२ को अक्टुबरमा श्रीमती अगाडि सरिन्, ‘बुढा एउटा कुरा भन्छु न रिसाऊ ल...।’
उनी सुनिरहे।
श्रीमती बोलिरहिन्, ‘गएर एउटा लेन्स किनेर आइहाल त। अब तिम्ले मेरो लागि भएपनि वाइल्डलाइफ फोटोग्राफी गर्नुपर्छ।’
त्यो प्रेमिल वातावरणमा प्रतापले जवाफ खोजे।
जवाफ थियो, ‘तिमी पहिला त्यसरी हिँडेको मान्छे, अहिले तिम्रा साथीहरूले प्रोग्राममा बोलाउँदैनन्, तिमीलाई पाखा लगाएको जस्तो लाग्यो। मेरो अनुरोधमा तिमी फेरि ब्याक हुनुपर्छ।’
प्रताप तुरुन्त बजार गएर २ हजार डलर खर्चिएर २००–६०० एमएमको लेन्स किने।
साता दिनपछि बाघको फोटो खिच्ने रहर बोकेर चितवन झरे।
वाइल्डलाइफ फोटोग्राफीमा बाघको फोटो खिच्नु खर्चिलो र चुनौतीपूर्ण मात्रै होइन, प्रतिष्ठाको विषयको रुपमा पनि लिइन्छ। प्रतापले यो कुराको महसुस राम्रोसँग गरेका थिए।
एकपटक उनका साथीले नै डाइलग हानेका थिए, ‘बारीका डिलमा चराको फोटो खिच्दैमा वाइल्डलाइफ फोटोग्राफर बनिँदैन।’
त्यसो त उनले आठ वर्षदेखि बाघको फोटो खिच्ने कोसिस नगरेका होइनन्। तर, सफल भएका थिएनन्।

‘त्यो लेन्स किनेको सात दिनमा चितवन बाघको फोटो खिच्न गएँ। गएको भोलिपल्ट नै मैले बाघ खिचेँ। निकोन बोकेर आठ वर्ष धाउँदा मैले बाघको फोटो खिचेको थिएन। त्यही भएर बुढीले अहिले मलाई भन्छे, ‘क्यामेराको बडी जेसुकै गर त्यो लेन्स चाहिँ नबेच। किनभने उसले फोर्स गरेर किनेको लेन्स, त्यही लेन्सले मैले बाघको फोटो खिचेँ’, उनले भने।
अनि, उनले ‘बारीका डिलमा चराको फोटो खिचेको फ्रेममा त यस्तो पो पर्यो’ भनेर बाघको फोटो फेसबुकमा पोस्ट गरे।
अहिले उनी ट्रेकिङ गाइड र बर्ड वाचिङ गाइड तथा वाइल्डलाइफ टूर चलाउने गर्छन्। फुर्सदिलो समयमा यात्रा र वाइल्डलाइफ फोटोग्राफी गर्छन्।
उनी नेपालमा बर्ड टुरिजको सम्भावना धेरै राम्रो भएको बताउँछन्। उनका अनुसार धेरै एजेन्सीहरूले बर्ड वाचिङलाई मेनुमा समावेश गरेका छन्। चरा हेर्नको लागि आउने पर्यटकहरूको संख्या पनि बढ्दो छ। करिब दुई दर्जन बर्ड वाचिङ गाइडले राम्रोसँग काम पनि पाएका छन्। आम्दानी पनि राम्रो गरेका छन्।
‘बर्ड हेर्न आउने पर्यटक धेरैजस्तो रिटायर्ड लाइफमा इन्जोय गर्नेहरू हुन्छन्,’ प्रतापको अनुभवले भन्छन्, ‘उनीहरूसँग समय र पैसा दुवै कुरा पर्याप्त हुन्छ।’
यद्यपि, राज्यले बर्ड टुरिजमलाई प्रवर्द्धन गर्ने कुरामा जोड नदिएको गुनासो छ उनको। जग्गाको अधिक प्लटिङ, सिमसार क्षेत्रको विनास, जनमानसमा ज्ञानको कमी तथा चोरी सिकारीले यसमा असर पुगिरहेको भनाइ छ।
जिन्दगीको ‘लाइट’
प्रतापले आफ्नो औपचारिक शिक्षालाई माथिल्लो तहसम्म पुर्याउन सकेनन्। आठ कक्षासम्म मात्र पढ्न पाए। ‘मध्यम परिवार भएर होला पढ्नका लागि पर्याप्त लगानी थिएन। त्यसमाथि हाम्रो समाजमा पढ्नुपर्छ, पढाइमा खर्च गर्नुपर्छ भन्ने मान्यता पनि थिएन। यतिबेलाको अवस्था यस्तै थियो, पढाइमा मन बसेन’, उनी सुनाउँछन्।
औपचारिक शिक्षाका लागि विद्यालय कोठामा अडिन नपाएपनि सानैदेखि चलाख र तिष्ण बुद्धिका थिए प्रताप। त्यसैको उपज हुन सक्छ, ट्रेकिङमा पोर्टर (भारिया)बाट सिधैं शेर्पामा बढुवा भए, अंग्रेजी भाषा जाने, राम्रो अंकसहित गाइडको परीक्षा पास गरे, जर्मन भाषा अध्ययन गरे र सामान्य पर्यटकदेखि विज्ञहरूलाई समेत नेपालको प्राकृतिक सौन्दर्यता र विशिष्ठता तथा चराबारे बुझाइरहेका छन्, पढाइ रहेका छन्।

