चरिकोट। दोलखामा १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा कार्यक्रम सुरु भएको छ।
छम्बा गुम्बा तथा यार्जाङ व्यवस्थापन समिति र १८औं १० करोड बज्रगुरु मन्त्रजप व्यवस्थापन समितिको आयोजनामा चरिकोटस्थित टुँडिखेलमा आइतबारबाट कार्यक्रम सुरु भएको हो।
दोलखाको धार्मिक, संस्कृतिक तथा पर्यटकीयस्थलहरुको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम स्थानीय जनप्रतिनिधिहरु र लामा गुरुहरुले एकसाथ उद्घाटन गरे।

उद्घाटनसँगै गुरु पद्यम सम्भवको अभिषेक र बज्रगुरु मन्त्रजपबारे रिन्पोछेहरुले प्रवचन दिए।
कार्यक्रममा पाँच सय बढी लामा तथा हजारौं धार्मिक व्यक्तित्वहरुको सहभागीत रहने आयोजकले जनाएको छ।
धार्मिक पर्यटन प्रवर्द्धन तथा शान्तिको कामना, धार्मिक आस्था अभिवृद्धि, रोगव्याधि, अनिकाल, झैंझगडा, कलहलगायत प्रकोपबाट बँच्नुका साथै सामाजिक विकास हुने विश्वासका लागि आयोजना गरिएको हो।

१० दिनसम्म चल्ने कार्यक्रममा चैत १८ गतेबाट दैनिक धार्मिक प्रवचन हुनेछ। भने, चैत २६ गते गणचक्र पूजा र अमिताभ बुद्धको आयु अभिषेकसँगै कार्यक्रम समापन हुनेछ।
तस्बिरहरु: जीवन फाेटाेग्राफी