काठमाडौं। गत शुक्रबार गएको ७.७ रेक्टर स्केलको म्यान्मार–थाइल्याण्ड भूकम्पले त्यस क्षेत्रको पर्यटन प्रभावित बनेको छ। भूकम्पपछि संसारको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक मानिने थाइल्याण्डबारे चासो व्यक्त गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पबाट थाइल्याण्डका भवन, विमानस्थल तथा पर्यटकीयस्थलहरुमा खासै क्षति भएको छैन। तर, सुरक्षा चुनौतीका कारण पर्यटन क्षेत्र प्रभावित बनेको छ।
शुक्रबार दिउँसो म्यान्मारको मध्यभागमा केन्द्रबिन्दु भएर ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट म्यान्मार सबैभन्दा धेरै प्रभावित भएको छ। म्यान्मारमा हालसम्म १७ सय बढीको मृत्यु भएको छ। ३ हजार ४ सय बढी घाइते भएका छन्। ३ सय बढी मानिस हराएका छन्।
भूकम्पको असर थाइल्याण्डसम्म परेको छ। थाइल्याण्डमा हालसम्म १८ जनाको ज्यान गएको छ। ७६ जना घाइते भएका छन्। बैंककमा निर्माणाधीन भवन भत्किनुलाई सबैभन्दा ठुलो क्षति मानिएको छ। सो भवनमा परेर १० जना मदुरको मृत्यु भएको थियो। अन्य भौतिक संरचनमा सामान्य क्षति भएको छ।

पर्यटक घट्ने चिन्ता
दक्षिण पूर्वी एसियामा अवस्थित थाइल्याण्डलाई पर्यटकीय दृष्टिकोणले निकै लोकप्रिय मानिन्छ। आश्चर्यजक समुन्द्र तट, संस्कृतिक सम्पदा, मनोरञ्जन र यौन पर्यटन थाइल्याण्डका प्रमुख आकर्षण मानिन्छ। यही कारण करोडौं पर्यटक थाइल्याण्ड पुग्ने गर्छन्। गत वर्ष करिब ४ करोड पर्यटकले थाइल्याण्ड यात्रा गरेको थिए। थाइल्याण्ड गत वर्ष सबैभन्दा धेरै पर्यटक भित्रिएको देशको सूचीमा ८औं स्थानमा परेको थियो।
गत जनवरीमा मात्रै ८९ लाख पर्यटकले थाइल्याण्ड घुमेका थिए। यद्यपि, पछिलो समय थाइल्याण्डमा पर्यटक आगमन दर घट्दो छ। यसका मुख्य कारण सुरक्षा चुनौती हो।
म्यान्मारका गोप्य क्षेत्रहरुमा अन्तर्राष्ट्रिय साइबर अपराधीहरुले अड्डा जमाएका छन्। ती साइबर अपराधिहरुले थाइल्याण्डको बैंककलगायत सहरहरुबाट युवाहरुलाई अपहरण गर्ने र बन्दीको रुपमा साइबर अपराधमा लगाउने गर्छन्। म्यान्मारको सत्ता परिवर्तनपछि बढेको यो गतिविधिमा नेपाली युवाहरु पनि सिकार भएका छन्। यसमा सबैभन्दा बढी निनियाँ नागरिक रहेको उल्लेख छ।
यही मानव तस्करीको श्रृंखलाका कारण खासगरी चिनियाँ, युरोपेली तथा दक्षिण पूर्वी एसियाका पर्यटकहरु थाइल्याण्ड यात्रा गर्न डराएको अवस्था थियो। गत फेब्रुअरीदेखि पर्यटक आगमन दर घट्दो अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमा माध्यमहरुले जनाएका छन्।
थाइल्याण्डको पर्यटन उद्योगमा छाएको यो निराशबीच गत शुक्रबार गएका भूकम्पले थप प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ।
त्यसदिन भूकम्पले बैंकका भवनहरु बेस्सिरी हल्लाएको थियो। भूकम्पपछि घरभित्र नबस्न भनिएको थियो। एकदिन यातायात बन्द गरिएको थियो। जसकारण १० प्रतिशत अन्तर्राष्ट्रिय पर्यटकले होटलको बुकिङ रद्द गरेको थाई होटल संघका अध्यक्ष थिएनप्रासित चायपात्रानुनले बताएका छन्।
भौतिक संरचनामा भूकम्पको न्यून प्रभाव भएपनि भूकम्पपछिकाे त्रासलाई कारण बनाएर पर्यटकहरुले यात्रा रद्द गर्न सक्ने अनुमान छ। दोस्रो हप्ता १०–१५ प्रतिशत पर्यटक घट्ने अनुमान गरिएको छ।

पर्यटनलाई थाइल्याण्डको विकासको प्रमुख आधारको रुपमा लिइन्छ। थाइल्याण्डको २० प्रतिशत रोजगारीको हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ, अर्थात्, पाँचमध्ये १ व्यक्ति पर्यटन रोजगारीमा आबद्ध छन्।
थाइल्याण्डको जिडिपीमा पर्यटन क्षेत्रको १३ प्रतिशत योगदान रहेको छ। तसर्थ, पर्यटक आगमनको थोरै गिरावटले पनि थाइल्याण्डको अर्थतन्त्रमा उल्लेखनीय असर पर्न सक्छ।
यद्यपि, पर्यटकहरुलाई सुरक्षा चुनौतीलाई विश्वास्त बनाउने प्रयास भइरहेको थाइल्याण्डका खेलकुद तथा पर्यटनमन्त्री सोरावोङ थिएन्थोङ जनाएका छन्। उनले शनिबार भवन तथा पर्यटकीयस्थलहरुमा क्षतिको लेखा परीक्षण गर्ने र सुरक्षा चुनौतीबारे काम गर्ने घोषणा गरेका थिए।

‘यात्रा, होटल र कार्यक्रमहरु सामान्य रुपमा चलिरहेका छन्। सुरक्षाका चुतौती सुनिश्चित गर्न लागि पर्यटक प्रहरीहरुले होटल र पर्यटकीयस्थलहरुमा निरीक्षण गरिरहेका छन्,’ पर्यटनमन्त्री सोरावोङले सामाजिक सञ्जालमा बनाएका छन्।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पमा परेर कुनै पनि विदेशी पर्यटकको मानवीय क्षति भएको छैन। टापु हेर्नका लागि सबैभन्दा धेरै पर्यटक पुग्ने फुकेटमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल सामान्य रुपमा चलेको थाई ट्राभल एजेन्सी संघमा महासचिव आदिथ चैराट्टानानोनले बताएका छन्। एजेन्सीहरुकाे सहयाेगमा।