उनलाई यो तहसम्म पुर्याउन ‘शैक्षिक चेतना’को पनि महत्वपूर्ण भूमिका छ। शिक्षाप्रति उनको बुझाइ छ, ‘शिक्षा चाहिँ जिन्दगीको एउटा लाइट नै हो। मैले पढ्न पाएन तर मैले शिक्षाको बारेमा धेरै बुझेको छु, त्यही बुझेका कारण मैले मेरा बच्चाहरूलाई काठमाडौंमा ल्याएर राम्रोसँग पढाउने गरेको छु। म उनीहरूको पढाइप्रति सचेत छु।’
प्रतापका छोरा डेनमार्कमा स्नातक तह (अन्तिम वर्ष)को अध्ययन गरिरहेका छन्। छोरीले नेपालमा स्नातक तह उत्तीर्ण गरिन्।
उनी स्कुल गएर पढ्न नपाए पनि इच्छाशक्ति र जाँगर भए सफल हुन सकिनेमा विश्वास राख्छन्। भन्छन्, ‘जीवन एउटा बाटो हो, त्यसलाई बङ्ग्याउने, टिङ्ग्याउने वा सिधा बनाउने आफ्नो हातमा हुन्छ। सिधा बाटोमा संघर्ष गरे प्रतिफल एक न एक दिन अवश्य पाइन्छ।’
नलेखेको विदेश
सहज वातावरण हुँदा पनि जर्मनी (बेल्जियम पनि)मा नबसेका प्रतापले ब्रिटिश आर्मीमा भर्तीको प्रयास गरेका थिए। सफल हुन सकेनन्।
पछि ट्रेकिङमा काम गर्दागर्दै घर व्यवहारमा पिल्सिँदा सेक्युरिटी गार्डका लागि दुबई जाने निर्णय गरेका थिए।
‘दुबई जान तयार भएको थिएँ। तर, साथीले यो ट्रिपमा तीब्बत गइदेऊ न भनेर भन्यो। हुन्छ भनेँ। तीब्बत गएँ। अनि उतै अड्किएँ,’ त्यो समय सम्झिँदै भन्छन्, ‘सायद मेरो भाग्यमा विदेश थिएन।’

तस्बिरहरू: प्रताप गुरुङ